विद्युत प्राधिकरणको नाफा ह्वात्तै घट्यो, साढे १४ अर्बबाट कसरी झर्यो ९ अर्बमा ?

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको नाफा एक अर्ब ४६ करोड रुपैयाँले घटेको छ । प्राधिकरणले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार प्राधिकरणको अघिल्लो आर्थिक वर्षको तुलनामा सो नाफा घटेको हो । 

गत आव २०८१/८२ मा ९ अर्ब ७ करोड बराबर नाफा गरेको तथ्यांकमा उल्लेख छ । जुन अघिल्लो आवको तुलनामा १३.८६ प्रतिशत कम हो । अघिल्लो आव २०८०/८१ मा १० अर्ब ५३ करोड नाफा गरेको उल्लेख गरिएको छ । 

तर, नेपाल विद्युत प्राधिकरणबाट बाहिरिँदा निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आव २०८१/८२ को पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा गरेको तथ्यांक सार्वजनिक गरेका थिए । उनले सो अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्यबाट कुल ७० अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको सार्वजनिक गरेका थिए ।

यस्ताे थियाे कुलमानले सार्वजनिक गरेकाे तथ्यांक

null

आव २०७२/७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरूबाट निरन्तर नाफामा छ । घिसिङले आव २०८०/८१ मा प्राधिकरणले १४ अर्ब ४६ करोड रुपैयाँ नाफा गरेको तथ्यांक सार्वजनिक गरेका थिए । तर, वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सो आवमा १० अर्ब ५३ करोड रुपैयाँमात्रै नाफा गरेको देखाएका छन् । 

प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा नियुक्त भएपछि शाक्यले श्वेतपत्र पनि जारी गरेका थिए । उनले श्वेतपत्रमार्फत प्राधिकरण ५ अर्ब २६ करोड रुपैयाँ नोक्सानीमा रहेको देखाएका थिए । 

निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले ४७ अर्ब सञ्चित नाफा र चालु आवको ६ महिनासम्म ११ अर्ब बढी नाफा रहेको वित्तीय विवरण सार्वजनिक गरेको भए पनि शाक्यले भने प्राधिकरण नोक्सानमा रहेको तथ्यांक सार्वजनिक गरेका थिए । 

श्वेतपत्रमा आव २०८०/०८१ सम्म प्राधिकरणको कुल सञ्चित नाफा करिब ४६ अर्ब ४७ करोड रुपैयाँ रहेको उल्लेख थियो भने गत आव २०८१/८२ को फागुन मसान्तसम्म ९ अर्ब ४८ करोड रुपैयाँ नाफा रहेको श्वेतपत्रमा उल्लेख थियो ।
 
शाक्यले श्वेतपत्र मार्फत नै फागुनसम्म प्राधिकरण ९ अर्ब ४८ करोड रुपैयाँ खुद नाफामा रहेको देखाए पनि असार मसान्तसम्म भने ९ अर्ब ७ करोड रुपैयाँ मात्रै रहेको उल्लेख गरेका छन् । यसले उनी प्राधिकरणको नेतृत्वमा आएपछि नाफा झन घटेको बुझ्न सकिन्छ । 

Share News