ऋणको संकटमा फँस्दै अमेरिका, ३७ ट्रिलियन डलरको आँकडा पार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्थतन्त्रबारे ठूला-ठूला दाबी गर्दै आए पनि देशको बढ्दो ऋण रोक्न भने उनी असफल देखिएका छन् । 

अमेरिकाको ऋण पहिलो पटक आधिकारिक रूपमा ३७ ट्रिलियन डलर पार गरेको छ । ४ जुलाईमा ‘वन बिग ब्युटिफुल बिल एक्ट’ लागू भएपछि मात्र देशको ऋण ७८० अर्ब डलरले बढेको छ, जसको मतलब दैनिक २२ अर्ब डलरको वृद्धि हो । अमेरिका अहिले ऋणको संकटमा दिनप्रतिदिन अझै फँस्दै गएको छ।

महामारीपछि मात्र अमेरिकाको कर्जा १४ ट्रिलियन डलरले बढेको छ । अहिलेको अवस्था यस्तो छ कि अमेरिका दैनिक ३ अर्ब डलर ब्याज तिर्नमै खर्च गरिरहेको छ । यसले देखाउँछ कि ट्रम्पले अर्थतन्त्रबारे जे दाबी गरे पनि देशको कर्जा स्थिति क्रमशः भयावह बन्दै गएको छ । 

यदि यसमा चाँडै सुधार भएन भने सरकारसँग विकासका अन्य कार्यका लागि रकम रहने छैन र सम्पूर्ण पैसा कर्जा तिर्नमै खर्च हुनेछ । गत हप्तामात्र सरकारले १० वटा लिलामीमार्फत ७२४ अर्ब डलरका बन्ड बेचेको थियो ।

अमेरिकाले विभिन्न देशबाट आउने सामानमा भारी मात्रामा ट्यारिफ लगाएको छ । भारत र ब्राजिलबाट आउने वस्तुमा ५० प्रतिशत ट्यारिफ लगाइएको छ । ट्रम्पको दाबी छ कि यसबाट आउने आम्दानीले अमेरिका फेरि धनी बन्नेछ । 

मंगलबार ट्रम्पले भनेका थिए, ‘मैले गरिरहेको मुख्य उद्देश्य कर्जा तिर्नु हो । तर मलाई लाग्छ अर्को सम्भावना यो पनि छ कि हामी यति धेरै पैसा संकलन गर्दैछौं कि अमेरिकाका जनतालाई डिभिडेन्डसमेत दिन सक्छौं ।’

अमेरिकाको ऋण वृद्धि लामो समयदेखि जारी छ । दोस्रो विश्वयुद्धपछि अमेरिकी संघीय ऋण स्थिर रूपमा बढ्दै आएको हो, तर खासगरी सन् १९८० को दशकदेखि यसको वृद्धि दर तीव्र हुन थाल्यो । राष्ट्रपति रोनाल्ड रेगनको पालामा कर कटौती र रक्षा खर्च बढेकाले संघीय घाटा र ऋण दुवै बढे ।

सन् २००० को दशकमा राष्ट्रपति जर्ज डब्ल्यू बुसको कार्यकालमा अफगानिस्तान र इराक युद्धका साथै कर कटौतीका कारण ऋण अझ चुलियो । त्यसबेलासम्म अमेरिकी ऋण करिब ६ ट्रिलियन डलरको हाराहारीमा थियो।

सन् २००९-०९ को वित्तीय सङ्कटपछि राष्ट्रपति बाराक ओबामाको कार्यकालमा ठूलो आर्थिक प्रोत्साहन प्याकेज ल्याइयो, जसले ऋण १० ट्रिलियन डलरभन्दा माथि पुर्यायो।

डोनाल्ड ट्रम्पको पहिलो कार्यकाल (२०१-२०२१) मा पनि कर कटौती र सरकारी खर्च बढेकाले ऋण वृद्धि तीव्र रह्यो । २०२० मा कोभिड-१९ महामारीपछि आर्थिक राहत प्याकेजहरूका कारण अमेरिकी ऋण छोटो समयमा नै २७ ट्रिलियन डलरभन्दा माथि पुगेको हो ।

जो बाइडेनको पालामा (२०२१ देखि) थप राहत कार्यक्रम, पूर्वाधार खर्च र सामाजिक सुरक्षा कार्यक्रमका कारण ऋण अहिले ३७ ट्रिलियन डलर नाघेको हो ।

४ ट्रिलियन डलर क्लबमा एनभीडीया, एआई क्रान्तिको अग्रणीले रच्यो नयाँ इतिहास
 

Share News