काठमाडौं । नेपाल टेलिकमले नायिका स्वस्तिमा खड्कालाई कम्पनीको ‘ब्रान्ड एम्बेस्डर’ नियुक्त गरेको छ । नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा सोमबार आयोजित एक कार्यक्रममा सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झौतापत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) का साथै कलाकार स्वस्तिमा खड्काले हस्ताक्षर गरे ।
सो अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले नेपाली चलचित्र क्षेत्रको ख्यातिप्राप्त कलाकारसँगको सहकार्यले कम्पनीका सेवाहरूको प्रवर्धन एवम् बजारीकरण कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै कम्पनीसँग आवद्धता तथा सहकार्यका लागि अभिनेत्री खड्काप्रति आभार प्रकट गरिन् ।
कार्यक्रममा ब्रान्ड एम्बेस्डर खड्काले नेपाल टेलिकम जस्तो गरिमामय एवम् सुपरिचित संस्थासँग आवद्ध हुन पाउँदा खुसी व्यक्त गरिन् । उनले ब्रान्ड एम्बेस्डरको रूपमा कम्पनीको हित अभिवृद्धि हुने गरी कार्य गर्ने प्रतिवद्धतासमेत व्यक्त गरिन् ।