आईएसपीलाई जथाभावी वाई-फाई हटस्पट सञ्चालनमा रोक, मोबाइल सेवाप्रदायकलाई राहत

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीहरूले जथाभावी वाई–फाई हटस्पट सेवा सञ्चालन गर्न नपाउने स्पष्ट चेतावनी दिएको छ । मोबाइल सेवा प्रदायकले मात्रै वाई–फाई हटस्पट सेवा दिन सक्ने प्रावधान रहेको उल्लेख गर्दै प्राधिकरणले कानून विपरीत सेवा प्रवाह गरेमा कारबाही हुने बताएको छ ।

प्राधिकरणले सोमबार सार्वजनिक सूचना जारी गर्दै, ‘वाई–फाई हटस्पट सञ्चालनसम्बन्धी विनियमावली, २०७५’ विपरीत सेवा सञ्चालन गरेको गुनासो आएपछि यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । सूचनामा मोबाइल सेवाको अनुमति प्राप्त प्रदायकहरूले मात्र वाई–फाईमार्फत निर्बाध कनेक्टिभिटी, रोमिङ र मोबिलिटी सेवा दिन पाउने व्यवस्था रहेको स्पष्ट गरिएको छ ।

अन्य सेवा प्रदायक, विशेषगरी आईएसपीहरू, भने उक्त विनियमावलीअनुसार सीमित क्षेत्र र समयका लागि मात्रै वाई-फाई हटस्पट सेवा सञ्चालन गर्न पाउँछन् । एक पटकको लग–इनबाट सीमित अवधिका लागि मात्र सेवा दिन सक्ने व्यवस्था भए पनि हाल केही आईएसपीले यस प्रावधान उल्लंघन गर्दै व्यापक रूपमा हटस्पट सेवा प्रदान गरिरहेको प्राधिकरणको ठहर छ ।

वाई–फाई हटस्पट सेवामा अगाडि देखिएको वल्र्डलिंकले ‘वाई–फाई एक्सप्रेस’को नाममा देशभर १४ हजारभन्दा बढी स्थानमा निःशुल्क सेवा दिँदै आएको छ । एक पटक लग–इन गरेपछि स्वतः जडान हुने र समयसीमा पनि नतोकिने व्यवस्था रहेको प्राधिकरणको भनाइ छ ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको निर्देशनपछि प्राधिकरणले वल्र्डलिंकलगायतका आईएसपीहरूलाई यस्ता अव्यवस्थित सेवा तत्काल नरोके कडा कारबाही हुने चेतावनी दिएको हो । अब यी हटस्पट सेवाहरू ‘वाई–फाई हटस्पट विनियमावली, २०७५’ अन्तर्गत तोकिएको मापदण्डमा मात्रै सीमित हुनेछन् ।

प्राधिकरणले वाई–फाई हटस्पट सञ्चालन गर्दा रेडियो फ्रिक्वेन्सी नीति, २०८० अन्तर्गत तोकिएको पावर लिमिट, ब्याकहलरब्याकबोन सञ्जाल प्रयोग र टाइप–एप्रुभल प्राप्त रेडियो उपकरण प्रयोग अनिवार्य गरिएको समेत उल्लेख गरेको छ ।

हाल नेपालमा वाई–फाई हटस्पटको सबैभन्दा ठूलो नेटवर्क वल्र्डलिंकसँग रहेको छ । यस निर्देशनपछि त्यसको १४ हजारभन्दा बढी हटस्पटले प्राधिकरणका मापदण्ड पालना गरेर मात्रै सेवा प्रवाह गर्नुपर्नेछ ।

Share News