१७.२३ खर्ब भित्रियो रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति २६.७७ खर्ब, अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक

काठमाडौं । गत वर्ष देशको अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक देखिएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्ष देशको अर्थतन्त्रका बाह्य तथा आन्तरिक सूचकहरू सकारात्मकसहित वृद्धि भएका छन् । गत वर्ष ४.६१ प्रतिशत आर्थिक वृद्धि दर रहेको तथ्याङ्कले देखाएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा आर्थिक वृद्धि ४.६१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयको तथ्याङ्कलाई आधार मान्दै राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत वर्ष कृषि क्षेत्रको वृद्धि ३.२८ प्रतिशत, उद्योग क्षेत्रको ४.५३ प्रतिशत र सेवा क्षेत्रको वृद्धि ४.२१ प्रतिशत रहेको अनुमान छ । 

गत वर्ष कुल गार्हस्थ उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको अंश क्रमशः २५.१६ प्रतिशत, १२.८३ प्रतिशत र ६२.०१ प्रतिशत रहेको छ । कुल गार्हस्थ बचत कुल गार्हस्थ उत्पादनको ६.५५ प्रतिशत रहेको छ । कुल स्थिर पुँजी निर्माण र कुल राष्ट्रिय बचतको कुल गार्हस्थ उत्पादनसँगको अनुपात क्रमशः २४.०७ प्रतिशत र ३६.२४ प्रतिशत रहेको तथ्याङ्क छ ।

आर्थिक वर्ष २०८१/८२ मा कुल विद्युत्को जडित क्षमता वृद्धि भई ३ हजार ५९१ मेगावाट पुगेको छ । जडित क्षमतामध्ये जलविद्युत् ३ हजार ३९० मेगावाट रहेको छ । आर्थिक वर्ष २०८१/८२ मा कुल पर्यटक आगमन १.७ प्रतिशतले वृद्धि भई ११ लाख ४७ हजार ८३४ पुगेको छ ।

मूल्य वृद्धि ४.०६ प्रतिशत

राष्ट्र अनुसार गत वर्ष औसत उपभोक्ता मुद्रास्फीति ४.०६ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ५.४४ प्रतिशत रहेको थियो । २०८२ असारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.२० प्रतिशत रहेको छ । २०८१ असार महिनामा यस्तो मुद्रास्फीति ३.५७ प्रतिशत रहेको थियो । 

अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको मूल्यवृद्धि १०.७१ प्रतिशत, घ्यू तथा तेलको ८.७२ प्रतिशत, दाल तथा गेडागुडीको ७.९० प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको ६.१३ प्रतिशत रहेको छ । मरमसला उप–समूहको मूल्य सूचकाङ्क २.६२ प्रतिशत र माछा तथा मासुको ०.३४ प्रतिशतले घटेको छ । 

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरू उप–समूहको मूल्यवृद्धि ९.३९ प्रतिशत, कपडाजन्य तथा जुत्ता चप्पलको ६.०९ प्रतिशत, मदिराजन्य पेय पदार्थको ५.६५ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरूको ४.७८ प्रतिशत र सुर्तीजन्य पदार्थको ४.३७ प्रतिशत रहेको छ ।

गत वर्ष वार्षिक औसत तलब तथा ज्यालादर सूचकाङ्क २.८५ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । जबकी अघिल्लो आर्थिक वर्ष यस्तो सूचकाङ्क ५.०३ प्रतिशतले वृद्धि भएको थियो । गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा वार्षिक विन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क २.६३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रयमासमा यस्तो सूचकाङ्क ३.५६ प्रतिशतले वृद्धि भएको थियो । 

प्रदेशगत रूपमा समीक्षा अवधिमा कोशी प्रदेशको वार्षिक विन्दुगत तलब तथा ज्याला सूचकाङ्कको वृद्धि १.२३ प्रतिशत, मधेश प्रदेशको २.१४ प्रतिशत, बागमती प्रदेशको १.९८ प्रतिशत, गण्डकी प्रदेशको २.७४ प्रतिशत, लुम्बिनी प्रदेशको ३.७२ प्रतिशत, कर्णाली प्रदेशको ३.०९ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ७.४४ प्रतिशत रहेको छ ।

१७.२३ खर्ब रुपैयाँ भित्रियो रेमिट्यान्स 

राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा विप्रेषण आप्रवाह (रेमिट्यान्स) १९.२ प्रतिशतले वृद्धि भई १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो ।

