बालेन, हर्क र गोपी चर्चामा, गुमनाम छन् यी एक दर्जन स्वतन्त्र जनप्रतिनिधि

<p>काठमाडौं । वि.सं २०७९ बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन मार्फत् करिब एक दर्जन स्वतन्त्र उम्मेदवारले पालिकाको नेतृत्व गर्ने अवसर पाए । उम्मेदवार बनेदेखि हालसम्म तीनजना स्वतन्त्र उम्मेदवार मात्रै चर्चामा छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन), धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई र धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल (गोपी) अहिले चर्चामा छन् । उनीहरूलाई चर्चामा [&hellip;]</p>

काठमाडौं । वि.सं २०७९ बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन मार्फत् करिब एक दर्जन स्वतन्त्र उम्मेदवारले पालिकाको नेतृत्व गर्ने अवसर पाए । उम्मेदवार बनेदेखि हालसम्म तीनजना स्वतन्त्र उम्मेदवार मात्रै चर्चामा छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन), धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई र धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल (गोपी) अहिले चर्चामा छन् । उनीहरूलाई चर्चामा ल्याउने विषय नै उनीहरूको कामले हो ।

काठमाडौंका मेयर बालेनले काठमाडौंको फोहोर व्यवस्थापन, अव्यस्थित पार्किङ व्यवस्थापनका साथै अतिक्रमित जग्गा तथा भवन हटाउनेदेखि काठमाडौं सहर सुन्दर बनाउन खेलेको भूमिकाले उनी चर्चामा छन् । धरानका मेयर राई धरानवासीलाई पानीको सुविधा दिने, खाली ठाउँमा बोट विरुवा रोप्नेदेखि धरान बजारलाई व्यवस्थित बनाउका लागि गरेको पहलले चर्चामा छन् । धनगढीका मेयर हमालले पनि धनगढी उपमहानगरपालिकामा अतिक्रमित घर तथा जग्गा हटाउने, सडक चौडा बनाउने तथा सुन्दर धनगढी बजार बनाउनका लागि खेलेको भूमिकाले सर्वत्र चर्चामा छन् ।

अहिले यी तीन जना जनप्रतिनिधिको देश/विदेशमा चर्चा छ । धेरैले अब स्वतन्त्र उम्मेदवारको लहर चल्न सक्ने अनुमान गरिरहेका छन् । उनीहरूले निडर भएर काम गरिरहेको प्रशंसा गर्दै धेरैले उनीहरूलाई छुट्टै पार्टी खोल्न पनि सुझाव दिइरहेका छन् । स्वतन्त्र उम्मेदवार बनेर जनप्रतिनिधि बनेका यी तीनजना मात्रै होइनन् अन्य धेरै पालिकामा पनि स्वतन्त्र उम्मेदवारले जित हासिल गरेर पालिकाको नेतृत्व गर्ने अवसर पाएका छन् । तर, ती जनप्रतिनिधिको काम कारवाहीबारे न कुनै चर्चा हुन्छ नत कुनै सञ्चार माध्यमको प्राथमिकतामा उनीहरू पर्छन् ।

वि.सं २०७९ साल बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकामा मनोज कुमार साह, बर्दिबास नगरपालिकामा प्रहलादकुमार क्षेत्री, चन्दननाथ नगरपालिकामा राजु सिंह कठायत र खाँडाचक्र नगरपालिकामा कमल बहादुर शाहीले स्वतन्त्र उम्मेदवार बनेर पालिकाको नेतृत्व गर्ने अवसर पाए ।

यस्तै, मानेभन्ज्याङ गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दाली, डोल्पो बुद्ध गाउँपालिकामा कार्मा छोइवेल गुरुङ, सान्नी त्रिवेणी गाउँपालिकामा मोहन बहादुर केसी, चंखेली गाउँपालिकामा प्यारीलाल शाही र डिलासैनी गाउँपालिकामा सन्तोष प्रकाश जोशी स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भए ।

तर, यी स्वतन्त्र जनप्रतिनिधिहरूको न चर्चा छ नत उनीहरूले गरेको कामको विषयमा सञ्चार माध्यमले प्राथमिकता नै दिइरहेका छन् । हुन त स्थानीय तहमा स्वतन्त्र उम्मेदवार बनेर धेरै जनाले उपमेयर, वडा अध्यक्ष तथा वडा सदस्य भएर काम गरिरहेका छन् । यी जनप्रतिनिधिहरू मध्ये धेरै पार्टीले टिकट नदिएर स्वतन्त्र बनेका हुन् कतिपय स्वतन्त्र व्यक्ति नै उम्मेदवार बनेर निर्वाचित भएका हुन् ।

