काठमाडौं । बैतडीको डिलासैनी गाउँपालिका विगत चार वर्षदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन छ । निमित्त कर्मचारीलाई अधिकृतको जिम्मा दिएर सेवा प्रवाह गर्दै आएको उक्त गाउँपालिकामा हाल निमित्त कर्मचारी पनि नभएको अवस्था छ ।
पालिकामा आवश्यक कर्मचारी तथा अधिकृत नहुँदा पालिकामा कार्य सञ्चालन गर्नै समस्या हुन थालेको डिलासैनी गाउँपालिका अध्यक्ष सन्तोष प्रकाश जोशीले जानकारी दिए । उनका अनुसार डिलासैनी गाउँपालिका वि.सं. २०७६/७७ देखि प्रशासकीय अधिकृत विनै सञ्चालन हुँदै आइरहेको छ ।
‘हाम्रो गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत नभएको झण्डै चार वर्ष भयो, अधिकृत नभएपछि निमित्त कर्मचारीलाई प्रशासकीय अधिकृत बनाई काम गर्दै आएका थियौं । तर, हाल निमित्त कर्मचारी पनि पालिकामा नभएपछि गाउँपालिका प्रशासकीय अधिकृतविहीन भयो,’ उनले गुनासो गर्दै भने ।
अध्यक्ष जोशीले दशैंदेखि आर्थिक जिम्मेवारीको दायित्व नभएका कर्मचारी लिएर सेवा सञ्चालन गर्नुपर्ने बाध्यात्मक परिस्थितमा रहेको बताउँदै कर्मचारी नभएकाले पालिकाबाट हुनुपर्ने सेवा प्रवाह मूर्त रूप दिन नसकेको बताए । हाल डिलासैनी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत, भौतिक पूर्वाधार शाखामा इन्जिनियर र योजना शाखामा अधिकृत छैनन् ।
गाउँपालिका ७ वटा वडामध्ये तीन वडामा मात्र वडा सचिव छन् । बाँकी वडा कार्यालयमा प्राविधिक कर्मचारीलाई वडा सचिवको जिम्मेवारी दिएर काम चलाइरहेको पनि जोशीले बताए । संघीय मन्त्रालयमा कर्मचारी व्यवस्थापनका लागि पटक-पटक पहल गरे पनि सुनुवाइ नभएको उनको भनाइ छ ।
‘हामीले यहाँ दशैं अगाडि प्रमुख प्रशासकीय अधिकृत रंजय पटेललाई नियुक्त गरेका थियौं, उहाँ नियुक्त गरेको झण्डै डेढ महिनामा काठमाडौं नै बस्नुभयो । आएर काम थालेको छैठौं दिन सुरुवाको पत्र आएको बताउनुभयो’, ‘उनले भने, ‘उहाँले मलाई सरुवा पत्र मिलाउन केही रकम खर्च भएको बताउनुभयो, त्यसैले कर्मचारी सरुवा र व्यवस्थापनमा मन्त्रालयप्रति पनि आशंका छ ।’
यहाँ आउने कर्मचारीलाई स्थानीय बाजा गाजासहित स्वागत गरी राम्रोसँग काम गर्ने वातावरण मिलाउँदा पनि अधिकृतहरू पालिकामा बस्न नमानेको उनको गुनासो छ । उनका अनुसार बारम्बार कर्मचारी व्यवस्थापनका लागि मन्त्रालयमा ताकेता गरे पनि पहल भएको छैन ।
संघीय मन्त्रालयले गाउँपालिकामा तत्काल आवश्यक कर्मचारीको व्यवस्थापन गर्नुपर्ने माग उनको छ । ‘हामी काठमाडौंको सिंहदरबारबाट टाढा भएकै कारणले हो, या स्वतन्त्र भएकोले हो, हामीलाई कर्मचारी व्यवस्थापनमा समस्या भइरहेको छ, काम गर्न सकेनौं भन्ने ठाउँ पनि छैन, कर्मचारी नै नभएपछि काम कसरी हुन्छ,’ उनले भने ।