काठमाडौं । विश्व अर्थतन्त्रमा देखिएको आर्थिक असामञ्जस्यता आदिका कारण राष्ट्रिय अर्थतन्त्रसँगै बैंकिङ व्यवसाय समेत प्रभावित भइरहेको अवस्थामा अर्थतन्त्रलाई लयमा फर्काउन, सरकार र नेपाल राष्ट्र बैंकबाट ल्याइएका विभिन्न सुधारका उपायले अर्थतन्त्रमा सुधार आएको बैंकरहरूको दाबी छ । जसको प्रत्यक्ष प्रभाव बैंकहरूको ब्यालेन्ससिटमा परेको बैंकरहरू बताउँछन् ।
अर्थतन्त्रमा असहजताको बाबजुद पनि सरकारको लगानी रहेका तीन वाणिज्य बैंकले सकारात्मक प्रगति हासिल गरेका छन् । सरकारी लगानी रहेका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकको वित्तीय विवरणलाई चासोको रुपमा हेरिने गरिन्छ ।
विगतको तुलनामा पछिल्लो समय आफ्नो सेवालाई चुस्त बनाउँदै व्यवसायमा उल्लेख्य सुधार गरेका यी तीन बैंकले गत वर्ष पौने १२ अर्ब रुपैयाँ बराबरको नाफा आर्जन गरेका छन् । सार्वजनिक वित्तीय विवरणअनुसार तीन बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा ११ अर्ब ७४ करोड ४१ लाख ९२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । जुन अघिल्लो आव २०८०/८१ को तुलनामा ११४.३७ प्रतिशत अर्थात् ६ अर्ब २६ करोड ५८ लाख १८ हजार रुपैयाँ बढी हो । अघिल्लो वर्ष यी तीनै बैंकले ५ अर्ब ४७ करोड ८३ लाख ७४ हजार रुपैयाँ मात्रै नाफा गरेका थिए ।
सरकारी स्वामित्वका यी तीन बैंकले निजी लगानीका बैंकलाई समेत टक्कर दिइरहेका छन् । यी तीनमध्ये गत वर्ष सबैभन्दा धेरै नाफा कृषि विकास बैंकले गरेको छ । कृषि विकासले ४ अर्ब १५ करोड ४४ लाख ७५ हजार रुपैयाँ नाफा गरेको छ । यस्तै, राष्ट्रिय वाणिज्यले ३ अर्ब ८१ करोड ६७ लाख ९ हजार रुपैयाँ र नेपाल बैंकले ३ अर्ब ७७ अर्ब ३० करोड ८ लाख रुपैयाँ खुद नाफा गरेका छन् ।
कृषि विकास बैंकको व्यवस्थापकीय नेतृत्व गोविन्द गुरुङले गरिरहेका छन् भने राष्ट्रिय वाणिज्य बैंकको देवेन्द्र रमण खनाल र नेपाल बैंकको तिलकराज पाण्डेयले गरिरहेका छन् । सरकारको लगानी रहेका अधिकांश सार्वजनिक संस्थानहरू घाटामा रहँदा यी तीन बैंकले विश्वास जगाएका छन् ।

हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकको चुक्ता पुँजी ६ खर्ब ८७ अर्ब ७५ करोड १३ लाख रुपैयाँ रहेको छ । जसमध्ये यी तीन बैंकको मात्रै ४९ अर्ब ६१ करोड ९३ लाख रुपैयाँ रहेको छ । कृषि विकास बैंकको १९ अर्ब २८ अर्ब ७९ करोड ३६ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार रुपैयाँ र नेपाल बैंकको १४ अर्ब ६९ करोड ४० लाख २२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको छ ।
गत असारमा सबैभन्दा धेरै खुद ब्याज आम्दानी नेपाल बैंकले गरेको छ । बैंकले १० अर्ब ८ करोड ७१ लाख ५१ हजार रुपैयाँ ब्याज आम्दानी गरेको छ । यस्तै, राष्ट्रिय वाणिज्यले १० अर्ब ८ करोड २४ लाख १४ हजार रुपैयाँ र कृषि विकासले ९ अर्ब ८२ करोड १४ लाख ८२ हजार रुपैयाँ ब्याज आम्दानी गरेका छन् ।
गत वर्ष सेयरधनी सूचकमा भने कृषि विकास बैंक अगाडि रहेको देखिन्छ । कृषि विकासको २ अर्ब ८७ करोड ७९ लाख ७५ हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको छ । यस आधारमा बैंकले १८.४२ प्रतिशत लाभांश क्षमता राख्छ । यस्तै, राष्ट्रिय वाणिज्यको ३० करोड ३४ लाख ९६ हजार रुपैयाँ वितरणयोग्य नाफा रहँदा नेपाल बैंकको ४४ करोड ९० लाख ८९ हजार रुपैयाँ ऋणात्मक छ ।
कुन बैंकको कस्तो छ वित्तीय अवस्था ?
