काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनको अन्तिम चरणमा पुगेको बताएका छन् । चलचित्र विकास बोर्डको २५औं वार्षिकोत्सव तथा रजत जयन्तीको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उक्त फ्रेमवर्क चाँडै मन्त्रिपरिषद्बाट पारित भई कार्यान्वयनमा जाने उनको भनाइ छ । उनले डिजिटल नेपाल नीति अन्तर्गत पर्यटन, शिक्षा, सुशासन, विपद् व्यवस्थापनलगायत आठ क्षेत्रमा प्रविधिको प्रयोगलाई विस्तार गर्ने सरकारको तयारी रहेको बताए । कृत्रिम बुद्धिमत्ता (एआई)को विकास र प्रयोगलाई तीव्रता दिन पाँचौं पुस्ताको दूरसञ्चार प्रविधि (फाइभजी) आवश्यक रहेको उल्लेख गर्दै काठमाडौं उपत्यका र पोखरा उपत्यकाबाट माघ महिनाभित्र फाइभजी परीक्षण सुरु हुने समेत जानकारी दिए ।
उनीले एआईको प्रभावकारी प्रयोगका लागि फाइभजी नेटवर्क अनिवार्यजस्तै भएको कारण सरकार प्राथमिकताका साथ काम गरिरहेको दाबी गरे । आगामी वर्षभित्र फाइभजी विस्तार सम्पन्न गर्ने सरकारको लक्ष्य रहेको उनले उल्लेख गरे । सातवटै प्रदेशमा आईटी डाटा सेन्टर तथा एआई केन्द्र स्थापना गर्न सरकार लागेको मन्त्री गुरुङको भनाइ छ ।
उनले भने, 'हामी डिजिटल नेपालको फ्रेमवर्क बनाउँदैछौं । त्यो नीति अब क्याबिनेटबाट पास भएर कार्यान्वयनमा आउँछ । हामी त्यसको अन्तिम चरणमा छौं । अब टुरिज्म, एजुकेसन, गभर्नेन्स तथा डिजास्टर म्यानेजमेन्टलगायत आठ वटा क्षेत्रमा त्यसले काम गर्छ । त्यसले इन्टरनेटको प्रयोगलाई सहयोग गर्ने र एआईको प्रयोगमा पनि टेवा पुर्याउने विश्वास लिएका छौं ।'
बैंकिङ ठगीका मुद्दा बढिरहेको उल्लेख गर्दै उनले यसको नियन्त्रणका लागि आवश्यक कानून निर्माण प्रक्रिया अघि बढिरहेको समेत बताए ।