
काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले डिजिटल कारोबारलाई प्रवर्द्धन गर्न मोबाइल नम्बरको आधारमा हुने नेपालपे इन्स्टन्टको फण्ड ट्रान्सफर निःशुल्क गरेको छ ।
एनसीएचएल डिजिटल भुक्तानी पूर्वाधार स्थापना तथा प्रवर्द्धनमा लागि परेको १६ वर्ष हुँदै गरेको उपलक्ष्यमा ट्रान्सफर नि: शुल्क गरिएको हो ।
अब नेपालपे इन्स्टन्टको सुविधा उपलब्ध रहेको बैंक वित्तीय संस्थाका मोबाइल बैंकिङ ग्राहकहरू तथा कनेक्टआइपीएस प्रयोगकर्ताहरूले पौष १६ गतेसम्मका लागि नेपालपे इन्स्टन्टमार्फत बिना शुल्क ३१ बैंक वित्तीय संस्थाहरूमा फण्ड ट्रान्स्फर गर्न सक्नेछन्।
नेपालपे इन्स्टन्टमार्फत एक प्रोक्सीको आधारमा डाइरेक्ट क्रेडिट उपकरण हो, जसमा लाभग्राहीको भर्जुअल प्राइभेट एड्रेस (भीपीए)को आधारमा फण्ड ट्रान्सफर गर्न सकिन्छ, जुन लाभग्राहीको मोबाइल नम्बर रहेको छ ।
हाल नेपालपे इन्स्टन्टको सुविधा कनेक्ट आइपीएस तथा कृषि विकास बैंक, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, नेपाल एसबीआई बैंक, गरिमा विकास बैंक तथा साग्रिंला विकास बैंकका मोबाइल बैंकिङ एपहरूमा उपलब्ध रहेको छ ।