काठमाडौं । भूमि सुधार तथा मालपोत कार्यालय ललितपुरले चालु आव २०८२/८३ को लागि जग्गाको न्यूनतम् मूल्यांकन तोकेको छ । ललितपुरमा मुख्य सहर बजारदेखि ग्रामीण क्षेत्रहरू छन् । त्यसैले ललितपुरमा जग्गाको मूल्य प्रति आना २५ हजार रूपैयाँदेखि प्रति आना ३९ लाख ५० हजार रुपैयाँ मूल्यांकन गरिएको छ ।
ललितपुरको मुख्य बजार मानिने कुपण्डोलदेखि लगनखेल, सातदोबाटोसम्मको जग्गाका मूल्य ३९ लाख ५० हजार रुपैयाँ तोकिएको छ । कुपण्डोल सानेपा हुँदै पुरानो शान्त भवनसम्मको पिच सडकसम्म जोडिएको जग्गाको मूल्य प्रति आना १७ लाख रुपैयाँ निर्धारण गरेको छ । बागमती फाँट जग्गा एकीकरण आयोजनाको घडेरीको जग्गाहरूको मूल्यांकन प्रति आना १४ लाख ५० हजार रुपैयाँ मूल्यांकन गरिएको छ ।
ललितपुर महानगर चक्रपथ भित्र र बाहिरको जग्गाहरूको मूल्य तीन लाख रूपैयाँदेखि १९ लाख रूपैयाँसम्म मूल्यांकन गरिएको छ । च्यासलबाट बालकुमारी मन्दिर हुँदै चक्रपथ बाहिर कर्मनासा पुलसम्मको मुल पिच सडकसम्म जोडिएका दायाँबायाँको जग्गाको मूल्य १९ लाख ९० हजार रुपैयाँ तोकिएको छ । कृष्ण मन्दिरबाट शंखमुल जाने पिच मोटरसँग जोडिएका जग्गा प्रति आना ११ लाख ५० हजार मूल्यांकन गरिएको छ । चक्रपथ तारबारसँग जोडिएको जग्गाको मूल्य प्रति आना २६ लाख रुपैयाँ तोकिएको छ भने गोरेटो बाटोसँग जोडिएका जग्गाहरु प्रति आना ५ लाख १० हजार रुपैयाँ नै उपलब्ध रहेका छन् । बाटो नभएका जग्गाहरू भने प्रति आना ३ लाख २५ हजार रुपैयाँ तोकिएको छ ।
चक्रपथ बाहिरका जग्गाहरूमा पिच सडकसँग जोडिएका छन् भने त्यसको मूल्य प्रति आना १२ लाख ४३ हजार रुपैयाँ निर्धारण गरिएको छ । कच्चा सडकसँग जोडिएको जग्गाहरूको मूल्यांकन प्रति आना ७ लाख ९० हजार तोकिएको छ ।
ललितपुर महानगरपालिका भित्र पर्ने बुङ्गमतीमा प्रति आना एक लाख पाँच हजार रूपैयाँदेखि ८ लाख रूपैयाँसम्म जग्गाको मूल्यांकन गरिएको छ । बुङ्गमतीमा मुख्य पिच सडकसँग जोडिएको जग्गाको मूल्य प्रति आना ८ लाख रुपैयाँ, अन्य पिच सडकसँग जोडिएको जग्गाको मूल्य प्रति आना ५ लाख १० हजार रुपैयाँ, कच्ची सडक ४ लाख रुपैयाँ, गोरेटो बाटो २ लाख ४० हजार र बाटो नभएको एक लाख ५ हजार रुपैयाँ मूल्यांकन गरिएको छ ।
खोकना क्षेत्रतिर जग्गाको मूल्य प्रति आना १ लाख २५ हजार रूपैयाँदेखि ८ लाख ९० हजार रूपैयाँसम्म मूल्यांकन गरिएको छ । जहाँ बाटो नभएको ठाउँका जग्गाहरू १ लाख २५ हजार रुपैयाँमा उपलब्ध छन् भने गोरेटो बाटो भएको ठाउँको जग्गाको मूल्य प्रति आना २ लाख ५० हजार रुपैयाँ र बाटो नभएको ठाउँमा १ लाख २५ हजार रुपैयाँ तोकिएको छ ।
हरिसिद्धिमा जग्गाको मूल्यांकन प्रति आना १ लाख ८० हजार रूपैयाँदेखि १२ लाख २० हजार रूपैयाँसम्म गरिएको छ । मुल पिच सडकसँग जोडिएका जग्गाको मूल्य १२ लाख २० हजार रुपैयाँ रहेको छ । बाटो नभएको ठाउँको जग्गा भने १ लाख ८० हजार रुपैयाँमा उपलब्ध रहेका छन् ।
