काठमाडौं । चीनका ठूला उद्योगको नाफामा गिरावट आएको छ । सन् २०२५ को पहिलो ६ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.८ प्रतिशतले घटेको तथ्याङ्क सार्वजनिक भएको हो ।
चीनको राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार वार्षिक मुख्य व्यापार आम्दानी कम्तीमा दुई करोड युआन वा सोभन्दा बढी हुने औद्योगिक कम्पनीहरूको संयुक्त नाफा जनवरीदेखि जुन महिनासम्मको अवधिमा तीन खर्ब ४४ अर्ब युआन पुगेको छ ।
उक्त अवधिमा ती कम्पनीहरूको कूल आम्दानी भने अघिल्लो वर्षको तुलनामा २.५ प्रतिशतले बढेको देखिएको छ । जुन महिनामा मात्र हेर्दा, ती ठूला औद्योगिक कम्पनीहरूको नाफा अघिल्लो वर्षको सोही महिनाको तुलनामा ४.३ प्रतिशतले घटेको छ । यद्यपि, यो गिरावट मे महिनाको तुलनामा केही कम भएको कार्यालयले जनाएको छ ।
घरेलु माग कमजोर रहनु र विश्व व्यापारमा अनिश्चितता कायमै रहँदा उत्पादक मूल्यमा गिरावटको प्रभाव अझ गहिरिँदै गएको छ । राष्ट्रिय तथ्यांक ब्युरो (ल्द्यक्) ले आइतवार सार्वजनिक गरेको तथ्यांकअनुसार, जूनमा औद्योगिक नाफा वार्षिक आधारमा ४.३ प्रतिशतले घटेको छ, जुन मे महिनाको ९.१ प्रतिशतको गिरावटको तुलनामा केही सुधार भए पनि अझै नकारात्मक अवस्था हो ।
चीनको अर्थतन्त्रले दोस्रो त्रैमासमा अमेरिकी शुल्कहरूका बाबजुद अपेक्षाभन्दा कम गिरावट देखाउँदै धैर्यताको संकेत दिएको छ । तर, उत्पादकहरूबीचको तीव्र मूल्य प्रतिस्पर्धाले सरकारलाई विशेषतः गाडी र सौर्य प्यानल उद्योगहरूमा कडा नियमनको घोषणा गर्न बाध्य बनाएको छ ।
चीनका सञ्चार माध्यमसँग राष्ट्रिय तथ्यांक ब्युरोका तथ्यांकविद यू वेइनिङले भनेका छन्, ‘चीनले जटिल र परिवर्तनशील बाह्य वातावरणको सामना गरिरहेको अवस्थामा राष्ट्रिय बजार निर्माण र औद्योगिक अर्थतन्त्रको उच्च गुणस्तरीय विकास तर्फ गहिरो प्रयास गर्नुपर्छ ।’
चीनका नेताहरूले आक्रामक मूल्य कटौतीविरुद्ध कडा नियमनको प्रतिबद्धता व्यक्त गर्दै, औद्योगिक उत्पादन कटौतीको नयाँ चरण नजिकै हुन सक्ने संकेत दिएका छन् । तर, विश्लेषकहरूका अनुसार, यसपटकको आपुर्तितर्फ सुधार अघिल्लो दशकको जस्तो प्रभावकारी नहुन सक्छ ।
सरकारी स्वामित्वमा रहेका कम्पनीहरूले पहिलो छ महिनामा ७.६ प्रतिशत नाफा गिरावट भएको जानकारी दिएको सञ्चार माध्यममा उल्लेख छ । निजी क्षेत्रका कम्पनीहरूको नाफा भने १.७ प्रतिशतले बढेको छ ।