टिकटक प्रतिबन्धको निर्णय कार्यान्वयन गर्न दूरसञ्चार प्राधिकरणद्वारा समिति गठन

<p>काठमाडौं । टिकटक सञ्चालनमा रोक लगाउने सरकारको निर्णय प्रभावकारी कार्यान्वयनका लागि नेपाल दूरसञ्चार प्राधिकरणले प्राविधिक समिति गठन गरेको छ । दूरसञ्चार प्राधिकरणको शुक्रबार बसेको बैठकले निर्देशक विजयकुमार रायको नेतृत्वमा चार सदस्यीय प्राविधिक समिति गठन गरेको हो । समिति सदस्यमा इन्टरनेट सेवा प्रदायकहरूको संस्था (आएस्पान) का अध्यक्ष सुधीर पराजुली, नेपाल सरकार सञ्चार मन्त्रालयका प्रतिनिधि र सदस्य [&hellip;]</p>

काठमाडौं । टिकटक सञ्चालनमा रोक लगाउने सरकारको निर्णय प्रभावकारी कार्यान्वयनका लागि नेपाल दूरसञ्चार प्राधिकरणले प्राविधिक समिति गठन गरेको छ ।

दूरसञ्चार प्राधिकरणको शुक्रबार बसेको बैठकले निर्देशक विजयकुमार रायको नेतृत्वमा चार सदस्यीय प्राविधिक समिति गठन गरेको हो ।

समिति सदस्यमा इन्टरनेट सेवा प्रदायकहरूको संस्था (आएस्पान) का अध्यक्ष सुधीर पराजुली, नेपाल सरकार सञ्चार मन्त्रालयका प्रतिनिधि र सदस्य सचिवमा प्राधिकरणकी रोजाकिरण बासुकला रहेको प्राधिकरणले जनाएको छ ।

उक्त प्राविधिक समितिले ७ दिनभित्र टिकटक बन्द गरेर नगरेको सम्बन्धमा अनुगमन र अनुसन्धान गरी रिपोर्ट पेस गर्ने बताइएको छ ।

सरकारले २७ कात्तिकमा टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । लगतै दूरसञ्चार प्राधिकरणले टिकटकलाई पत्र लेखेर सरकारको निर्णय जानकारी गराएको थियो ।

प्राधिकरणले शुक्रबार नै अर्को पत्र पठाउँदै सरकारको निर्णय कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेको छ ।

यस्तै सरकारले नेपालमा टिकटक प्रयोग गर्न रोक लगाएपछि प्रयोगकर्ताहरू विरोधमा उत्रिएका छन्। उनीहरूले आज माइतीघर मण्डलामा भेला भएर सरकारले गरेको निर्णयप्रति विरोध जनाएका हुन्।

टिकटक प्रयोग गर्न पाउनु नागरिकको अभिव्यक्ति स्वतन्त्रता भएको बताउँदै उनीहरूले टिकटकरसँग नडराउन सरकारलाई सुझाव पनि दिएका छन् । टिकटकमा लगाएको प्रतिबन्ध तत्काल हटाउन पनि उनीहरूको माग छ।

टिकटक बन्द गर्ने सरकारो निर्णय संविधानविपरीत भएको दाबीसहित शुक्रबार सर्वोच्च अदालतमा १० वटा निवेदन परेका छन् ।

Share News