एनसेलको बिज सधैं अनमा मनसुन बिजनेस अफर सार्वजनिक

काठमाडौं । एनसेलले आफ्ना पोस्टपेड, साना तथा मझौला उद्यमी र कर्पोरेट ग्राहकहरूका लागि 'बिज सधैं अन' मा मनसुन बिजनेस अफर ल्याएको छ । यो अफरमा ग्राहकहरूले कम खर्चमा पूरै एक वर्ष निश्चिन्त भई सेवाहरू उपयोग गर्न सकिने लगायतका सुविधाहरु रहेकाे कम्पनीले जनाएकाे छ ।

ग्राहकहरूले बिज सधैं अन ३९९ प्लान वा बिज सधैं अन ६४९ प्लानको १० महिनाको लागि सदस्यता लिँदा १२ महिनाको सेवा पाउने यो अफरको विशेषता हो । यसको अर्थ थप दुई महिनाको सेवा निःशुल्क लिएर एक वर्ष दूरसञ्चार सेवाका लागि ढुक्क हुन सकिन्छ । यो अफर '१० महिना तिर्नुहोस्, १२ महिना सेवा पाउनुहोस्' भन्ने मोडलमा आधारित रहेको छ।

बिज सधैं अन ३९९ प्लानमा ग्राहकहरूले हरेक महिना १० जीबी डेटा, ४०० मिनेट जुन सुकै लोकल नेटवर्कमा कल गर्न सकिने टक टाइम र ४०० एसएमएस प्रति महिना पाउँछन् । त्यस्तै, बिज सधैं अन ६४९ प्लानमा हरेक महिना ३० जीबी डेटा, अनलिमिटेड टक टाइम र ६५० एसएमएस पाइन्छ ।

यो मनसुन अफरमा ग्राहकहरुले बन्डल/कम्बो अफरको पनि फाइदा लिन सक्छन् । यसमा कर्पोरेट ग्राहकहरुले आफ्ना तीन वटा मोबाइल नम्बरहरूमा सेवाका लागि वार्षिक सदस्यता लिँदा एउटा नम्बरले एक पटकका लागि ६ महिनाको लागि सेवा निःशुल्क पाउँछ । यसैगरी पाँच वटा नम्बरका लागि एक वर्षको सेवा लिँदा दुई वटा नम्बरले ६ महिनाका लागि सेवा निःशुल्क पाउँछ । 

यसका साथै एनसेलले क्लाउड र डाटा सेन्टर सेवाहरूमा सीमित अवधिका लागि मनसुन अफर दिएको छ जसमा ग्राहकहरूले विशेष छुट पाउनेछन् । 

बिज सधैं अन ३९९ प्लान र बिज सधैं अन ६४९ प्लानको मासिक सेवा लिएका ग्राहकहरुले पनि आफूलाई अपग्रेड गरी वार्षिक सेवा सदस्यता र कम्बो अफरको फाइदा लिन सक्ने कम्पनीले जनाएकाे छ । 

ग्राहकहरुले बिज सधैं अन प्लानहरूमा मासिक रुपमा डेटा, भ्वाइस र एसएमएसका साथै लायन्सगेट प्ले र मेरो लगानी एपमा पनि पहुँच पाउँछन् ।
 

Share News