महिनामै ३६ खर्बसम्म हुने आरटीजीएस कारोबार २१ खर्बमा सीमित, दशैंमा नोटको प्रभाव कि प्रविधिप्रतिको अविश्वास ?

<p>काठमाडौं । भदौमा रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) मार्फत् हुने कारोबार घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार भदौमा ६१ हजार ६० जनाले आरटीजीएसमार्फत् २१ खर्ब ८५ अर्ब ५७ करोड ७० लाख रुपैयाँको कारोबार गरेका छन् । गत आर्थिक वर्षको भदौको तुलनामा याे काराेबार ५९.६३ प्रतिशत कम हो । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको [&hellip;]</p>

काठमाडौं । भदौमा रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) मार्फत् हुने कारोबार घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार भदौमा ६१ हजार ६० जनाले आरटीजीएसमार्फत् २१ खर्ब ८५ अर्ब ५७ करोड ७० लाख रुपैयाँको कारोबार गरेका छन् । गत आर्थिक वर्षको भदौको तुलनामा याे काराेबार ५९.६३ प्रतिशत कम हो ।

राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको भदौमा आरटीजीएसमार्फत् ७२ हजार ५६० जनाले ३६ खर्ब २० अर्ब ७५ करोड २० लाख रुपैयाँ बराबरको कारोबार गरेका थिए । चालु आर्थिक वर्षको भदौमा कारोबार रकम सँगै कारोबार गर्नेहरुको संख्या पनि घटेको हो ।

गत साउनमा ६९ हजार ५६८ जनाले २८ खर्ब ६८ अर्ब ७४ करोड ३० लाख रुपैयाँको कारोबार गरेका छन् ।

यस्तै, एटीएमबाट पैसा झिक्नेहरुको संख्या भने बढेको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाएकाे छ । तथ्यांकका अनुसार भदौमा १ करोड ११ लाख ६८ हजार ७२७ जनाले ८३ अर्ब ३८ करोड ४० लाख रुपैयाँ एटीएमबाट झिकेका छन् । गत साउनमा ८१ अर्ब ३८ करोड ३० लाख रुपैयाँ झिकिएको छ । प्रत्येक महिना पैसा झिक्नेसँगै रकम पनि बढेको देखिन्छ ।

यस्तै, साउनको तुलनामा भदौमा कनेक्ट आइपीएस गर्नेहरुको संख्या र कारोबार रकम पनि घटेको देखिन्छ । भदौमा १२ लाख २६ हजार ८५० जनाले १ खर्ब ५३ अर्ब ९२ करोड रुपैयाँको कारोबार कनेक्ट आइपीएस मार्फत् गरेका छन् भने गत साउनमा ६ लाख ८६ हजार ७९ जनाले १ खर्ब ३१ अर्ब ६करोड ९० लाख रुपैयाँ बराबरको कारोबार गरेको देखिन्छ ।

यस्तै, गत आर्थिक वर्षको भदौमा १० लाख १० हजार ३५० जनाले १ खर्ब ५८ अर्ब ११ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार गरेका थिए । गत आर्थिक वर्षको भदौको तुलनामा यस वर्षको भदौमा कारोबार गर्ने संख्यासँगै कारोबार रकम पनि घट्दै गएको देखिन्छ ।

राष्ट्र बैंकका अधिकारीहरु भने दशैं लागेसँगै मान्छेहरु बढी नोटको कारोबार गर्ने भएकोले विद्युतीय कारोबार केही घटेको बताउँछन् ।

के हाे आरटीजीएस ? 

यो ठूलो मूल्यको भुक्तानीको लागि प्रयोग गरिने विद्युतीय भुक्तानी प्रणाली हो । यस प्रणालीबाट खासगरी ठूलो मूल्य र अति जरुरी भुक्तानीको कारोबार हुन्छ ।

बिना चेक, बिना झण्झट केही मिनेटमै विद्युतीय माध्यमबाट भुक्तानी गर्ने प्रक्रियालाई नै आरटीजीएस हो । भुक्तानी प्रणालीमा एक व्यक्तिले अर्को व्यक्तिलाई भुक्तानी गर्दा चेक नकाटिकन नै भुक्तानी गर्न सकिन्छ । कुनै पनि वस्तु तथा सेवा खरिद बिक्री भएपछि त्यसको भुक्तानी गर्नुपर्ने हुन्छ । यस प्रणालीमार्फत अहिले भुक्तानी गरेको रम अर्को व्यक्तिले लगत्तै पाउँछ ।

यो प्रणालीअन्तर्गत बैंकले एकै पटक एउटा बैंकबाट अर्को बैंकको खातामा रकम पठाउन सक्छन् ।

Share News