काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म ६ महिनामा ३ अर्ब ९३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ७.५९ प्रतिशतले कमी हो ।
समीक्षा अवधिसम्म कम्पनीले ३ अर्ब ९३ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिसम्म कम्पनीले ४ अर्ब २५ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको नाफामा ७.६० प्रतिशतको संकुचन आएको छ ।
गत वर्षको यही अवधिसम्मको तुलनामा समीक्षा अवधिसम्म कम्पनीको सञ्चालन र वित्तीय आम्दानी दुवै घटेको छ । अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १८ अर्ब ७ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेकोमा समीक्षा अवधिमा घटेर १७ अर्ब २४ करोड रुपैयाँमा खुम्चिएको छ ।
दोस्रो त्रैमाससम्म कम्पनीले ३ अर्ब ६१ करोड रुपैयाँ वित्तीय आम्दानी गरेको छ । गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी ३ अर्ब ९५ करोड रुपैयाँ भएको थियो । सञ्चालन र वित्तीय आम्दानी घट्दा पनि कम्पनीको नाफा प्रभावित भएको हो ।
कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी भने ६ करोड ६८ लाख रुपैयाँबाट बढेर ४४ करोड ६४ लाख रुपैयाँको उचाइमा पुगेको छ ।
चुक्तापुँजी १८ अर्ब रुपैयाँ रहेको कम्पनीको रिजर्भमा ७२ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । गत वर्ष रिजर्भमा ७५ अर्ब ९४ करोड रुपैयाँ रहेको थियो ।
नेपाल टेलिकमको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ४३.६८ रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष ईपीएस ४७.२८ रुपैयाँ थियो । पीई रेसियो २०.६२ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ५०३.७६ रुपैयाँ रहेको छ ।