काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन नगर्न आग्रह गरेको छ।
प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै दूरसञ्चार ऐन, २०५३ को दफा २१ बमोजिम कसैले पनि अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था रहेकाले अनुमति लिएर मात्र सेवा सञ्चालन गर्न आग्रह गरेको हो ।
प्राधिकरणबाट अनुमति प्राप्त नगरी इमेल इन्टरनेट सेवा सञ्चालन गरिरहेको र भइरहेको पाइएमा दूरसञ्चार ऐन, २०५३ तथा प्रचलित कानुनबमोजिम कारबाही हुने सूचनामा उल्लेख गरेको छ ।
प्राधिकरणले अनुमतिपत्र प्राप्त नगरी गैरकानुनी रूपमा कसैले पनि इन्टरनेट सेवा सञ्चालन गरेको वा वितरण गरेको फेला परेमा खबर गर्न समेत अनुरोध गरेको छ ।