राष्ट्रिय वाणिज्य बैंकको गत वर्ष खुद नाफा ४९.५३ प्रतिशत बढेर ३ अर्ब ८१ करोड ६७ लाख ९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षमा बैंकले २ अर्ब ५५ करोड २४ लाख ६७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा वर्षमा बैंकको खुद ब्याज आम्दानी ०.५२ प्रतिशत बढेर १० अर्ब ८ करोड २४ लाख १४ हजार रुपैयाँ, खुद शुल्क तथा कमिसन आम्दानी ७२.८८ प्रतिशत बढेर १ अर्ब २५ करोड ५२ लाख ३१ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ११.२५ प्रतिशत बढेर १२ अर्ब ८४ करोड ३७ लाख ३७ हजार रुपैयाँ र सञ्चालन नाफा ३१.५७ प्रतिशत बढेर ५ अर्ब ३८ करोड २५ लाख ७७ हजार रुपैयाँ रहेको छ ।
गत वर्ष बैंकको वितरणयोग्य नाफा ३० करोड ३४ लाख ९६ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता १.९४ प्रतिशत छ ।
१५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडामा ३७ अर्ब ४७ करोड ५४ लाख ९ हजार रुपैयाँ रहेको छ ।
गत असारसम्ममा बैंकको निक्षेप १६.५९ प्रतिशत बढेर ५ खर्ब ४१ करोड ४६ लाख ८० हजार रुपैयाँ र कर्जा लगानी १९.७८ प्रतिशत बढेर २ खर्ब ९४ अर्ब १८ करोड ८४ लाख ६० हजार रुपैयाँ रहेको छ । बैंकको निक्षेप तथा कर्जा अनुपात (सीडी रेसियो) ६२.३९ प्रतिशत रहेको छ ।
बैंकको नाफासँगै प्रतिसेयर आम्दानी २४.४१ रुपैयाँ, खराब कर्जा ३.५९ प्रतिशत, रिटर्न अन इक्विटी ७.६० प्रतिशत, आधार दर ४.७८ प्रतिशत रहेको छ ।
नेपाल बैंकको गत वर्ष खुद नाफा १३ हजार १७५ प्रतिशत बढेर ३ अर्ब ७७ करोड ३० लाख ८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षमा बैंकले २ करोड ८४ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
गत वर्ष बैंकको खुद ब्याज आम्दानी १६.८२ प्रतिशत बढेर १० अर्ब ८ करोड ७१ लाख ५१ हजार रुपैयाँ, खुद शुल्क तथा कमिसन आम्दानी ६.०७ प्रतिशत बढेर १ अर्ब १७ करोड ४९ लाख ९१ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १५.६५ प्रतिशत बढेर ११ अर्ब ९४ करोड ३९ लाख ३७ हजार रुपैयाँ र सञ्चालन नाफा ६९२ प्रतिशत बढेर ५ अर्ब ४१ करोड ८६ हजार रुपैयाँ रहेको छ ।
गत वर्ष बैंकको वितरणयोग्य नाफा ४४ करोड ९० लाख ८९ हजार रुपैयाँ ऋणात्मक रहेको छ । वितरणयोग्य नाफा ऋणत्मक रहेकाले बैंकले लाभांश पनि वितरण गर्न नसक्ने अवस्थामा छ ।
१४ अर्ब ६९ करोड ४० लाख २२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडामा २३ अर्ब ९३ करोड २० लाख ४८ हजार रुपैयाँ रहेको छ ।
