काठमाडौं । नेपाल टेलिकमले २०८१ सालको एसईई परीक्षार्थीहरूका लागि ‘एसईई अफर २०८१’ ल्याएको छ । यस योजनाअन्तर्गत, एसईई परीक्षामा सहभागी भएका विद्यार्थीहरूले मात्र २० रुपैयाँमा नयाँ सिमकार्ड प्राप्त गर्न सक्नेछन् । पहिले नै टेलिकमको सिम प्रयोग गरिरहेका परीक्षार्थीहरूले पनि यही अफर उपभोग गर्न सक्ने कम्पनीले जनाएकाे छ ।
उक्त सिमकार्ड नेपाल टेलिकमका देशभरिका कार्यालयबाट उपलब्ध हुने व्यवस्था मिलाइएको छ । सिमकार्ड एक्टिभ गरिसकेपछि ३० दिनसम्मका लागि विभिन्न अफर उपलब्ध हुनेछन् ।
नयाँ सिम प्राप्त गरेका परीक्षार्थीले सिमकार्डमा मेन ब्यालेन्सका रूपमा उपलब्ध हुने ९.८० बाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सक्नेछन् ।यस अतिरिक्त ३० दिनसम्मका लागि प्रतिदिन टेलिकमको नेटवर्कभित्र कुराकानी गर्न २० मिनेट अन–नेट भ्वाइस सेवा, १० वटा अन–नेट एसएमएस र ५०० एमबी डाटासमेत अफर अन्तर्गत उपलब्ध हुनेछ भने प्रत्येक दिन प्राप्त हुने रिसोर्स सोही दिनका लागि मात्र कायम रहने टेलिकमको भनाइ छ ।
नयाँ सिम पाउन विद्यार्थीले एसईईको प्रवेश पत्र, कक्षा १० को कुनै मार्कसिटको फोटोकपी, एकप्रति फोटो, आफ्नो वा अभिभावकको नागरिकता वा अरू परिचयपत्रको फोटोकपी लगायत सरकारी परिचयपत्रको फोटोकपी संलग्न गरी फाराम भर्नुपर्ने छ ।
यस अफर अन्तर्गत उपलब्ध हुने बोनस अन रिचार्जमा ५० वा त्यसभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा ५०० एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्कभित्र ५० मिनेट कल गर्न र ५० वटा अन–नेट एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्ध हुनेछ ।
रिचार्जमा प्राप्त हुने बोनस प्राप्त भएको तीन दिनभित्र प्रयोग गरिसक्न पनि टेलिकमले जानकारी गराएको छ ।
यस अफर २०८१ चैत १५ देखि २०८२ असार ३० सम्म मात्र उपलब्ध हुनेछ । नेपाल टेलिकमले विद्यार्थीहरूलाई डिजिटल युगमा सशक्त बनाउन र टेलिकम सेवाको पहुँच वृद्धि गर्न यो विशेष योजना ल्याएको हो ।