काठमाडौं । अमेरिका र युरोपेली संघ (ईयू) बीच आइतबार एक महत्त्वपूर्ण व्यापारिक सहमति भएको छ । जसअनुसार अधिकांश ईयू वस्तुमा अब अमेरिकाले १५ प्रतिशत आयात शुल्क लगाउनेछ- जुन पूर्वघोषित दरको आधा मात्र हो ।
यस सहमतिले दुई प्रमुख साझेदारबीच ठूलो व्यापार युद्ध टार्न सफल भएको छ । यी दुईले संयुक्त रूपमा विश्व व्यापारको करिब एक तिहाइ हिस्सा ओगटेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भन डेयर लायनले स्कटल्यान्डको ट्रम्पको विलासी गफ कोर्समा करिब एक घण्टा लामो छलफलपछि यस सम्झौताको घोषणा गरे ।
‘मलाई लाग्छ यो अहिलेसम्मको सबैभन्दा ठूलो सम्झौता हो,’ ट्रम्पले पत्रकारहरूसँग भने । उनले ईयूले अमेरिकाभित्र करिब ६०० अर्ब डलर लगानी गर्ने योजना बनाएको र अमेरिकी ऊर्जा तथा सैन्य सामग्रीको खरिद उल्लेखनीय रूपमा बढाउने बताउँदै प्रशंसा गरे ।
ट्रम्पले यस सम्झौतालाई गत साता जापानसँग भएको ५५० अर्ब डलरको सम्झौताभन्दा पनि ठूलो भन्दै यसले पारस्परिक सम्बन्ध विस्तार गर्ने बताए । उनका अनुसार विगतका वर्षहरूमा अमेरिकी निर्यातकर्तासँग अन्यायपूर्ण व्यवहार हुँदै आएको थियो ।
लायनले ट्रम्पलाई ‘कठिन वार्ताकार’ भन्दै १५ प्रतिशत शुल्क सबै वस्तुमा लागू हुने बताइन् र यो सम्झौता ‘हामीले प्राप्त गर्न सक्ने सबैभन्दा राम्रो’ भएको बताइन् ।
‘यो विश्वका दुई सबैभन्दा ठूलो अर्थतन्त्रबीचको सम्झौता हो । यसले स्थिरता र पूर्व अनुमेयता ल्याउनेछ,’ उनले भनिन् ।
ट्रम्पका अनुसार सम्झौतामा ईयूले आगामी वर्षहरूमा ७५० अर्ब डलर बराबरको अमेरिकी ऊर्जा र ‘सयौं अर्ब डलर’ बराबरको हतियार खरिद गर्ने उल्लेख छ । यदि सबै विवरण लागू भए यो सम्झौता एअरबस, मर्सिडिज बेन्ज, नोभो नोर्डिस्क जस्ता ईयू कम्पनीहरूका लागि सकारात्मक हुने देखिन्छ ।
जर्मन चान्सलर फ्रेडरिक मर्जले यो सम्झौतालाई स्वागत गर्दै यसले जर्मनीको निर्यात–आधारित अर्थतन्त्र र ठूलो अटोमोबाइल क्षेत्रलाई ठूलो झट्का बाट जोगाएको बताए ।
तर, १५ प्रतिशतको आधारभूत शुल्क अझै पनि धेरै युरोपेलीहरूको दृष्टिमा उच्च मानिन्छ, किनभने युरोपले सुरुमा ‘शून्य–विरुद्ध–शून्य’ शुल्क सम्झौताको अपेक्षा गरेको थियो ।
युरोपेली संसदको व्यापार समिति प्रमुख बेन्ड लांगेले शुल्कलाई असन्तुलित बताए। उनले ईयूको अमेरिका–केन्द्रित लगानीले अन्ततः युरोपकै घाटा निम्त्याउने चिन्ता व्यक्त गरे ।
एक वरिष्ठ अमेरिकी अधिकारीका अनुसार ट्रम्पले भविष्यमा युरोपेली लगानी प्रतिबद्धता पूरा नभएमा शुल्क बढाउने अधिकार सुरक्षित राखेका छन् ।
सम्झौताको खबर आएपछि यूरो डलर, पाउण्ड र येनमा करिब ०.२ प्रतिशतले वृद्धि भएको छ ।
