हरेकको भान्सामा हाइलाइफ, डबल डिजिटको लाभांशपछि आईपीओ

काठमाडौं । २०५० को दशकसम्म पनि नेपालमा मकैको आटो खाने बानी थियो । आटो र ढिँडो खाने बानीलाई आधुनिक बनाउने गरी हाइलाइफ सुरु भयो । मकैबाट बन्ने परम्परागत परिकारलाई नयाँ सोचका साथ ‘कन्फ्लेक्स’ उत्पादन गर्न थालियो । जुन नेपालमा सबैभन्दा पहिला हाइलाइफले सुरुवात गरेको हो । तर, नेपालीहरूमा कन्फ्लेक्स खाने बानी बसाल्न कम्पनीलाई धौधौ भयो । कम्पनीमा धेरै उतारचढाव आए । धेरै पटक कम्पनी आफै पछाडि हट्नुपर्यो । घाटामै चल्नुपर्ने बाध्यता आयो । बन्द नै गर्नुपर्छ कि भन्ने सोचमा पनि  पुगे लगानीकर्ता। 

तर लगानीकर्ता तुलसी घिमिरेले हार खाएनन् । महिमा ब्राण्डबाट व्यवसाय विस्तार गरिरहेका उनले चिउरा उद्योग सञ्चालनमा ल्याए । चिउरा उद्योग सञ्चालन गर्दा उनको कन्फ्लेक्स प्रडक्टले बजारको दायरा फराकिलो बनाइसकेको थियो । किनकि नेपालीहरूमा कन्फ्लेक्स खाने बानीको विकास भइसकेको थियो । चिउरापछि कम्पनी ओट्स, चोकोज लगायत आधुनिक र मेसिन प्रोसेस्ड खाद्य प्रडक्ट उत्पादन गर्न थाल्यो । 

कम्पनीले आफ्नो उत्पादन क्षमता बढाउँदै गयो । सँगै कम्पनीले महिमा ब्राण्डलाई यथावत राखी नयाँ ब्राण्डिङ रणनीति अघि सार्यो 'हाइलाइफ' ब्राण्डमा । विसं २०७३ सालदेखि हाइलाइफ ब्राण्डबाट आफ्ना उत्पादनलाई बजारमा पठायो । कम्पनीले हाइलाइफ ब्राण्डलाई अधिकतम मार्केटिङ गर्यो । बिडम्बना विश्वव्यापी फैलिएको कोरोना भाइरस नेपालमा समेत फैलियो । मान्छेहरू घरभित्र बस्न थाले । तर, कोरोनाकालमा हाइलाइफलाई फाइदा पुग्यो, ब्राण्डिङ अझै उत्कृष्ट बन्यो । 

‘२०७६ मा कोरोना आयो । सप्लाइ चेन नै बन्द भयो । कोरोनामा मान्छेहरू घरभित्र बस्न थाले । तर, कम्पनीको चिउराको आफ्नै सवारी थियो । त्यसबाट हाइलाइफको सप्लाइ चेन राम्रो बन्यो । कोरोनामा ब्राण्ड अझ उत्कृष्ट बन्यो ।

‘सबै यातायात बन्द भएको बेलामा हामीले हाम्रो गाडीबाट सिधै सप्लाइ गर्न पायौं,’ कम्पनीका प्रबन्ध निर्देशक पंकज ज्ञवालीले भने, ‘त्यसरी सप्लाइ गर्दा हाइलाइफ ब्राण्ड नेपालमा चर्चित बन्यो । कम्पनीले पनि सामाजिक सञ्जालमा मार्केटिङ बढायो । हरेक ठाउँमा प्रचार प्रसार गर्याैं । ब्राण्डिङमा हामीले अधिकतम पैसा खर्च गर्याैं ।’ 

कम्पनीमा युवा पुस्ता थिए । जोस जाँगरका साथ कम्पनीलाई ब्राण्डिङमा अब्बल बनाए । कम्पनीका उत्पादित प्रडक्टलाई अझै बजारमा व्यापक बनाएर अघि बढ्ने योजना बनाए । कोरोनामा सबै व्यवसाय बन्द भएर ठप्प थिए । तर, हाइलाइफले उच्च कारोबार गर्यो । तर, जब कोरोनाको त्रास कम हुँदै थियो, बजारमा गतिविधि बढ्दै गयो । कम्पनीको कारोबारमा गिरावट आयो । 

