काठमाडौं । रुसुवागढीमा आएको बाढीले क्षति गर्दा २९ करोड रुपैयाँ बराबरको बीमा दाबी परेको छ । असार २३ गते भोटेकोसी नदीमा आएको बाढीले नेपाल चिन मितेरी पुलसँगै बन्दरगाहमा रहेका सवारी साधन र केही हाइड्रोपावर कम्पनीहरुमा क्षति पुर्याएको थियो ।
बाढीले पुर्याएको क्षतिबाट २८ करोड ९२ लाख ६० हजार रुपैयाँ बराबरको ६३ वटा प्रारम्भिक बीमा दाबी परेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सामुद्रिक बीमा लेखका ६ वटा बीमा बापत १५ करोड ७० लाख १० हजार रुपैयाँ बराबरको दाबी परेको छ ।
यस्तै, इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमा लेखका ४ वटा दाबी बापत ५ करोड ५५ लाख रुपैयाँ, सम्पत्ति बीमा लेखका १० वटा दाबी बापत ४ करोड १८ लाख ५० हजार रुपैयाँ, मोटर बीमा (सार्वजनिक)लेखका ३२ वटा दाबी बापत २ करोड ३१ लाख ५० हजार रुपैयाँ र मोटर बीमा (निजी) लेखका ११ वटा दाबी बापत १ करोड १७ लाख ५० हजार रुपैयाँ माग गरिएको बीमा प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार सबैभन्दा धेरै शिखर इन्स्योरेन्समा दाबी भुक्तानी परेका छन् । शिखर इन्स्योरेन्समा १० वटा दाबी बापत १६ करोड १२ लाख १० हजार रुपैयाँ माग गरिएको छ । यस्तै, नेको इन्स्योरेन्समा ३ वटा दाबी बापत ५ करोड १२ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ७ वटा दाबी बापत ३ करोड ४१ लाख ५० हजार रुपैयाँ माग गरिएको छ ।
यस्तै, नेपाल इन्स्योरेन्समा १२ वटा दाबी बापत १ करोड २८ लाख ५० हजार रुपैयाँ, सानिमा जीआइसी इन्स्योरेन्समा ६ वटा दाबी बापत ७७ लाख रुपैयाँ, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्समा ९ वटा दाबी बापत ७५ लाख ५० हजार रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्समा ३ वटा दाबी बापत ६८ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्समा ६ वटा बीमा दाबी बापत ४७ लाख रुपैयाँ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ७ वटा दाबी बापत ३१ लाख रुपैयाँ माग गरिएको छ ।
