फर्जी ‘नेप्से एआई’ एप डाउनलोड गर्दा ‘२८ लाख ६१ हजार’ रुपैयाँ गायब

काठमाडौं । हरि शर्मा (नाम परिवर्तित)ले सामाजिक सञ्जाल फेसबुक चलाइरहेका थिए । उनको मोबाइलमा एउटा विज्ञापन आयो- सेयर बजारको विश्लेषण अब नेप्से एआई एपबाटै गर्न सकिन्छ । पुँजी बजारमा सेयर कारोबार गरिरहने उनलाई सेयर विश्लेषण गर्ने एप भेटेपछि दङ्ग परे । एपबाटै सेयर विश्लेषणसम्बन्धी जानकारी पाउने भएपछि उनी एप डाउनलोड गरेर इन्स्टल गर्छन् । 

तर, एप चलाउन नपाउँदै छाँगाबाट खसे झैं हुन्छन् । एप इन्स्टल गरेपश्चात उक्त एपमा रिमोट सेसन खुल्नासाथ जोन डोइको मोबाइल स्क्रीन ब्लाङ्क भयो । केही समयपछि उनको मोबाइलमा रहेका विभिन्न बैंक खाताबाट २८ लाख ६१ हजार रुपैयाँ गायब भयो । साथै, जोन डोइको मोबाइलमा रहेका सबै डाटा तथा एप समेत मेटियो । लगत्तै उनले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा घटनाको विवरण जानकारी गराए । 

केही दिनयता सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, टिकटकलगायतमा ‘नेप्से एआई’ नामको एप डाउनलोड गराउन प्रेरित गर्ने भ्रामक सूचना तथा विज्ञापनहरू आइरहेका छन् । फर्जी एपमार्फत सेयर बजारको विश्लेषण गरी ‘अत्यधिक नाफा’ दिने भनी झुक्याएर ठगी गर्ने गिरोह सक्रिय रहेकाले सजग रहन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आग्रह गरेको छ ।

सीआईबीका अनुसार यो एप इन्स्टल गरेपछि प्रयोगकर्ताको मोबाइलमा रिमोट सेसन खोलिन्छ र त्यसपछि बैंक खातामा रहेका सबै रकम एकछिनमै चोरी गरी अन्यत्र ट्रान्सफर गरिन्छ । साथै पीडितको डिजिटल उपकरणको सम्पूर्ण डेटासमेत मेटाइने तथा प्रमाण नष्ट गरिने घटनासमेत यसमा जोडिएको सीआईबीले जनाएको छ । 

यस्ता खालका दर्जनौं ठूला घटना र उजुरीहरू परेको सीआईबीले जनाएको छ । जसले नेपाली नागरिकलाई ठूलो आर्थिक जोखिममा पारेको सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी समेत रहेका प्रहरी निरीक्षक युवराज खड्काले बताए । 

सीआईबीले नागरिकहरूलाई यस्ता क्रियाकलापबाट बच्नका लागि विभिन्न सावधानीहरू अपनाउन अनुरोध गरेको छ । सीआईबीले आफ्नो पासवर्डहरू नियमित रूपमा परिवर्तन गर्न, सामाजिक सञ्जालमा आएका अपरिचित लिंक वा एपलाई डाउनलोड नगर्न, टु फ्याक्टर अथेन्टिकेसन प्रयोग गर्न, अनधिकृत व्यक्तिहरुलाई एनीडेस्क, टीमभ्यूअरजस्ता रिमोट एक्सेस एप मार्फत आफ्नो मोबाइल वा कम्प्युटरको पहुँच नदिन र एप डाउनलोड गर्दा केवल आधिकारिक एप स्टोरहरू (गुगल प्ले स्टोर, एप्पल एप स्टोर) बाट मात्र डाउनलोड गर्न अनुरोध गरेको छ । 

Share News