
काठमाडौं । नेपाल टेलिकमले अबदेखि इन्टरनेट सेवा प्रदायक आईएसपी, केबल र टीभी सेवा प्रदायकले आधिकारिक सम्झौता नगरी र भाडा नतिरी पोल प्रयोग गर्न नपाउने भएका छन् ।
बुधबार एक सूचना जारी गर्दै टेलिकमले आफ्ना पोल प्रयोग गरिरहेका सम्पूर्ण केबुल र टिभी सञ्चालक तथा इन्टरनेट सेवा प्रदायकहरूलाई पोल गणना काममा आफ्ना प्रतिनिधिसहित अनिवार्य रूपमा चैत्र १० गतेभित्र सम्पर्क गर्न आग्रह गरेको छ ।
नेपाल टेलिकमको नजिकको कार्यालय वा प्रादेशिक निर्देशनालयमा सम्पर्क गर्न सम्बन्धित सबैमा अनुरोध गरेको समेत गरेको हो।
सूचनामा भनिएको छ, ‘पोल प्रयोग गर्ने सम्पूर्ण केबुल र टिभी सञ्चालक तथा इन्टरनेट सेवाप्रदायकहरूले कम्पनीसँग अनिवार्य सम्झौता गर्नु हुन तथा सम्झौता वा भाडा भुक्तानी नगरी पोलहरू प्रयोग गर्ने सेवा प्रदायकहरूको केबुलहरू यस कम्पनीले कुनै पनि समयमा हटाउन सक्ने र सोबाट उत्पन्न हुने परिस्थितिका लागि सेवाप्रदायक नै जिम्मेवार हुने बेहोरासमेत जानकारी गराइन्छ ।’
सम्झौता वा भाडा नतिरी पोल प्रयोग गरेको खण्डमा कम्पनीले कुनै पनि बेला हटाउन सक्ने र त्यसको जिम्मेवारी सम्बन्धित सेवा प्रदायक कम्पनी नै हुने टेलिकमले जनाएको छ ।
आधिकारिक रुपमा सम्झौता नगरी तथा भाडा नतिरी पोल प्रयोग गरे कारबाही हुने चेतावनी समेत टेलिकमले दिएको छ ।