काठमाडाैं । गत आर्थिक वर्षमा कुल १७ अर्ब १२ करोड ८९ लाख रुपैयाँबराबरको सुन आयात भएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा कुल एक हजार ३ सय ८९ केजी सुन आयात भएको छ ।
सरकारले सो मूल्यको सुन आयातमा एक अर्ब ८५ करोड ६८ लाख रुपैयाँ राजस्व संक्लन गरेको छ । गत आर्थिक वर्षको मध्यतिर सुन आयात निकै बढेको थियो ।
अघिल्लो आवको असार मसान्तसम्म भने कुल २३ अर्ब ६५ करोड ३९ लाख रुपैयाँबराबरको २ हजार ६५१ केजी सुन आयात भएको थियो । त्यसबापत सरकारले ३ अर्ब ६४ करोड ८३ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।
गत आवको फागुन महिनासम्म नेपालमा कुल १ हजार १८८ किलो सुन भित्रिएको थियो । भन्सार विभागका अनुसार फागुनसम्म कुल १४ अर्ब ३७ करोड ११ लाख २६ हजार रुपैयाँबराबरको ११ लाख ८८ हजार ८ सय ९२ ग्राम अर्थात एक हजार १ सय ८८ किलो सुन नेपाल भित्रिएको थियो । जुन माघको तुलनामा ३०१ किलो बढी हो ।
फागुनमा १४ अर्ब बढीको सुन आयातबाट सरकारले १ अर्ब ५८ करोड १० लाख ७५ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।
माघमा कुल १० अर्ब ४५ करोड ४९ लाख २२ हजार रुपैयाँबराबरको ८ लाख ८७ हजार ३ सय २८ ग्राम अर्थात् ८ सय ८७ किलो सुन नेपाल आयात भएको थियो । यो बापत् सरकारले कुल १ अर्ब १८ करोड ९४ लाख ५३ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।
गत पुस महिनासम्म भने कुल ५८७ केजी सुन आयात भएको थियो । पुस मसान्तसम्म कुल ६ अर्ब ७१ करोड ६लाख रुपैयाँ बराबरको सुन आयात भएको थियो ।
सरकारले सुनको भन्सारदर २० प्रतिशतबाट १० प्रतिशत कायम गरेपछि आयात बढेको थियो । तर, चालु आवको बजेटमार्फत् सरकारले सुनमा विलासिता करको व्यवस्था गरेपछि सुनको मागमा ह्रास आएको व्यवसायी बताउँछन् । अहिले पनि व्यवसायी सो व्यवस्थाको विरोध गरिरहेका छन् ।