२०८२ असारमा मात्रै १ खर्ब ८९ अर्ब ११ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह १ खर्ब १७ अर्ब ७८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

समीक्षा वर्षमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.३ प्रतिशतले वृद्धि भई १२ अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.५ प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १८ खर्ब ७४ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आय १५ खर्ब ७१ अर्ब २४ करोड रुपैयाँ रहेको थियो।

समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ५ लाख ५ हजार ९५७ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख ३३ हजार ३०९ रहेको छ । अघिल्लो वर्ष यस्तो सङ्ख्या क्रमशः ४ लाख ६० हजार १०२ र २ लाख ८१ हजार १९५ रहेको थियो । 

चालु खाता ४.०९ खर्ब रुपैयाँ र शोधनान्तर स्थिति ५.९४ रुपैयाँले बचतमा 

आर्थिक वर्ष २०८१/८२ मा चालु खाता ४ खर्ब ९ अर्ब २० करोड रुपैयाँ ले बचतमा रहेको छ । अघिल्लो वर्ष चालु खाता २ खर्ब २१ अर्ब ७१ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षमा १ अर्ब ६७ करोडले बचतमा रहेको चालु खाता समीक्षा वर्षमा ३ अर्ब १ करोडले बचतमा रहेको छ । 

समीक्षा वर्षमा खुद पुँजीगत ट्रान्सफर ९ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षमा यस्तो ट्रान्सफर ५ अर्ब ८१ करोड रुपैयाँ रहेको थियो । यसैगरी, समीक्षा वर्षमा प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) १२ अर्ब २ करोड रुपैयाँ भित्रिएको छ । अघिल्लो वर्ष यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ८ अर्ब ४७ करोड रुपैयाँ रहेको थियो । 

समीक्षा वर्षमा शोधनान्तर स्थिति ५ खर्ब ९४ अर्ब ५४ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति ५ खर्ब २ अर्ब ४९ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष ३ अर्ब ७७ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा वर्षमा ४ अर्ब ३७ करोडले बचतमा रहेको छ ।

२६.७७ खर्ब रुपैयाँ पुग्यो विदेशी मुद्रा सञ्चिति 

समीक्षा वर्षमा कुल विदेशी विनिमय सञ्चिति ३१.२ प्रतिशतले वृद्धि भई २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ विदेशी मुद्रा सञ्चिति रहेको थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८२ असार मसान्तमा २७.७ प्रतिशतले वृद्धि भई १९ अर्ब ५० करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा २०८२ असार मसान्तमा ३०.६ प्रतिशतले वृद्धि भई २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा २०८२ असार मसान्तमा ३६.६ प्रतिशतले वद्धि भई २ खर्ब ६३ अर्ब ४ करोड रुपैयाँ कायम भएको छ । २०८२ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.१ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८१/८२ को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १८.२ महिनाको वस्तु आयात र १५.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८२ असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।

निक्षेप १२.६ प्रतिशत बढ्यो

गत वर्ष बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १२.६ प्रतिशत अर्थात् ८ खर्ब ११ अर्ब ४९ करोड रुपैयाँले बढेको छ । अघिल्लो वर्ष यस्तो निक्षेप १३ प्रतिशत ७ खर्ब ४२ अर्ब ३७ करोड रुपैयाँले बढेको थियो । 

२०८२ असारमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ७.१ प्रतिशत, ३६.८ प्रतिशत र ४८.३ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ५.८ प्रतिशत, ३०.३ प्रतिशत र ५६.४ प्रतिशत रहेको थियो । 

२०८२ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.१ प्रतिशत रहेको छ । २०८१ असार मसान्तमा यस्तो निक्षेपको अंश ३६.२ प्रतिशत रहेको थियो । 

८.४ प्रतिशत बढ्यो कर्जा 

समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ८.४ प्रतिशत अर्थात् ४ खर्ब २३ अर्ब ७३ करोड रुपैयाँले बढेको छ । अघिल्लो वर्ष यस्तो कर्जा ५.८ प्रतिशत २ खर्ब ७६ अर्ब ९४ करोड रुपैयाँले बढेको थियो । 

समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.८ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.३ प्रतिशत र ३६.७ प्रतिशत रहेको थियो ।

समीक्षा वर्षमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह ८.६ प्रतिशतले, विकास बैंकहरूको ६.१ प्रतिशतले र वित्त कम्पनीहरूको ८.४ प्रतिशतले बढेको छ । २०८२ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये ६४.७ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.५ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । 

Share News