स्वतन्त्र जनप्रतिनिधिमध्ये केहीले जितिसकेपछि पनि पार्टीमा प्रवेश गरिसकेका छन् । पार्टीमा आबद्ध नभएर स्थानीय तहमा काम गर्न सकिँदैन भन्ने बुझाइ धेरै जनप्रतिनिधिको छ । धेरै स्वतन्त्र उम्मेदवारहरू आफूहरू सञ्चार माध्यममा नआए पनि राम्रो काम गरिरहेको दाबी गर्छन् ।

किन गुमनाम छन् स्वतन्त्र जनप्रतिनिधि ?

कोशी प्रदेशको ओखलढुङ्गामा रहेको मानेभन्ज्याङ गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र रुम्दाली नेपाली काँग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका हुन् । उनी विकासको एजेण्डा बनाएर काम अगाडि बढाउँदा स्वतन्त्र जनप्रतिनिधिलाई खासै असहज नहुने बताउँछन् । मानेभन्ज्याङका नागरीकले देख्ने र महसुस गर्ने गरी काम गर्नमा आफू सफल भएको उनको दाबी छ ।

‘हामीले गाउँपालिकामा दीगो कृषिको विकास गर्ने योजनाका साथ अगाडि बढेका छौं, रैथाने बाली, गाँजा खेती, लोकल रक्सी प्रवर्द्धनका लागि काम गरिरहेका छौं, ‘उनले भने, खानेपानी, स्वास्थ्य, सडक लगायत विकासका पूर्वाधार विकासमा काम गरिरहेका छौं ।’

उनी आफू प्रचार प्रसारमा भन्दा पनि आफ्नो काममा फोकस भएर लागिरहेको बताउँछन् । पालिकाको स्रोत साधनले भ्याएसम्म उत्कृष्ट काम गरेको उनको भनाइ छ । ‘हामीले गरेको कामको प्रचार प्रसार नगरेकाले गुमनाम भएका हौं, मिडिया पनि सहर केन्द्रित छन्, त्यसैले ग्रामिण भूभागमा भएका क्रियाकलापको उठान नभएको हो,’ उनले भने ।

दलबाट निर्वाचित भएर आएको प्रतिनिधिले भन्दा स्थानीय तहमा स्वतन्त्र उम्मेदवारबाट आएको प्रतिनिधिले धेरै काम गर्न सक्ने उनको धारणा छ । ‘दलबाट निर्वाचित भएर आएको मान्छेले धेरै जसो पार्टीका इसारामा चल्नु पर्ने हुन्छ, ‘उनले भने, ‘स्वतन्त्रबाट आएको व्यक्तिले कसैको दबाब बिना स्वस्फूर्त रूपमा काम गर्न सकिन्छ ।’

यस्तै, नेकपा एकिकृत समाजवादी पार्टीले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेपछि कर्णाली प्रदेशको कालीकोट जिल्लामा रहेको खाँडाचक्र नगरपालिकाका मेयर कमल बहादुर शाही स्वतन्त्र उम्मेदवर बनेको थिए । स्वतन्त्र उम्मेदवार भएर निर्वाचित भएपछि उनी पुनः उक्त पार्टीमा नै फर्किएर पालिकाको काम गरिरहेका छन् । स्वतन्त्र भएर स्थानीय तहमा काम गर्न नसकिने विषयलाई मनन् गर्दै आफू पुनः पार्टीमा प्रवेश गरेको उनी बताउँछन् ।

‘स्वतन्त्र भएरै चुनाव जितियो, पहिलादेखि नै एकीकृत समाजवादीमा भएकाले अहिले त्यही पार्टीमा आबद्ध छु, स्थानीय तहमा स्वतन्त्र भएर काम गर्नको लागि गाह्रो पर्ला भन्ने विषयलाई मध्यनजर गरेर सो निर्णय गरेको हुँ,’ उनले भने ।