गत असारसम्ममा बैंकको निक्षेप १७.२८ प्रतिशत बढेर ३ खर्ब ३२ अर्ब २ करोड १० लाख ४७ हजार रुपैयाँ र कर्जा लगानी १३.८८ प्रतिशत बढेर २ खर्ब २१ अर्ब ७० करोड ३४ लाख ८५ हजार रुपैयाँ रहेको छ । बैंकको कर्जा निक्षेप अनुपात ७०.७२ प्रतिशत रहेको छ ।
बैंकको नाफासँगै प्रतिसेयर आम्दानी २५.६८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २५९.८१ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ११.३५ गुणा छ । अघिल्लो वर्ष ४.३३ प्रतिशत रहेको खराब कर्जा गत वर्ष बढेर ४.४७ प्रतिशत पुगेको छ । बैंकको रिटर्न अन इक्विटी १०.२२ प्रतिशत, आधार दर ५.५८ प्रतिशत छ ।
कृषि विकास बैंकको गत वर्ष खुद नाफा ४३.३८ प्रतिशत बढेर ४ अर्ब १५ करोड ४४ लाख ७५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब ८९ करोड ७४ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
गत वर्ष बैंकको खुद ब्याज आम्दानी ६.९२ प्रतिशत घटेर ९ अर्ब ८२ करोड १४ लाख ८२ हजार रुपैयाँ, सेवा शुल्क तथा कमिसन आम्दानी ७.२० प्रतिशत घटेर १ अर्ब ३३ करोड ५८ लाख ७२ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १.८३ प्रतिशत घटेर ११ अर्ब ९९ करोड ५८ लाख २१ हजार रुपैयाँ, सञ्चालन नाफा ४१.२८ प्रतिशत बढेर ५ अर्ब ८४ करोड ७६ लाख २७ हजार रुपैयाँ रहेको छ ।
गत वर्ष बैंकको वितरणयोग्य नाफा २ अर्ब ८७ करोड ७९ लाख ७५ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकले १८.४२ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ ।
गत वर्ष बैंकको चुक्ता पुँजी २.१३ प्रतिशत बढेर १९ अर्ब २८ करोड ७९ लाख ३६ हजार रुपैयाँ र जगेडा कोष १२.३७ प्रतिशत बढेर १६ अर्ब ९९ करोड २६ हजार रुपैयाँ पुगेको छ ।
गत असारसम्म बैंकको निक्षेप संकलन २०.५० प्रतिशत बढेर २ खर्ब ९३ अर्ब ५७ करोड ४८ लाख ४३ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले २ खर्ब ४३ अर्ब ६२ करोड ८६ लाख ५८ हजार रुपैयाँ निक्षेप संकलन गरेको थियो । बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ६८.६८ प्रतिशत छ ।
बैंकको नाफासँगै प्रतिसेयर आम्दानी ९.०७ रुपैयाँ बढेर २७.६३ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ २४१.०४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११.८४ गुणा रहेको छ ।
बैंकको रिटर्न अन इक्विटी ११.८८ प्रतिशत, आधार दर ५.८७ प्रतिशत, कस्ट अफ फण्ड ३.८१ प्रतिशत र खराब कर्जा ३.२६ प्रतिशत रहेको छ ।