
बागलुङ । जैमिनी नगरपालिका र ताराखोला गाउँपालिकामा खायन प्रजातिको आलु संरक्षण अभियान थालिएको छ । बजारमा तराईका आलुभन्दा अधिकांशले स्थानीय आलुको माग गर्छन् । त्यसैले स्थानीय तहकै लगानी र कृषि ज्ञान केन्द्रको प्राविधिक सहयोगमा आलु संरक्षणको काम भएको हो ।
जैमिनी–३ को नौला, गाजाको दह, नेपाने बस्तीमा आलु प्रशस्त फल्छ । त्यो आलुलाई व्यावसायिक बनाउन वडा तहमा पहल भएको हो । वडाको अभियानमा पालिकाले साथ दिएको वडा नं ३ का सचिव सिमाना छन्त्यालले बताए ।
यसअघि ताराखोला–४ र ५ मा खायन आलु संरक्षण अभियान सुरु भइसकेको छ। तराईबाट आउने आलु उपभोक्ताले मन पराउन छाडेपछि ग्रामीण आलुले बजार पाएको होटल व्यवसायी अर्जुन चोखाल बताउँछन् ।
बजारको चाहना बढेकाले उत्पादन बढाउन पहल भएको हो। बागलुङसहित छिमेकी जिल्लाका उपभोक्ताले अचेल ताराखोला, ढोरपाटन र गाजाको आलुको खोजी गर्छन् ।
यसअघि जैमिनी–३ का अधिकांश किसानले अन्नको पैँचोका लागि मात्र आलु प्रयोग गर्थे । अहिले भने बजारसम्म लैजान सहज हुने भएपछि व्यावसायिक रूपमा उत्पादन सुरु भएको हो। ‘अर्गानिक उत्पादन गर्ने र बजारमा पनि पठाउने योजनाअनुसार किसानले काम गर्नुभएको छ,’ वडा नं ३ का अध्यक्ष कृष्णबहादुर भुजेलले भने, ‘उत्पादनअनुसार अनुदानको पनि व्यवस्था छ ।’
पछिल्लो समय उत्पादनमा आधारित अनुदान पाउने गरी पालिका र ज्ञान केन्द्रले काम गरेका छन् ।
कृषि ज्ञान केन्द्र बागलुङका बागवानी विकास अधिकृत कुमार पुनले अग्र्यानिक खायन आलु विस्तार गर्न सकेमा बजारको कमी नहुने बताए । ‘हामीले अहिलेसम्म ताराखोलामा रासायनिक मल सिफारिससम्म गरेका छैनौँ,’ उनले भने, ‘अन्य केही तोकिएका स्थानमा पनि त्यो चलन छ ।’
बागवानी विकास अधिकृत पुनका अनुसार ताराखोलामा मात्रै ‘खायन आलु प्रवर्द्धन कार्यक्रम’ मा १५ समूहसँग सम्झौता गरेर अनुदान तथा आलु प्रवर्द्धनको कार्यक्रम सञ्चालन भएको छ ।
जैमिनीमा भने छन्त्याल कृषि समूहले यो काम गरेको हो । साथै अन्य किसानले पनि खायन आलुका लागि काम गरेका छन् । ज्ञान केन्द्रले उत्पादन पछि प्रतिकिलो दुई रूपैयाँ किसानलाई अनुदान दिने गरेको छ ।
कम्पोष्ट मल प्रयोग गर्दा आलुको गुणस्तर निकै राम्रो भएको पुनले बताए। किसानले आलुबाटै मनग्य कमाइ पनि गरेका छन् ।
आलुको बजारसमेत सजिलै पाइएकाले किसानले हरेक वर्ष उत्पादन बढाउने गरेको जनाइएको छ। घरबासका पाहुनालाई खुवाउनेदेखि कोसेली पठाउने काममा पनि ताराखोले आलु प्रयोग हुन्छ।