काठमाडौं । एनसेल डेटा सेन्टर र क्लाउड सेवा प्रदायकका रूपमा सूचीकृत हुने पहिलो र एकमात्र नेपाली कम्पनी बनेको छ । सूचना प्रविधि विभागले आइतबार एनसेललाई डेटा सेन्टर सेवा प्रदायक र क्लाउड सेवा प्रदायकका रूपमा सूचीकृत गरेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत सूचना प्रविधि विभागले डेटा सेन्टर तथा क्लाउड सेवा (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका २०८१ मा भएको कानुनी व्यवस्था बमोजिम एनसेललाई सूचीकृत गरेको हो ।
विभागले कम्पनीको प्रत्यक्ष निरीक्षण र कम्पनीबाट पेश भएको निवेदन तथा कागजातहरूको गहन अध्ययन गर्दा तोकिएको सञ्चालन मापदण्ड तथा सुरक्षा प्रावधानहरू पालना गरिएको देखिएकाले सूचीकृत गरेको जनाएको छ ।
निर्देशिका अनुसार सञ्चालनमा रहेका डेटा सेन्टर तथा क्लाउड सेवा प्रदायकहरूले ६ महिनाभित्र विभागमा सूचिकृत भइसक्नुपर्ने प्रावधान छ । एनसेलले सो अवधि अगावै आफूलाई सूचीकृत गराएको हो ।
यो निर्देशिका २०८१ माघ १५ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको मन्त्रिस्तरीय निर्णयबाट स्वीकृत भई कार्यान्वयनमा आएको हो । यसले सेवा प्रदायकहरूका लागि सुरक्षा, गोपनीयता, पूर्वाधारलगायतका महत्वपूर्ण क्षेत्रमा नियम निर्धारण गरेको छ ।
डेटा सेन्टर र क्लाउड सेवा सञ्चालनका लागि छुट्टाछुट्टै सूचीकृत हुनुपर्ने व्यवस्थाअनुसार एनसेलले दुवै सेवाका लागि छुट्टाछुट्टै सूचीकरण गराएको हो । अब एनसेल नयाँ कानुनी व्यवस्थाअनुसार यी सेवाहरू सहज रूपमा प्रदान गर्न सक्ने पहिलो तथा एकमात्र कम्पनी बनेको छ ।
हाल एनसेलको ललितपुर, नख्खुमा बैंक, सरकारी निकाय र ठूला व्यावसायीक संस्थाले प्रयोग गर्न सक्ने अत्याधुनिक टियर थ्री डेटा सेन्टर सञ्चालनमा छ । त्यस्तै, पोखरा र हेटौडामा गरी दुई वटा डिजास्टर रिकभरी डेटा सेन्टरहरू सञ्चालनमा छन् ।
एनसेलका चीफ बिजनेस अफिसर डिओन एसेन्सिओ भन्छन्, 'हामीले साइबर सुरक्षा र डेटा गोपनीयतालाई उच्च प्राथमिकतामा राख्दै अन्तर्राष्ट्रिय मापदण्डअनुसार काम गरेका छौं, त्यसैले सूचीकरण प्रक्रिया सहज भयो। सूचीकृत भई सरकारबाट मान्यता पाउने पहिलो र एकमात्र कम्पनी बनेकोमा हामी खुसी छौं ।'
सूचीकरण प्रक्रियामा विभागले आगलागी सुरक्षाको सुनिश्चितता, सुरक्षा तथा गोपनीयता नीति, व्यवसाय निरन्तरता योजना, डेटा सेन्टरको टियर, आईपी पूल लगायतका विवरणहरूको गहन अध्ययन गरेको थियो ।
सरकारले सूचना प्रविधि प्रणालीलाई भरपर्दो, सुरक्षित र प्रभावकारी रूपमा सञ्चालन गर्न निर्देशन जारी गरेको हो। डेटा सेन्टर तथा क्लाउड सेवा प्रदायकको सूचीकरणले यस क्षेत्रको नियमन, पारदर्शिता र साइबर सुरक्षालाई सुदृढ बनाउने अपेक्षा गरिएको छ ।