
एजेन्सी । विश्वव्यापीरूपमा लोकप्रिय सन्देश आदान–प्रदान सेवा ह्वाट्सएपले सेप्टेम्बर महिनामा भारतमा लगभग ७१ लाख १० खाता (एकाउन्ट) मा प्रतिबन्ध लगाएको छ ।
अमेरिकी टेक्नोलोजी कम्पनी मेटाद्वारा नियन्त्रित यो सेवाले आइटी नियमअन्तर्गत ती एकाउन्टमा प्रतिबन्ध लगाएको हो । ह्वाट्सएपले प्रयोगकर्ताबाट कुनै पनि रिपोर्ट प्राप्त गर्नुअघि तीमध्ये २५ लाख ७ हजार एकाउन्ट प्रतिबन्धित गरेको हो ।
ह्वाट्सएपले देशका लागि जारी गरेको मासिक प्रतिवेदनमा सेप्टेम्बरमा कम्पनीलाई गुनासो पुनरावेदन समितिबाट ६ वटा आदेश प्राप्त भएको र ती सबैको पालना गरिएको जनाएको छ ।
ह्वाट्सएपमा भारतीय एकाउन्टहरूको देश कोड ‘+९१’ द्वारा पहिचान गरिन्छ । प्रयोगकर्ता सुरक्षा रिपोर्टमा प्रयोगकर्ताबाट प्राप्त गुनासो र उनीहरूमा ह्वाट्सएपले चालेका कदमबारे जानकारी दिइएको छ ।
यसका साथै उक्त रिपोर्टमा यो मेसेजिङ प्लेटफर्ममा उत्पीडन रोक्नका लागि ह्वाट्सएपले उठाएका कदमका विवरण पनि समावेश गरिएको छ ।
ह्वाट्सएपले अगस्टमा पनि भारतका ७४ लाख एकाउन्टमा प्रतिबन्ध लगाएको थियो । तीमध्ये लगभग ३५ लाख एकाउन्ट ब्लक गरिएको थियो जबकि प्रयोगकर्ताले कुनै रिपोर्ट गरेका थिएनन् ।
रिपोर्टअनुसार सेप्टेम्बरमा ह्वाट्सएपले प्रयोगकर्ताबाट १० हजार ४ सय ४२ रिपोर्ट प्राप्त गरेको थियो । तीमध्ये प्रतिबन्धको पुनरावेदनसँग सम्बन्धित ७ हजार ३ सय ९६ रिपोर्ट थिए ।
भर्खरै ह्वाट्सएपले च्यानलहरूको सुविधा सुरु गरेको छ । यसमा प्रयोगकर्ताले आफ्ना फलोअरहरूसँग आफ्नै प्रसारण वा अपडेट साझेदारी गर्न सक्छन् वा उनीहरूको मनपर्ने ह्वाट्सएप च्यानल फलो गर्न सक्छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदी पनि यो सुविधासँग जोडिएका छन् । उनको च्यानललाई लाखौं प्रयोगकर्ताले फलो गरेका छन् । यो सुविधा अर्को वर्ष लोकसभा चुनावअघि राजनीतिज्ञहरूलाई जनतासँग जोड्नका लागि एक महत्वपूर्ण माध्यम हुन सक्छ ।
यो एकतर्फी प्रसारण उपकरण हो । यसमा प्रयोगकर्ताले आफ्ना फलोअरलाई आफूसँग सम्बन्धित जानकारी पठाउन सक्छन् । तर, फलोअरहरूसँग सिधा कुराकानी गर्न सक्दैनन् ।
पाठ सन्देश, फोटो, भिडियो, स्टिकर र मतदान ह्वाट्सएप च्यानलमार्फत पठाउन सकिन्छ । यो सुविधा अपडेट नामक नयाँ ट्याबमा उपलब्ध छ । यो सुविधा एन्ड्रोइड, आइओएस र डेस्कटप प्रयोगकर्ताका लागि उपलब्ध छ ।