गुगल, मेटा, लिंक्डइनसहित १८ कम्पनी दर्ता, उठायो ४१ करोड रुपैयाँ बढी कर

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जाल दर्ताको विषय चर्चामा रहेका बेला गुगल, मेटा, लिंक्डइन लगायत १८ कम्पनीबाट सरकारले ४१ करोड रुपैयाँ बढी कर संकलन गरेको छ । महालेखापरीक्षको ६२औँ प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा विभिन्न १५ करदाताबाट ४१ करोड ७ लाख २० हजार कर सङ्कलन भएको हो । 

साथै, आर्थिक वर्ष २०७९/८० मा मूल्य अभिवृद्धि करसमेत १० करोड ८४ लाख २९ हजार कर सङ्कलन भएको थियो । आर्थिक ऐन, २०७९ को दफा २० मा गैरबासिन्दा व्यक्तिले नेपालका उपभोक्तालाई उपलब्ध गराएको विद्युतीय सेवाको कारोबार मूल्यमा २ प्रतिशतका दरले विद्युतीय सेवा कर लगाउने व्यवस्था गरेको छ ।

ठूला करदाता कार्यालयबाट प्राप्त विवरणअनुसार २०८०÷८१ सम्म गुगल, मेटा, लिंक्डइन, माइक्रोसफ्ट, अमेजन लगायतका १८ कम्पनी दर्ता भएका छन् । यस्तो कारोबार गर्ने सबै गैरबासिन्दा व्यक्तिलाई करको दायरामा ल्याउनुपर्ने महालेखाको सुझाव छ । 
 

Share News