‘कोरोनाकालमा राम्रो कारोबार गरेको कम्पनीले कोरोनापछि अवस्था नाजुक बन्यो । ५ महिना/ १ वर्षपछि कोरोनाको असर कम्पनीमा देखापर्यो । हामीलाई वित्तीय अवरोध हुन थाल्यो,’ ज्ञवालीले भने ।

वित्तीय अभाव हुन थाले पछि कम्पनी ब्याक हुनुपर्ने अवस्था आयो । कम्पनी ब्याक भएन, रणनीति फेर्यो नयाँ लगानीकर्ता भित्र्याउने । कम्पनीका सञ्चालक नयाँ लगानीकर्ताको खोजीमा दौडधुपमा लाग्यो । धेरै लगानीकर्तासँगको विभिन्न चरणमा छलफलपछि अन्ततः कम्पनीमा भित्रियो बिग इन्डस्ट्रिज र हाथवे इन्भेष्टमेन्ट ।

‘हामी सेल्स र मार्केटिङमा लागेका थियौं । अम्बिका सर (अध्यक्ष अम्बिका पौडेल) र सन्दीप शाह जत्तिको टिम आइसकेपछि वित्तीय व्यवस्थापनमा चिन्ता भएन । नयाँ टिमले वित्तीय व्यवस्थापन र पुरानो टिमले सेल्स, मार्केटिङ एण्ड प्रडक्सन हेर्ने गरी हामी अगाडि बढ्यौं । विगत तीन वर्षदेखि हामी सहकार्य गर्दै आइरहेका छौं,’ज्ञवालीले भने । 

हाइलाइफ फूडको चुक्ता पुँजी ६० करोड रुपैयाँ रहेको छ । कम्पनीमा करिब ३० जना लगानीकर्ता रहेका छन् । कम्पनीको मुख्य लगानीकर्ता हाथवे इन्भेष्टमेन्ट रहेको प्रबन्ध निर्देशक ज्ञवालीले बताए ।

कम्पनीका नयाँ योजना 

कम्पनीको भैरहवामा रहेको प्लान्टबाट विभिन्न प्रडक्ट उत्पादन गरिरहेको छ । कम्पनीले ७० प्रतिशत प्रडक्ट उत्पादन गरेर बिक्री वितरण गर्छ भने ३० प्रतिशत आयात गरेर बिक्री वितरण गर्छ । कम्पनीले हाल २० वटाभन्दा बढी प्रडक्ट उत्पादन गर्दै बिक्री वितरण गरिरहेको ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार अब दाल, चामल लगायतका प्रडक्ट ल्याउने योजना रहेको छ । हिमाली तथा पहाडी क्षेत्रमा उत्पादन हुने खाद्य वस्तुलाई कर्णाली ब्राण्डमा बजारमा ल्याउने योजना रहेको उनको भनाइ छ । 

२५ हजार आउटलेटमार्फत कम्पनीका ब्राण्ड बजारमा उपलब्ध छन् । प्रबन्ध निर्देशक ज्ञवालीका अनुसार २०५९ सालमा फ्याक्ट्री खोल्दा नेपालको मकैबाट कन्फ्लेक्स उत्पादन गर्ने योजना थियो । तर, अहिले कन्फ्लेक्स उत्पादनका लागि नेपालमा मकै अभाव रहेर भारतबाट खरिद गर्नु परेको छ ।

कम्पनीका अध्यक्ष अम्बिका प्रसाद पौडेल ३० वर्ष पुरानो कम्पनीमा ४ वर्ष अगाडि आफूहरू नयाँ व्यवस्थापनसहित प्रवेश गरेपछि नतिजा देखाउने गरी काम गरिरहेको बताउँछन् । आफूहरू प्रवेश गरिसकेपछि कम्पनीको कारोबारको आकार र व्यवसायको आकार बढेको उनको भनाइ छ । 

‘नतिजा देखाउनुपर्छ भन्नेमा हामी सतर्क छौं । करिब ३० वर्ष पुरानो कम्पनीमा ४ वर्ष अगाडि नयाँ व्यवस्थापनसहित बिग इन्डस्ट्रिज, हाथवे इन्भेष्टमेन्ट र नव उद्यमी प्रवेश गर्याैं । विशेष गरी पुँजी बजारमा आवद्ध रहेका व्यक्तिको लगानी छ,’ उनले भने, ‘नयाँ व्यवस्थापनको नयाँ सोच र पुरानो व्यवस्थापनको व्यवसायिक उत्कृष्टतालाई फ्यूजन गरेर कम्पनीलाई यहाँसम्म पुर्याएका छौं ।’ 

