गैरबैंकिङ सम्पत्तिले भरिँदै बैंकहरू, बिक्री हुन छाड्यो धितो

काठमाडौं । बैंकहरूमा गैरबैंकिङ सम्पत्ति (एनबीए) थुप्रिएको छ । ऋणीहरूले कर्जा चुक्ता नगरेपछि सकारेको धितोले बैंकहरू थिचिएका हुन् । गैरबैंकिङ सम्पत्ति वृद्धिमा कर्जा डिफल्टको प्रभाव स्पष्ट रूपमा देखिएको बैंकहरहरू बताउँछन् । 

गत आर्थिक वर्ष २०८१/८२ मा बैंकहरूमा गैरबैंकिङ सम्पत्तिको आकार ४२ अर्ब ७७ करोड २७ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्ष २०८०/८१ को असारको तुलनामा ४१.७४ प्रतिशत अर्थात् १२ अर्ब ५९ करोड ७० लाख रुपैयाँ बढी हो । अघिल्लो वर्षको असारमा वाणिज्य बैंकहरूमा ३० अर्ब १७ करोड ५७ लाख रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति थियो ।

ऋणीहरूले पैसा नतिरेपछि बैंकहरूले धितो लिलामी गर्नुपर्ने हुन्छ भने सो ऋणलाई खराब कर्जा (एनपीएल)मा गणना गर्नुपर्ने हुन्छ । लिलामीमा राखेको धितो बिक्री नभएपछि बैंकहरू आफैले सकार्न बाध्य भएका छन् । तर, पछिल्लो समय बिक्रीमा राखिएको धितो सहजै बिक्री हुन छाडेपछि बैंकरहरूमा यस्तो सम्पत्ति थुप्रिएको बैंकहरहरू बताउँछन् ।

‘लिलामीमा राखेको धितो बिक्री नभएर आफै सकार्दा बैंकहरूमा गैरबैंकिङ सम्पत्ति बढेको छ । धितो लिलामी नहुँदा बैंकहरूले आफै सकार्नुपर्ने बाध्यता छ । बैंकहरू कोर बैंकिङभन्दा पनि गैरबैंकिङ कारोबारमा केन्द्रित भएका छन्,’ एक बैंकरले विकासन्युजसँग भने ।

राष्ट्र बैंकको तथ्याङ्कअनुसार गत वर्ष नेपाल एसबिआई बैंकको गैरबैंकिङ सम्पत्ति सबैभन्दा धेरै वृद्धि भएको छ । गत वर्ष एसबिआई बैंकको गैरबैंकिङ सम्पत्ति १८३.३५ प्रतिशत अर्थात् ६० करोड ७१ लाख रुपैयाँ बढेर ९३ करोड ८२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ३३ करोड ११ लाख रुपैयाँ बराबरको मात्रै गैरबैंकिङ सम्पत्ति थियो । 

समीक्षा वर्षमा सबैभन्दा धेरै गैरबैंकिङ सम्पत्ति भने ग्लोबल आइएमई बैंकमा रहेको छ । ग्लोबल आइएमईको २०.१८ प्रतिशत अर्थात् १ अर्ब १ करोड ७६ लाख रुपैयाँ बढेर ६ अर्ब ५ करोड ७९ लाख रुपैयाँ गैरबैंकिङ सम्पत्ति पुगेको छ । अघिल्लो वर्ष बैंकमा ५ अर्ब ४ करोड ३ लाख रुपैयाँको मात्रै गैरबैंकिङ सम्पत्ति थियो । 

समीक्षा वर्षमा माछापुच्छ्रे बैंक र सिद्धार्थ बैंकबाहेक अधिकांश बैंकको गैरबैंकिङ सम्पत्ति उच्च रुपमा बढेको छ । गत वर्ष माछापुच्छ्रे बैंकको ५०.५४ प्रतिशत अर्थात् ६० करोड ७५ लाख रुपैयाँ घटेर ५९ करोड ४३ लाख रुपैयाँमा गैरबैंकिङ सम्पत्ति झारेको छ । अघिल्लो वर्ष बैंकमा १ अर्ब २० करोड १९ लाख रुपैयाँ हाराहारीमा यस्तो सम्पत्ति थियो । 

