मस्तिष्क प्रविधिमा चीनले एलन मस्कको न्यूरालिंकजस्ता कम्पनीसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । विगतमा अमेरिका अग्रणी मानिएको मस्तिष्क प्रविधि (ब्रेन-कम्प्युटर इन्टरफेस) क्षेत्रमा चीन तीव्र गतिमा अगाडि बढिरहेको छ । बेइजिङस्थित एक अस्पतालमा भएको एउटा क्लिनिकल परीक्षणमा एएलएस रोगी एक महिलाले बोल्न नसके पनि मस्तिष्कबाट ‘म खाना खान चाहन्छु’ भन्ने सन्देश कम्प्युटर स्क्रिनमा देखाउन सकियो । यो सफलता चीनमा विकास गरिएको वायरलेस चिप बेइनाओ-१ को प्रयोगबाट सम्भव भएको हो ।

बेइनाओ-१ नामक सिक्का आकारको चिप पाँचजना बिरामीको मस्तिष्कमा प्रत्यारोपण गरिएको छ । यस प्रविधिमा बिरामीका मस्तिष्कबाट आउने संकेतहरूलाई डिकोड गरेर कम्प्युटरमार्फत सन्देश वा मेसिनमा रूपान्तरण गरिन्छ । प्रमुख वैज्ञानिक लुओ मिनमिनले भने, ‘यो प्रविधिले बिरामीहरूलाई फेरि आफ्नो शरीरको नियन्त्रणमा रहेको महसुस गराउँछ ।’

उनको टोलीले आगामी वर्षमा ५० देखि १०० जना बिरामीमा परीक्षण विस्तार गर्ने योजना बनाएको छ । यदि प्रविधि सुरक्षित र प्रभावकारी प्रमाणित भयो भने विश्वभरि क्लिनिकल प्रयोग सुरु गर्न सकिने उनले जानकारी दिए ।

एलन मस्कको न्यूरालिंक र सिन्क्रोन जस्ता अमेरिकी कम्पनीहरू यस क्षेत्रमा अघि छन् । न्यूरालिंकले पनि हालसम्म पाँच जना बिरामीमा चिप प्रयोग गरिसकेको छ भने सिन्क्रोनले १० जनासम्म परीक्षण गरिसकेको छ ।

तर, वैज्ञानिक लुओ भन्छन्, ‘बेइनाओ-१ र न्यूरालिंक एक अर्काका प्रतिस्पर्धी होइनन् । यी दुई प्रविधि पूरक हुन्, न कि प्रतिस्पर्धात्मक ।’ चिनियाँ चिपले मस्तिष्कका धेरै भागबाट संकेत टिप्ने क्षमतामा अगाडि छ । यद्यपि एकल न्युरोनको सटीकतामा अमेरिकाको प्रविधि अगाडि देखिन्छ ।

ब्रेन टेक उद्योग सन् २०२४ मा २.६ अर्ब डलरको थियो, जुन सन् २०३४ सम्म १२.४ अर्ब डलर पुग्ने अनुमान छ । तर यो केवल आर्थिक विषय होइन । चीनका राष्ट्रपति सी जिनपिङले प्रविधिलाई ‘वैश्विक प्रतिस्पर्धाको मुख्य रणभूमि’ भनेका छन् । अमेरिकामा यसले चासोको विषय बनिरहेको छ, किनकि सेमीकन्डक्टरदेखि ब्रेन टेकसम्म चीनले रणनीतिक रूपमा लगानी बढाइरहेको छ ।

अमेरिकाको प्रविधि मस्तिष्कको ड्युरा म्याटरभित्र चिप राख्ने ‘इनभेसिभ’ विधिमा आधारित छ, जुन सटीक भए पनि उच्च जोखिमयुक्त हुन्छ । चीनले भने कम आक्रामक तर प्रभावकारी डाटा सङ्कलन गर्न सक्ने प्रविधि अपनाएको छ। यही कारण चीनको प्रविधिलाई सुरक्षित मानिएको छ ।

चीनको बीसीआई अनुसन्धानमा राज्यस्तरको सहयोग उल्लेखनीय छ । २०१८ मा बेइजिङ मेट्रोपोलिटन र विश्वविद्यालयहरूद्वारा स्थापित सीआइबीआरले २०२३ मा न्यूरोसाइबर न्युरोटेक नामक निजी कम्पनी स्थापना गरेको थियो, जसले बेइनाओ-१ जस्ता उत्पादनमा काम गरिरहेको छ ।

पूर्व अनुसन्धान सहायक लिली लिनले भनिन्, ‘चीनमा ब्रेन साइन्स नयाँ भए पनि यसको विकास गतिको हिसाबले अग्रणी हुँदै गएको छ। सरकारले यस क्षेत्रमा उदार अनुदान दिँदै आएको छ ।’

बिरामीका लागि समाधान

बेइनाओ-१ प्रविधिको पछिल्लो परीक्षणलाई ‘विश्वकै पहिलो अर्ध-आक्रामक वायरलेस बीसीआई परीक्षण’ भनेर वर्णन गरिएको छ । लुओले भनिन्, ‘अहिलेसम्म हामी निष्कर्षमा पुगेका छैनौं कि कुन विधि दीर्घकालीन रूपमा बिरामीका लागि बढी लाभदायक छ । तर एउटा कुरा निश्चित छ- यो प्रविधिले हजारौं बिरामीलाई अभिव्यक्तिको नयाँ ढोका खोलिदिएको छ ।’

Share News