काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स (नेप्स), भिसा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित भएको छ । भिसाद्वारा आयोजित गरिएको लिडरसिप कन्क्लेभ २०२३ मा नेप्सले पेमेन्ट प्रोसेसिङ्गमा उत्कृष्टताको लागि उक्त अवार्ड प्राप्त गरेको हो ।
कम्पनीका अनुसार गत वर्ष पनि नेप्स सोहि अवार्डबाट सम्मानित भएको थियो । यसरी लगातार दोस्रो वर्ष पनि उक्त अवार्डबाट समानित हुन पाउदा नेप्स गौरवान्वित छ ।
उक्त समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, अमेरिकी दूतावासका राजनीतिक तथा आर्थिक प्रमुख मार्क टेम्पलर, नेपालका लागि भिसाका प्रतिनिधि सौम्य बासु लगायत अतिथिको उपस्थिति थियो ।
नेप्सले बैंक तथा वित्तीय संस्थाहरुको लागि कार्ड मार्फत विद्युतीय भुक्तानी सम्बन्धि कार्य गर्ने साझा प्लेटफर्मको रुपमा विस्तारित हुँदै अन्य सेवाहरु पनि प्रदान गर्दै आईरहेको छ । हाल नेप्सले ११ वटा बैंक तथा वित्तीय संस्थाहरु लाई भिसा, मास्टरकार्ड तथा युनियन पे कार्ड संजालहरु मार्फत कारोवारका लागि होस्टिंग र स्विचिंग सेवा समेत प्रदान गर्दै आइरहेको छ ।