लोडसेडिङको तालिका निकाल्ने कर्मचारीको सरुवा, हाइड्रोको आवश्यकता नरहेको अभिव्यक्तिको आलोचना

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले लोडसेडिङको तालिका सार्वजनिक गर्ने कर्मचारीको सरुवा गरेका छन् । उनले नेपाल विद्युत प्राधिकरण चनौली वितरण केन्द्रका प्रमुख रामकुमार श्रेष्ठको सरुवा गरेका हुन् । उनलाई  प्राधिकरणले पूर्वी नवलपरासीको सदरमुकाम कावासोती सरुवा गरिएको जानकारी दिइएको छ । 

नेपाल विद्युत प्राधिकरण चनौली वितरण केन्द्रले गत साउन १० गते विद्युत आपूर्ति कटौती गर्ने सूचना सार्वजनिक गरेको थियो । त्यसपछि लोडसेडिङ पुनः सुरु भएको भन्दै देशव्यापी रूपमा प्राधिकरणको नेतृत्वको आलोचना भएको थियो । 

शाक्यले आफूलाई असहयोग गरेको भन्दै सजाय स्वरूप उनको सुरुवा गरिएको बुझिएको छ । 

पछिल्लो समय एकपछि अर्को विवादित अभिव्यक्ति र कार्यशैली गर्दै आएका शाक्यले सोलार र ब्याट्रीले बिजुली पुर्याउन सके विद्युत् प्राधिकरण जलविद्युतकाे पछि लाग्न जरुरी नरहेको धारणा राखेका थिए । 

मंगलबार एक सार्वजनिक कार्यक्रममा उनले सोलार र ब्याट्रीले साँझ बिहानको बिजुली पुर्याउन सके जलविद्युत भनिरहनुपर्ने अवस्था नरहने अभिव्यक्ति दिएका थिए । उनको सो अभिव्यक्तिपछि जलविद्युत उद्यमीले आलोचना गरिरहेका छन् । 

‘हामीलाई ऊर्जा कहाँबाट आयो भन्ने छैन, ब्याट्री र सोलारले माग पूरा हुन्छ भने हाइड्रोको पछि लाग्नुपर्छ भन्ने छैन। दिउँसो र साँझको बिजुलीको माग धान्न सक्नु पर्यो। रातिमा त्यति बिजुली डिमाण्ड हुँदैन,’ शाक्यले कार्यक्रममा भनेका थिए । 

Share News