स्मार्ट च्वाईस टेक्नोलोजिजको २४औं वार्षिकोत्सव सम्पन्न, दुई नवीनतम सेवा थप

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) को २४औं वार्षिकोत्सव सम्पन्न भएको छ । 

उक्त वार्षिकोत्सवमा सञ्चालक समितिका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरू, तथा यस संस्थाका सदस्य बैंक तथा वित्तीय संस्थाका वरिष्ठ कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

वार्षिकोत्सवमा संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज घिमिरेले संस्थाले विगतमा गरेका उपलब्धिहरू र भावी योजनाहरू बारे प्रस्ट पारे ।

विशेष गरी संस्थाले दिँदै आएका कार्ड सेवा (एससीटी- युनियन पे कार्ड, भिसा कार्ड, नेपालपे कार्ड, आदि), मोबाइल बैंकिङ सेवा (स्मार्ट बैंकिङ, अन्तर बैंक भुक्तानी सेवा (स्मार्ट पे), क्युआर भुक्तानी सेवा (स्मार्ट क्यूआर) र मर्चेन्ट व्यवस्थापन सेवा (स्मार्ट एमएमएस) मा हालसम्मका उपलब्धिहरू तथा भविष्यका रणनीतिहरू प्रस्तुत गरे । 

वार्षिकोत्सवमा संस्थाले हालै निर्माण गरेको नवीतम सेवाहरू स्मार्ट क्यूआर साउन्डबक्स र एससीटी हबका बारेमा संस्थाका चिफ इनोभेशन तथा डेभलपमेन्ट अफिसर रजिम अलि मियाले प्रत्यक्ष प्रदर्शन गरे । 

स्मार्ट क्यूआर साउन्डबक् स्मार्ट च्वाइस टेक्नोलोजिजको नवीन सेवा हो जसबाट मर्चेन्टहरूले आफ्नो सम्पूर्ण भुक्तानीको विवरणहरू स्मार्ट क्यूआर साउन्डबक्स मार्फत सुन्न सक्नेछन् । 

स्मार्ट क्यूआर साउन्डबक्सलाई मर्चेन्टहरूले आफ्नो वाईफाईसँग लिंक गरेर वा स्मार्ट क्यूआर साउन्डबक्समै आफ्नो सिम कार्ड राखेर नेटवर्कसँग जडान गरेर आफ्नो सम्पूर्ण भुक्तानी विवरणहरू स्मार्ट क्यूआर साउन्डमार्फत विभिन्न भाषामा सुन्न सक्नेछन्।

साथै एससीटी हब स्मार्ट च्वाइस टेक्नोलोजिजले आफ्नो सदस्य बैंक तथा वित्तीय संस्थाहरूका लागि निर्माण गरेको नवीनतम प्रविधि हो, जसबाट बैंक तथा वित्तीय संस्थाहरूले एटीएम व्यवस्थापन, कार्ड व्यवस्थापन, विवाद व्यवस्थापन, सतर्कता व्यवस्थापन, प्रयोगकर्ता व्यवस्थापन, रिपोर्ट जेनेरेसनलगायतका विभिन्न सेवाहरू एकै ठाँउबाट प्राप्त गर्न सक्नेछन् । 

Share News