तत्कालका लागि तीनवटा क्याटेगोरीमा बासमती चामल बजारमा ल्याए पनि छिट्टै थप गर्ने योजना रहेको  प्रबन्ध निर्देशक ज्ञवालीले बताए । स्थानीय उत्पादनलाई व्यापक बनाउने गरी कर्णाली ब्राण्डलाई छिट्टै बजारमा सार्वजनिक गर्ने तयारी रहेको उनको भनाइ छ । 

‘हामी चिउरामा पायोनियोर हौं । हामी छिट्टै भुजा पनि बजारमा ल्याउँदैछौं । साथै दाल, गेडागुडीहरू पनि ल्याउँछौं । स्थानीय प्रडक्टलाई प्रचारप्रसार गर्ने उद्देश्यका साथ कर्णाली ब्राण्ड पनि दर्ता गरिसकेका छौं । कर्णाली ब्राण्डको नामबाट पहाड, हिमालनमा पाइने टिपिकल नेपाली उत्पादनहरू ल्याउँछौं,’ उनले भने । 

उनका अनुसार अबको ५ वर्षमा कम्पनीलाई ७७ जिल्लामा हाइलाइफ पुग्नेछ । साथै देशभरका प्रत्येक घरघर, प्रत्येक भान्सामा हाइलाइफ ब्राण्डका कुनै न कुनै प्रडक्ट पुर्याउने योजना रहेको  प्रबन्ध निर्देशक ज्ञवालीले सुनाए। 

डबल डिजिटमा लाभांश क्षमता भएपछि आईपीओमा जाने

४ वर्ष अगाडि नयाँ लगानीकर्ता प्रवेश गर्दा कम्पनीको पुँजी थोरै थियो । हाल कम्पनीको चुक्ता पुँजी ६० करोड रुपैयाँ रहेको छ । सेयर बजारबाट उदाएका अम्बिका पौडेलले कम्पनीमा लगानी गरेपछि अधिकांशले चासो राख्ने गरेका छन् । साथै कम्पनीले आईपीओ कहिले जारी गर्छ भनेर उनलाई सोधिरहन्छन् । 

‘पछिल्लो समय स्थापना भएको छोटो समयमै आईपीओ जारी गर्ने होडबाजी चलिरहेको छ । तर, हामी कम्पनीलाई पहिला आफ्नै खुट्टामा पूर्ण रुपमा उभ्याउने हो । यो कम्पनी हाम्रो छवि (इमेज)सँग जोडिएको छ । हामी युवा उद्यमीको सपनासँग जोडिएको छ,’ उनले जवाफ दिन्छन्, ‘जब डबल डिजिटमा लाभांश दिन सक्षम छ भनेर हाम्रो व्यवस्थापन टिम र सञ्चालक समितिलाई लाग्छ । त्यसपछि कम्पनीको आईपीओ जारी गर्ने हो ।’ 

कम्पनीलाई कहाँ, कतिसम्म उचाइमा पुर्याउने भन्दा पनि दीर्घकालसम्म टिक्न सक्ने बनाउने योजना रहेको उनले बताए । 

‘हामी रहौंला/नरहौंला तर कम्पनी दीर्घकालसम्म रहिरहनु पर्छ भन्ने मान्यता हो । हाम्रो व्यावसायिक साझेदार लालकिल्लाको इतिहास सन् १९०१ देखि हालसम्म निरन्तर रहेर वृद्धिको यात्रामा छ । त्यस्तो कम्पनीसँग हामीले साझेदारी गरेका छौं,’ पाैडेलले भने, ‘हामीले पनि व्यावसायिक साझेदारको राम्रो पाइलालाई पच्छ्याउनुपर्छ भन्ने हाम्रो मान्यता हो । व्यक्ति रहला वा नरहला तर संस्था निरन्तर चलिरहनु पर्छ । संस्थामा सुशासन स्थापित हुनुपर्छ भन्ने मान्यतामा हामीले दृढ संकल्प राखेका छौं ।’ 

Share News