९ दूरसञ्चार सेवा प्रदायक संस्थाले सरकारलाई तिरेनन् रोयल्टी र जरिवानावापत १३ करोड रुपैयाँ

काठमाडौं । ९ दूरसञ्चार सेवा प्रदायक संस्थाले सरकारलाई रोयल्टी र जरिवानावातपको  रकम नबुझाएको पाइएको छ ।

बुधबार महालेखापरीक्षकले सार्वजनिक गरेको ६२ औं वार्षिक प्रतिवेदनका अनुसार आव २०८०/८१ मा  ९ दूरसञ्चार सेवा प्रदायक संस्थाले १३ करोड ७ लाख रुपैयाँ तिर्न बाँकी रहेको छ । महालेखाले उक्त रकम असुल्न सरकालाई भनेको छ ।

त्यस्तै ७ सेवा प्रदायकले ग्राहकसँग मर्मत तथा विभिन्न शुल्क बापत प्राप्त गरेको आम्दानीको रोयल्टी र जरिमानासमेत १ करोड ४२ लाख ५४ हजार छुट भएको देखिएकोले उक्त रकम असुल गर्नुपर्ने उल्लेख गरिएको छ ।

दूरसञ्चार नियमावली, २०५४ को नियम ३१ बमोजिम रेडियो फ्रिक्वेन्सी दस्तुर प्रत्येक वर्ष समाप्त भएको ६ महिनाभित्र भुक्तानी गर्नुपर्ने, न्यूनतम फ्रिक्वेसी बाहेक थप फ्रिक्वेन्सी, अधिकतम फ्रिक्वेन्सी र भिस्याटको दस्तुर प्रत्येक आर्थिक वर्षको लागि सो आर्थिक वर्ष सुरु भएको ३ महिनाभित्र अग्रिम भुक्तानी गर्नुपर्ने छ ।  नगरेमा बाँकी दस्तुरमा थप दस्तुरसमेत लाग्ने व्यवस्था छ ।

त्यसैगरी आव २०८०/८१ मा १ सेवा प्रदायकले बुझाउनुपर्ने फ्रिक्वेन्सी तथा भिस्याट दस्तुरबापत २४ करोड ३४ लाख दाखिला गर्न बाँकी देखिएकाले असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरेको छ ।

Share News