काठमाडौं । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्धसँगै हाम्रो पात्रो एप पनि बन्द हुने हल्ला चलेपछि कम्पनीले स्पष्टीकरण दिएको छ । कम्पनीका अनुसार एप बन्द भएको छैन र यो केवल एक भ्रम मात्र हो।
हाम्रो पात्रोकी निर्देशक सुदिना गौतमले बताएअनुसार एप बन्द भएको कुरामा कुनै सत्यता छैन । उनले भनिन्, ‘हाम्रो एप बन्द भएको छैन, यो केवल एक गलत बुझाइका कारण फैलिएको हल्ला हो ।’
पछिल्लो समय सामाजिक सञ्जाल प्लेटफर्महरूमाथि सरकारले कडा निगरानी राख्दै दर्ता अनिवार्य गरेपछि हाम्रो पात्रोले पनि आफूलाई सामाजिक सञ्जालको रूपमा दर्ता गराएको निर्देशक गौतमले बताइन् । तर कम्पनीले आफूलाई परम्परागत सामाजिक सञ्जाल नभई एक युटिलिटी एप भएको दाबी गरेको छ ।
‘हामी खासमा सामाजिक सञ्जाल होइनौं, हामी एक युटिलिटी एप्लिकेसन हौं, ’ उनले भनिन्, ‘तर सरकारको निर्णय आएपछि हामीले त्यसको सम्मान गर्दै आफूलाई सामाजिक सञ्जालको रूपमा दर्ता गराएका हौं ।’
हाम्रो पात्रोले आफू बन्द नभएको र नियमित रूपमा सञ्चालनमा रहेको जनाउँदै प्रयोगकर्ताहरूलाई ढुक्क हुन आग्रह गरेको छ ।