
काठमाडौं । चिनियाँ प्रविधि कम्पनी हुवावेई टेक्नोलोजीले विश्वको सबैभन्दा छिटो इन्टरनेट सेवा सुरु गरेको छ । कम्पनीले आफ्नो नेटवर्क १.२ टेराबाइट (टीबी) प्रति सेकेन्डको गतिमा डाटा ट्रान्समिट गर्न सक्षम रहेको दाबी गरेको छ ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार, हुवावे टेक्नोलोजीका उपाध्यक्ष वाङ लेईले भने कि यो नेटवर्कले एक सेकेन्डमा १५० हाई-डेफिनिसन (एचडी) चलचित्र बराबरको डाटा ट्रान्समिट गर्न सक्छ। यसबाहेक यसले नेटफ्लिक्सको सबै विश्वव्यापी सामग्री पठाउन सक्छ।
कम्पनीले यसलाई जुलाईमा परीक्षण गरेको थियो र अहिले आधिकारिक रूपमा लन्च गरेको हो । नेटवर्कले सबै परिचालन परीक्षणहरू पास गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । यस सफलताका लागि सिङ्गुआ युनिभर्सिटी, चाइना मोबाइल, हुवावे टेक्नोलोजी र सर्नेट कर्पोरेसनले मिलेर काम गरेका थिए ।
अमेरिका र दक्षिण कोरिया भन्दा १० गुणा छिटो
कम्पनीले विश्वको पहिलो नेक्स्ट जेनेरेशन फाइबर इन्टरनेट सेवा सुरु गरेको छ । यसको गति अमेरिका र दक्षिण कोरिया भन्दा १० गुणा बढी रहेको बताइएको छ ।
तीन हजार किलोमिटरभन्दा बढी अप्टिकल फाइबर केबलिङमा फैलिएको नयाँ ब्याकबोन नेटवर्कले १.२ टेराबाइट (१२०० गीगाबाइट) प्रति सेकेन्डमा डाटा पठाउन सक्छ। सञ्जालले उत्तरमा बेइजिङ, मध्य चीनको वुहान र दक्षिणी प्रान्त ग्वाङ्जाउलाई जोड्ने काम गर्छ ।