
काठमाडौं । डीपसीकका संस्थापक लिआङ वेनफेङलाई पश्चिमी मिडियामा कतिपयले ‘चीनको साम अल्टम्यान’ भनेर उल्लेख गरेका छन् । तर सिलिकन भ्यालीका समकक्षीभन्दा फरक लिआङले सार्वजनिक रूपमा निकै कम उपस्थिति जनाएका छन्।
लिआङको टोलीमा देशका प्रमुख विश्वविद्यालयबाट ग्र्याजुएट गरेका युवा छन्, तर उनीहरू पनि कम चिनिन्छन् । चिनियाँ सरकारी मिडियाका अनुसार टोलीमा १४० जनाभन्दा कम सदस्यहरू छन्, यद्यपि यसको पछिल्लो आर वान रिसनिङ मोडेलमा प्रकाशित अनुसन्धानपत्रमा करिब २०० जनाको नाम उल्लेख छ ।
डीपपसीकको चर्चित एआईका पछाडिका मानिसहरू को हुन् र यो स्टार्टअप कसरी अस्तित्वमा आयो भन्ने बारे संक्षिप्त रूपमा जानकारी गराउने प्रयास यहाँ हुँदैछ ।
लिआङ वेनफेङ
हालैका साताहरूमा डीपसीकको च्याटबट विश्वव्यापी एप चार्टमा शीर्ष स्थानमा पुगेपछि लिआङ मिडियामा व्यापक रूपमा चर्चित भएका छन् ।
गत महिना उनले आफ्नो जन्मस्थल चीनमा ‘नायकजस्तो स्वागत’ पाएको खबर छ । उनलाई चिनियाँ प्रधानमन्त्री ली छ्याङले आयोजना गरेको गोलमेच बैठकमा देखिएको थियो र यसै हप्ताको सुरुमा राष्ट्रपति सी जिनपिङद्वारा आयोजित एक गोप्य बैठकमा पनि उपस्थित भएको बताइएको छ ।
४० वर्षीय लिआङ प्रायः मिडियाबाट टाढा रहन्छन् । उनले केवल दुई पटक मात्र चिनियाँ मिडिया आउटलेट ‘थर्टी सिक्स केआर’लाई अन्तर्वार्ता दिएका छन्– एक पटक जुलाई सन् २०२३ मा र अर्को पटक पनि २०२३ मै ।
यी अन्तर्वार्ताहरूले उनलाई एक आदर्शवादी नेताका रूपमा चित्रण गर्छन्, जसले ‘आर्टिफिसियल जनरल इन्टेलिजेन्स’ (एजीआई) हासिल गर्ने लक्ष्य राखेका छन्– यस्तो एआई जसले मानव क्षमताको नक्कल गर्न सक्छ– र उनी चीनलाई प्रविधि नवप्रवर्तनकर्ताको रूपमा स्थापित गर्न चाहन्छन् ।
१९८५ मा जन्मिएका लिआङ दक्षिणी चीनको झानजियाङ सहरमा हुर्किए । उनी एक उत्कृष्ट विद्यार्थी थिए, विशेष गरी उनले गणितमा असाधारण प्रतिभा देखाउँथे ।
हाई फ्लायर फण्ड म्यानेजर
२०१५ मा लिआङले आफ्ना कलेजका साथी जिन सुसँगै हाई–फ्लायर एसेट म्यानेजमेन्ट स्थापना गरे, जुन एक क्वान्टिटेटिभ हेज फन्ड हो ।
हेज फन्ड एक प्रकारको निजी लगानी कोष हो, जसले उच्च प्रतिफल प्राप्त गर्ने उद्देश्यले विभिन्न लगानी रणनीतिहरू अपनाउँछ ।
सु झेजियाङ विश्वविद्यालयको चू कोचेन अनर्स कलेजका स्नातक हुन्, जुन विश्वविद्यालयका उत्कृष्ट विद्यार्थीहरूको चयन गर्छ । उनले ‘रोबोट अटोनोमस नेभिगेसन एन्ड मेसिन लर्निङ’मा आफ्नो पीएचडी पूरा गरेका थिए ।
त्यस्तै, हाई–फ्लायरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) झेङझे लु पनि लिआङ र सुजस्तै झेजियाङ विश्वविद्यालयका स्नातक हुन् । पछि उनले लन्डन स्कूल अफ इकोनोमिक्सबाट मास्टर्स डिग्री प्राप्त गरे ।
२०२३ मा लुले भनेका थिए, ‘हामीले अलग एउटा नयाँ टोली स्थापना गरेका छौं, जुन ‘दोस्रो स्टार्टअप’ बराबर हो ।’
र यिनै टोलीले पछि डीपसीकको रूपमा विकास गर्यो ।
डीपसीक पछाडिको मुख्य मस्तिष्कहरू
२०२३ मा हाई–फ्लायरले डीपसीकलाई एक स्वतन्त्र कम्पनीका रूपमा छुट्यायो, जसले लगानीभन्दा पर गएर एजीआई हासिल गर्न केन्द्रित हुन थाल्यो ।
डीपसीकको टोलीमा मुख्य रूपमा चीनका प्रतिष्ठित विश्वविद्यालयहरू– जस्तै सिङ्ह्वा विश्वविद्यालय र पेकिङ विश्वविद्यालयका स्थानीय इन्जिनियरिङ, कम्प्युटर विज्ञान र एआई स्नातकहरू छन् ।
टोलीका केही सदस्यहरू अमेरिकी विश्वविद्यालयका स्नातक हुन्, जसले पहिला एनभीडीया र माइक्रोसफ्टमा अनुभव प्राप्त गरिसकेपछि चीनको बढ्दो एआई उद्योगमा फर्किन रोजेका छन् ।
एक प्रमुख विशेषता भनेको डीपसीकले कम अनुभव भएका युवाहरूलाई प्राथमिकता दिन्छ । ‘हामी अनुभवभन्दा मौलिक क्षमता, सिर्जनात्मकता र उत्साहलाई महत्त्व दिन्छौं,’ लिआङले २०२३ मा भनेका थिए ।
२०२४ मा उनले भनेका थिए, ‘शीर्ष ५० एआई प्रतिभा अहिले चीनमा नभए पनि हामी आफ्नै प्रतिभा विकास गर्न चाहन्छौं ।’
डीपसीकमा युवा प्रतिभा आकर्षित हुनुको अर्को कारण उच्च पारिश्रमिक र स्वतन्त्र कार्यसंस्कृति हो, जुन अन्य ठूला प्रविधि कम्पनीहरूमा भेट्न कठिन छ । (एजेन्सीहरूको सहयोगमा)