यस्तै, सिद्धार्थ बैंकको ०.२६ प्रतिशत अर्थात् १९ लाख रुपैयाँ घटेर ७२ करोड ५६ लाख रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष बैंकमा ७२ करोड ७५ लाख रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति थियो ।

अधिकांश बैंकहरूले खराब कर्जामा रहेको धितोलाई गैरबैंकिङ सम्पत्तिका रूपमा सकार्दा यस्तो सम्पत्ति बढेको एक बैंकरले बताए । ‘धेरैले एनबीएमा बुक गरेका छन् । ठूला बैंकहरुको प्रसेन्टेज एनपीए घटेको छ । किनभने विगतमा प्रोभिजिन गरिसकेका एनपीएलाई बेच्न नसकेर एनबीएमा लगेर सारेको छ । एनबीए तीव्र रूपमा बढेको छ,’ उनले भने । 

समीक्षा वर्षमा हिमालयन बैंकको १३४.५७ प्रतिशत बढेर ५ अर्ब ६६ करोड ४७ लाख रुपैयाँ, एनएमबि बैंकको १०९.५४ प्रतिशत बढेर १ अर्ब ७८ करोड ४१ लाख रुपैयाँ, प्रभु बैंकको १०८.६९ प्रतिशत बढेर १ अर्ब ६५ करोड ९८ लाख रुपैयाँ, प्राइम बैंकको १०६.२८ प्रतिशत बढेर ३ अर्ब ९४ करोड ३९ लाख रुपैयाँ, सिटिजन्स बैंकको ५३.४८ प्रतिशत बढेर १ अर्ब २६ करोड ५ लाख रुपैयाँ, नबिल बैंकको ४२.९२ प्रतिशत बढेर ३ अर्ब ६७ करोड ९९ लाख रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति थुप्रिएको छ । 

राष्ट्र बैंकको तथ्याङ्कअनुसार सानिमा बैंकको ४१.१७ प्रतिशत बढेर ९५ करोड १५ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकको ४०.२३ प्रतिशत बढेर २ अर्ब १९ करोड २० लाख रुपैयाँ, कृषि विकास बैंकको ३८.७३ प्रतिशत बढेर १ अर्ब ३० करोड ८४ लाख रुपैयाँ, कुमारी बैंकको ३२.७० प्रतिशत बढेर २ अर्ब ५३ करोड ८८ लाख रुपैयाँ, नेपाल बैंकको २८.४२ प्रतिशत बढेर २६ करोड ४२ लाख रुपैयाँको गैरबैंकिङ सम्पत्ति रहेको छ । 

यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)को २२.१३ प्रतिशत बढेर ३ अर्ब ६८ करोड ४३ लाख रुपैयाँ, एभरेष्ट बैंकको ८.०३ प्रतिशत बढेर ५६ करोड ४२ लाख रुपैयाँ, एनआईसी एशिया बैंकको ६.३७ प्रतिशत बढेर ४ अर्ब ६३ करोड ९८ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकको ४.६० प्रतिशत बढेर ३१ करोड ९९ लाख रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति रहेको राष्ट्र बैंकले जनाएको छ । 

केन्द्रीय बैंकले गैरबैंकिङ सम्पत्ति बढ्नुलाई राम्रो मान्दैन । त्यसैले नेपाल राष्ट्र बैंकले बैंकहरूको निष्क्रिय तथा गैरबैंकिङ सम्पत्ति व्यवस्थापन गर्न सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने घोषणा गरेको छ । तर, कसरी सञ्चालन गर्ने भन्ने विषयमा हालसम्म कुनै प्रक्रिया अघि बढेको भने छैन । null

Share News