सुनाकोठीमा चापागाउँ जाने मूल पिच जोडिएका जग्गाको मूल्य प्रति आना १४ लाख ८० हजार रुपैयाँ तोकिएको छ । कच्ची सडक जोडिएका जग्गाहरू ६ लाख ५० हजार, गोरेटो बाटो जोडिएका जग्गा ३ लाख २५ हजार र बाटो नभएका जग्गाहरू १ लाख ७० हजार रुपैयाँमा उपलब्ध छन् ।
महालक्ष्मी नगरपालिकामा जग्गाको मूल्य
महालक्ष्मी नगरपालिका इमाडोलमा प्रति वर्गमिटर १५ हजार रूपैयाँदेखि ९० हजार रूपैयाँसम्म जग्गाको मूल्यांकन गरिएको छ । इमाडोल क्षेत्रमा मुल पिच सडक जोडिएको जग्गा प्रति वर्गमिटर ७० हजारदेखि ८० हजार रूपैयाँसम्म, सहायक सडक जोडिएको जग्गाको मूल्य प्रति वर्गमिटर ५० हजारदेखि ६५ हजार रूपैयाँसम्म मूल्यांकन गरिएको छ । कच्ची सडकतिर भएको जग्गाको मूल्य ४० हजारदेखि ४५ हजार रूपैयाँसम्म, गोरेटो बाटो भएको जग्गाको मूल्य २० हजारदेखि २५ हजार रूपैयाँसम्म र बाटो नभएको जग्गाको मूल्य प्रति वर्गमिटर १५ हजार रूपैयाँदेखि २० हजार रूपैयाँसम्म तोकिएको छ ।
महालक्ष्मी नगरपालिका टिकाथलीमा मुल पिच सडक जोडिएको जग्गाको मूल्यांकन ५० हजार रूपैयाँदेखि ६५ हजार रूपैयाँसम्म निर्धारण गरेको छ । सहायक पिच सडकसँग जोडिएको जग्गा प्रति वर्गमिटर ४५ हजार रूपैयाँसम्म, कच्ची सडकमा रहेको जग्गाको ३० हजार, गोरेटो बाटो भएको १५ हजार रुपैयाँ र बाटो नभएको ठाउँको जग्गाको ७ हजार रुपैयाँ मूल्यांकन गरिएको छ ।
सानागाउँमा जग्गाको मूल्यांकन प्रति आना साढे १ लाख रूपैयाँदेखि १० लाख रूपैयाँसम्म मूल्यांकन गरिएको छ । लुभु जाने पिच सडक जोडिएका जग्गाको मूल्य प्रति आना ९ लाखदेखि साढे १० लाख रूपैयाँसम्म निर्धारण गरिएको छ । त्यस्तै अन्य पिच सडक जोडिएको जग्गा प्रति आना ७ लाख २० हजार रूपैयाँदेखि ८ लाख रूपैयाँसम्म तोकिएको छ । गोरेटा बाटो भएका जग्गाको मूल्य प्रति आना साढे तीन लाखदेखि चार लाख रूपैयाँसम्म र बाटो नभएको जग्गाको मूल्य साढे एक लाख रुपैयाँ निर्धारण गरिएको छ ।
लुभुतिरको जग्गाको मूल्य १ लाख ९० हजार रूपैयाँदेखि १० लाख रूपैयाँसम्म मूल्यांकन गरिएको छ । लुभु नगर विकास आयोजनाका विकसित घडेरीको मूल्य १० लाख रूपैयाँसम्म तोकिएको छ । त्यस्तै मूल पिच सडक जोडिएको जग्गाको मूल्य प्रति आना ६ लाख ७५ हजार रुपैयाँ, कच्ची सडक भएको तिर प्रति आना ५ लाख २० हजार, गोरेटो बाटो भएको ठाउँमा तीन लाख ५० हजार रुपैयाँ र बाटो नभएको जग्गाको १ लाख ९० हजार रुपैयाँ मूल्यांकन गरिएको छ ।
महालक्ष्मी नगरपालिकाको लामाटारमा पनि २५ हजार रूपैयाँदेखि जग्गा उपलब्ध छन् । लामाटारमा मूल पिच सडकसँग जोडिएको जग्गा प्रति आना ७ लाख ८० हजार रुपैयाँ तोकिएको छ । सहायक पिच सडक जोडिएको जग्गाको मूल्य ५ लाख ६० हजार, कच्ची सडक जोडिएको जग्गाको मूल्य चार लाख, गोरेटो बाटो जोडिएको जग्गाको मूल्य ३ लाख ५० हजार रुपैयाँ र बाटो नभएको १ लाख २५ हजार रुपैयाँ रहेको छ ।
लामाटारकै लाकुरी भञ्ज्याङभन्दा बाहिर पर्ने जग्गाको मूल्य कच्ची सडक भएको ठाउँमा भएकोलाई प्रति आना एक लाख ५० हजार रुपैयाँ र बाटो नभएको ठाउँको जग्गाको मूल्य २५ हजार निर्धारण गरिएको छ ।