
काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले गर्भवती हुन सहयोग पुर्याउने भएको छ । इजरायलको एक कम्पनीले यस्तो एआई सफ्टवेयर बनाउन सफल भएको छ की जसले आइभिएफ उपचारको क्रममा अन्डासयमा भएको स्वस्थ भ्रुण पत्ता लगाउन सक्छ । सो प्रविधिको प्रयोगले गर्भ रहने सम्भावना ३० प्रतिशतले बढ्ने बताइएको छ ।
आइभिएफ उपचार पद्दतीमा एआईको मद्दतले पैदा हुने बच्चालाई ‘एआई बेबीज’ भनिने छ । डेली मेलको रिपोर्टअनुसार सो सफ्टवेयरले आइभिएफको क्रममा आनुवंशिक समस्या भएका भ्रुणको विशेषता पत्ता लगाएर सबैभन्दा स्वस्थ भ्रुणलाई पहिचान गर्ने काम गर्छ ।
आइभिएफ अर्थात इन भिट्रो फर्टिलाइजेसन कृत्रिम ढंगले गर्भाधान गराउने एउटा प्रविधि हो । यस प्रविधिमा महिलाको अण्डा र पुरुषको शुक्रकिटलाई प्रयोगशालमा राखेर निषेचित गर्ने काम गरिन्छ । यसपछि भ्रुण महिलाको पाठेघरमा सार्ने काम गरिन्छ ।
भ्रुण छनोट सबैभन्दा महत्वपूर्ण
सफट्वेयर बनाउने रिप्रोडक्टिभ कम्पनी एआइभिएफका सह–संस्थापक अर्थात सिइओ डा. गिल्बोआले आइभिएफ प्रविधिको प्रयोगमा सबैभन्दा महत्वपूर्ण विषय भनेको उत्तम भ्रुणको छनोट भएको बताएका छन् । एआई सफ्टवेयरलाई उत्तम प्रकृतिको विशेषता भएको भ्रुण पत्ता लगाउने तालिम दिने गरिन्छ । जसले आनुवंशिक आसामान्यता भएको अवस्थालाई पहिचान गर्दै प्रत्यारोपणयोग्य भ्रुणलाई पहिचान गर्ने काम गर्छ । डा. गिल्बोआलेका अनुसार सामान्यतया कुनैपनि प्रविधिले सो पत्ता लगाउन सक्दैन ।
उनका अनुसार तालिमको क्रममा एआई सफट्वेयरको माध्यमबाट भ्रुण विकासको अवस्थालाई हेर्दा सफ्टवेयरले सबैभन्दा उत्तम भ्रुण पत्ता लगाउन भूमिका खेल्ने गरेको देखिन्छ ।
आइभिएफ उपचारमा एआई सफ्टवेयरको साथ
गर्भाधान प्रकृयामा आइभिएफ उपचारको प्रकृया निकै सफल रहेको छ । ‘अहिलेसम्म डाक्टरहरुले भ्रुण छनोट गर्ने गरेका छन्, तर धेरैपटक छनोट गलत पनि पर्ने गरेको र आइभिएफ उपचार पनि असफल हुने गरेको छ’, डा. गिल्बोआले भने । सामान्यतया महिलाहरुले तीन देखि पाँचपटक सम्म आइभिएफ उपचार गर्नुपर्ने हुन्छ । प्रयोगशालमा १० देखि १२ भ्रुण उस्तै प्रकारका तयार भएका हुन्छन्, ती मध्ये एउटालाई डाक्टरले स्वयं छनोट गर्नुपर्ने हुन्छ ।
डा. गिल्बोआका अनुसार अहिलेसम्म भइरहेको छनोटको प्रकृयामा सबै काम मानिसले मात्रै गरिरहेको हुन्छ । अब एआई सफ्टवेयरको विकाससँगै सो प्रकृया सहज हुनेछ । यसो भएपछि महिलाहरुले एकैपटकको आइभिएफ उपचार पश्चात गर्भाधान गर्न सक्छन् । जसले सकारात्मक नतिजा दिनसक्छ ।
एआईले डाक्टरलाई प्रतिस्थापन गर्दैन
एआई सफ्टवेयरको सहयोगले आइभिएफ उपचारमा कम समय लाग्नेछ, किनकी मेसिनले मानिसको तुलनामा छिटो काम गर्न सक्छ । तर, यसको मतलब यो होइन की यसले डाक्टरलाई नै प्रतिस्थापन भने गर्दैन । किनकी एआई सफ्टवेयरले उत्तम तुलनात्मक रुपमा उत्तम प्रकारको स्वस्थ भ्रुण पत्ता लगाउन मात्रै सहयोग गर्नेछ ।
बच्चा जन्माउनको लागि वैज्ञानिकहरुले कृत्रिम गर्भासयको विकासमा पनि अनुसन्धान गरिरहेका छन् । सन् २०२२ को डिसेम्बरमा ‘एक्टोलाइफ’ नामको कम्पनीले कृत्रिम गर्भासय तयार गरेको थियो । कम्पनीले विकास गरेको ‘आर्टिफिसियल युट्रस फेसिलिटी’ मा कृत्रिम हिसाबले बच्चा हुर्काउन सकिने बताइएको छ ।
यो प्रविधिबाट जन्मिने बच्चा हरेक संक्रमणबाट सुरक्षित रहने वैज्ञानिकहरुले दाबी गरेका छन् । एजेन्सीहरुको सहयोगमा ।