काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्थाले खुला प्रतिस्पर्धाबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) चयन गर्ने भएको छ । साविकको किसान लघुवित्त र साविकको जाल्पा सामुदायिक लघुवित्तबीच मर्जरपश्चात् बनेको मातृभूमि लघुवित्तले खुला प्रतिस्पर्धाबाट सीईओ चयन गर्ने भएको हो ।
लघुवित्तले बुधबार एक सूचना प्रकाशन गरी सीईओका लागि आवेदन आह्वान गरेको छ । इच्छुक योग्य व्यक्तिले निवेदनका साथ हालै खिचेको पासपोर्ट साईजको फोटो, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बायोडाटा, शैक्षिक तथा कार्य अनुभवको प्रमाणपत्रको प्रतिलिपिसहित साउन ९ गतेभित्र दरखास्त आवेदन दिन लघुवित्तले आग्रह गरेको हो ।
मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टड एकाउन्टेन्सी वा व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन, ग्रामीण विकास, कृषि, समाजशास्त्र वा कानुन विषयमा स्नातकोत्तर वा सो सरहको परीक्षा उत्तीर्ण गरेको व्यक्तिले आवेदन दिन सक्नेछन् । यस्तै कुनै पनि बैंक तथा वित्तीय संस्थामा अधिकृत वा सो भन्दा माथिको तहमा रही कम्तिमा १० वर्षको कार्यानुभव हासिल गरेको हुनुपर्नेछ ।
लघुवित्तको सीईओका लागि आवेदन दिँदा ४० वर्ष पुरा भई ६० वर्ष ननाघेको हुनुपर्ने छ । तलब तथा अन्य सुविधा आपसी समझदारीमा तय गरिने लघुवित्तले जनाएको छ ।
लघुवित्तका अनुसार व्यावसायिक योजना, प्रस्तुतिकरण तथा अन्तर्वार्ताका माध्यमबाट छनोट गरिनेछ । रितपुर्वक प्राप्त दरखास्तमध्ये शैक्षिक योग्यता तथा कार्यानुभका आधारमा सर्टलिष्टमा परेका आवेदकहरूलाई मात्र संस्थाको व्यवसायिक योजना, प्रस्तुतिकरण र अन्तर्वार्तामा सामेल गराईनेछ ।