काठमाडौं, धरान, धनगढीजस्तो ठाउँमा स्रोत साधन भएर पनि त्यहाँका जनप्रतिनिधिले राम्रो काम गर्न नसकेको उनको भनाइ छ । उनका अनुसार सो ठाउँमा राजनीतिक दलका प्रतिनिधि भएको भए अझै बढी काम गर्न सकिने उनको बुझाइ छ ।

‘म नगरको प्रमुख छु । तर, आफ्नै कामप्रति सन्तुष्ट छैन, यहाँ सीमित स्रोतसाधन छ, बजेट थोरै छ, तथापि अहिले शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएर काम गरेका छौं, सहरी क्षेत्रमा रहेर सुविधा सम्पन्न ठाउँमा बसेर स्वतन्त्रले काम गर्नु सामान्य हो,’ उनी भन्छन् ।

यस्तै, कर्णाली प्रदेशमै रहेको सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहन बहादुर केसी पनि नेकपा माओवादी केन्द्रले विश्वास नगरेपछि स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका थिए । तर, जितेपछि उनी पुनः पार्टीमै फर्किए । ‘म भूमिगत भएर आएको मान्छे हुँ, मेरो लगानी नै पार्टीमा भएकाले निश्चित मान्छेको चित्त नबुझ्दैमा भएको विषयलाई समग्र बलिदानलाई भुल्न नसकिने भएकाले पार्टीमा फर्किएको हुँ,’ उनले भने ।

जनताको इच्छा आकांक्षा धेरै भएको र स्रोत साधनले भ्याएसम्म आधारभूत आवश्यकता पुरा गर्दै काम गरिरहेको उनी बताउँछन् । उनका अनुसार विकास निर्माणका काममा पनि गाउँपालिका अग्रसर नै छ ।

बर्दिबास नगरपालिका मेयर प्रहालद कुमार क्षेत्री पनि नेपाली काँग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका हुन् । तर, उनी पनि अहिले पार्टीमै फर्किसकेका छन् ।

जनकपुर उपमहानगरपालिका मेयर मनोज कुमार शाह पार्टीले गठबन्धन गरेपछि स्वतन्त्र उम्मेदवार भएर स्थानीय तहमा निर्वाचित भएका थिए । निर्वाचित भएपछि उनी पनि पार्टीमै फर्के । तर, उनी अहिले कुनै पनि पार्टीलाई भन्दा पनि सबैलाई समान व्यवहार गरेर काम गरिरहेको बताउँछन् । उनका अनुसार उपमहानगरले छाडा चौपायाको लागि गौशाला निर्माण, बारा बिग्गा रंगभूमि मैदानका लागि डीपीआर गरेरअहिले त्यहाँ पार्किङ स्थलको रूपमा निर्माण गरिरहेको छ ।

बस स्टेशन निर्माणको लागि टेन्डर प्रक्रिया अगाडि बढाएको बताउँदै साहले एकीकृत सहरी विकास परियोजना (आईयूडीपी) सँग सम्झौता गरेर यही साता १८ अर्बको ऋण सम्झौता गरेको बताए ।

यस्तै, बैतडीको डिलासैनी गाउँपालिकाका अध्यक्ष सन्तोष प्रकाश जोशी पनि स्वतन्त्र उम्मेदवार बनेर नै पालिकामा निर्वाचित भएका थिए । तर, उनी कुनै पनि दलसँग आबद्ध नभएर विजयी भएका हुन् । उनी देशमा स्वतन्त्रको खाँचो भएको बताउँछन् ।

‘जनतासँग गरिएको प्रतिबद्धता राम्रोसँग कार्यान्वयन गर्न सके पार्टी आवश्यक पर्दैन, म अहिले जनताको सेवामा छु, गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता गाउँघरमै पुर्याइरहेको छ,’ उनले भने । उनले गाउँपालिकाभित्र विद्युतको पहुँच विस्तार भइरहेको बताउँदै शिक्षा स्वास्थ्यको गुणस्तर कायम गर्नको लागि पहल भइरहेको बताए ।

उनी काठमाडौं, धरान, धनगढीका मेयरसँग गाउँपालिको तुलना गर्न नमिल्ने बताउँछन् । ‘ उनीहरूलाई काम गर्न सहज छ, त्यही अनुसारको स्रोत, साधन तथा जनशक्ति छ, हाम्रो गाउँपालिकामा प्रशासकीय अधिकृत नभएको मात्रै झण्डै ४ वर्ष पुग्यो, हामीले अनेक समस्या भोग्नु परेको छ,’ उनले भने ।

Share News