
social media
काठमाडौं । सरकारले सामाजिक सञ्जाल सञ्चालन गरेका वा गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थालाई ३० दिनभित्र सूचीकृत हुन आग्रह गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक सूचना जारी गर्दै हाल सञ्चालनमा रहेका यस्ता सामाजिक सञ्जाल ३० दिनभित्र दर्ता नभए नेपालभित्र सञ्चालनमा रोक लगाउने जानकारी दिएको हो ।
सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को व्यवस्थामा टेकेर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना निकालेको हो ।
उक्त निर्देशिकाको दफा ३ मा सामाजिक सञ्जाल सञ्चालन गरेका वा गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले मन्त्रालयमा सूचीकरणका लागि आफैँ वा आफ्नो प्रतिनिधिमार्फत सोही निर्देशिकाको अनुसूची–१ बमोजिमको ढाँचामा तोकिएका कागजात संलग्न गरी निवेदन दिनुपर्ने व्यवस्था रहेको छ ।
उल्लेखित व्यक्ति, कम्पनी वा संस्थाले नेपालभित्र सम्पर्क विन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियमन परिपालनको निगरानी गर्ने अधिकारीको व्यवस्था गर्नुपर्ने प्रावधान समेत निर्देशिकामा रहेको छ ।
उल्लेखित कानुनी व्यवस्था अनुसार हालसम्म भाइबर, टिकटक र सारांश मिडिया ल्याव (वीटक) यस मन्त्रालयमा सूचीकरण भई सञ्चालनमा रहेका छन् ।
उल्लेखित बाहेक नेपालभित्र सञ्चालनमा रहेका अन्य सम्पूर्ण सामाजिक सञ्जाल प्लेटफर्मले निर्देशिकाबमोजिम ३० दिनभित्र मन्त्रालयमा सूचीकरण गर्न मन्त्रालयले जनाएको छ ।
‘नेपालभित्र सम्पर्कबिन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियमन परिपालनको निगरानी गर्ने अधिकारीको समेत व्यवस्था गर्नुहुन यसै सूचना मार्फत सम्बन्धित सबैमा जानकारी गराइन्छ । तोकिएको समय भित्र सूचीकरण हुन नआउने सामाजिक सञ्जाल प्लेटफर्मलाई निर्देशिकाको दफा ३ को उपदफा (७) बमोजिम मन्त्रालयले नेपालभित्र सञ्चालनमा रोक लगाउन सक्ने ब्यहोरा समेत जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ।