काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सबैभन्दा ठूलो वार्षिक प्रदर्शनी ‘क्यान इन्फोटेक २०२५’ सफलतापूर्वक सम्पन्न भएको छ ।
कम्प्युटर एशोसिएसन नेपाल महासङ्घ (क्यान) द्वारा आयोजित ३० औँ संस्करण काठमाडौँको भृकुटीमण्डपमा यही माघ २४ देखि २८ गतेसम्म सञ्चालन भएको थियो ।
सूचना प्रविधि क्षेत्रमा नवप्रवर्तन, स्टार्टअप तथा प्रविधिप्रेमीहरूलाई एउटै मञ्चमा ल्याउने उद्देश्यसहित आयोजित प्रदर्शनीको उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका थिए । सरकारका उच्च अधिकारी, व्यवसायी, नीति निर्माता, विद्यार्थी तथा प्रविधिप्रेमीको उल्लेख्य सहभागिता रहेको यस संस्करणले डिजिटल नेपाल निर्माणलाई नयाँ गति दिएको आयोजकले जनाएको छ ।
‘मेसिन लर्निङ’मा आधारित एआई प्रविधि, स्वदेशी सफ्टवेयर, सेल्फ–ड्राइभिङ कार प्रविधिलगायत परियोजनाहरू अवलोकनकर्ताको मुख्य रोजाइमा परेको थियो । प्रदर्शनीमा आएका विज्ञ तथा सरोकारवालाहरूले नेपाली एआई प्रविधिलाई विश्वव्यापी रूपमा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए ।
क्यान महासङ्घका अध्यक्ष सुनैना घिमिरे पाण्डेले सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकारसँग सहकार्य गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनका अनुसार महासङ्घले ‘डेटा प्रोटेक्सन’ ऐन, ‘राइड शेयरिङ’ नीति, एआई प्रविधिका लागि आवश्यक तथ्याङ्क व्यवस्थापन तथा वैदेशिक लगानीसम्बन्धी ऐनमा संशोधन गर्नेलगायत विषयलाई प्राथमिकतामा राखेर नीति निर्माण प्रक्रिया अघि बढेको छ ।
यस संस्करणको क्यान इन्फोटेकमा दुई लाख बढीले अवलोकनकर्ताले अवलोकन गरेका आयोजकले जनाएको छ । प्रदर्शनीमा विभिन्न कम्पनीहरूले आफ्नो प्रविधि तथा सेवाको प्रदर्शन गर्ने उद्देश्यले एक सय ५५ प्रदर्शनी कक्ष राखिएको थियो । ती कम्पनीले उपभोक्तासँग अन्तरक्रिया, प्रविधि परीक्षण तथा विभिन्न प्रस्तावमार्फत सेवाका बारेमा प्रवर्द्धन गरेका अध्यक्ष पाण्डेले बताए ।
उनका अनुसार मेलाको अन्तिम दिनसम्म उपभोक्ताले ३० देखि ७० प्रतिशतसम्म छुट तथा विशेष प्रस्ताव (अफर) प्राप्त गरेका छन् ।
क्यान महासङ्घका महासचिव चन्द्रविलास भुर्तेलका अनुसार यो संस्करणले नेपाली नवप्रवर्तन तथा सूचना प्रविधिको विकासमा नयाँ ऊर्जा थपेको छ । आगामी संस्करणलाई अझ प्रभावकारी बनाउन महासङ्घले प्रविधि शिक्षामा जोड दिने, डिजिटल साक्षरता अभिवृद्धि गर्ने, नीतिगत सुधारका लागि पहल गर्नेलगायत योजना बनाएको उन ले उल्लेख गरे ।