टेनेओ रिसर्चका उपनिदेशक कास्र्टन निकेलले यो उच्चस्तरीय राजनीतिक सम्झौता मात्रै भएको भन्दै सशक्त, स्पष्ट व्यापार सम्झौताको विकल्प नबन्ने बताएका छन् । उनले भने, ‘यसले भविष्यमा विभिन्न व्याख्याको जोखिम निम्त्याउँछ- जसरी जापान–अमेरिका सम्झौताको पछि देखिएको थियो ।’
यो सम्झौताले अधिकांश वस्तुहरू- जस्तै सेमिकन्डक्टर र औषधिहरूलाई समेटे पनि केही वस्तुहरू छुट छन् । अमेरिका अझै पनि स्टिल र एल्युमिनियममा ५० प्रतिशत शुल्क कायम राख्नेछ । लायनले यो शुल्कलाई कोटा प्रणालीले प्रतिस्थापन गर्न सकिने संकेत दिइन् ।
उनले विमान र विमान–पुर्जा, विशेष रसायन, सामान्य औषधि, सेमिकन्डक्टर उपकरण, केही कृषि उत्पादन, प्राकृतिक स्रोत र महत्वपूर्ण कच्चा पदार्थमा कुनैपनि शुल्क नलाग्ने बताइन् । ‘हामी अझ धेरै वस्तुहरूलाई यो सूचीमा थप्ने प्रयास गर्दैछौं,’ उनले भनिन् । मादक पदार्थको विषय अझै छलफलमै रहेको उल्लेख गरिन् ।
एक अमेरिकी अधिकारीका अनुसार व्यावसायिक विमानमा लाग्ने शुल्क अहिलेको लागि शून्य नै हुनेछ र अमेरिकी समीक्षापछि दुई पक्ष मिलेर निर्णय गर्नेछन् । १५ प्रतिशतभन्दा कम शुल्कमा सहमति हुनसक्ने ‘अवसर राम्रो’ रहेको उनले बताए । तर, त्यो समीक्षा कहिले पूरा हुने भन्ने समय भने दिइएको छैन ।
यो सम्झौता ट्रम्पको ‘विश्व अर्थतन्त्र पुनर्संरचना’ गर्ने तथा अमेरिकी व्यापार घाटा घटाउने अभियानको सफलता रूपमा चित्रित गरिनेछ । ट्रम्पले यसअघि बेलायत, जापान, इन्डोनेसिया र भियतनामसँग पनि यस्तै सम्झौताहरू गरेका छन्, यद्यपि उनले घोषणा गरेको ‘९० दिनमा ९० सम्झौता’ लक्ष्य भने पुरा भएको छैन ।
अमेरिकी अधिकारीहरूका अनुसार ईयूले केही कृषिजन्य वस्तु र सवारी साधनमा ‘गैर–शुल्क अवरोध’ घटाउने सहमति जनाएको छ, यद्यपि ईयू अधिकारीहरूले अझै पनि त्यसको मापदण्ड छलफलकै क्रममा रहेको बताएका छन् ।
‘युरोपेली संघको अर्थतन्त्र २० ट्रिलियन डलरको छ,’ उनीहरू जापानभन्दा पाँच गुणा ठूलो छन्,’ एक वरिष्ठ अमेरिकी अधिकारीले भने, ‘त्यसैले तिनीहरूको बजार खुला हुँदा हाम्रा किसान, माछा पालक, पशुपालक, र उद्योगहरूलाई ठूलो अवसर मिल्नेछ ।’
ट्रम्पले युरोपेली संघलाई व्यापारमा अमेरिका माथि अन्याय गरेको भन्दै लामो समयदेखि आलोचना गर्दै आएका छन् । अमेरिकी तथ्यांक विभागका अनुसार सन् २०२४ मा ईयूसँगको व्यापार घाटा २३५ अर्ब डलर पुगेको छ । यता युरोपेली संघले भने सेवाक्षेत्रमा अमेरिकी नाफाले सन्तुलन मिलाउने दाबी गर्दै आएको छ ।
ट्रम्पले आफैले लगाएका भन्सार शुल्कबाट ‘सयौं अर्ब डलर’ राजस्व आर्जन भएको दाबी गर्दै आएका छन्, यद्यपि अर्थशास्त्रीहरूले त्यसबाट मुद्रास्फीतिको जोखिम रहेको चेतावनी दिँदै आएका छन् ।
सर्वपक्षीय व्यापार सम्झौता नभएमा ट्रम्पले आगामी अगस्ट १ देखि ३० प्रतिशत भन्सार लगाउने धम्की दिएका थिए। त्यसपछि ईयूले ९३ अर्ब युरो बराबरको अमेरिकी वस्तुमा प्रतिकारात्मक शुल्क लगाउने तयारी गरेको थियो।