काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एमडीएमएस प्रणालीमा दर्ता नभएको मोबाइल नेपालमा नचल्ने व्यवस्था गरेको छ । नेपाली बजारमै किनेका मोबाइल भने विक्रेताले एमडीएमएस प्रणालीमा दर्ता गरेका हुन्छन् । तर, काम विशेषले विदेश जाँदा ल्याइएको मोबाइल वा कसैले उपहारमा विदेशबाट ल्याइदिएको मोबाइल भने एमडीएमएस प्रणालीमा दर्ता गर्नुपर्ने हुन्छ ।
दर्ता नभएका मोबाइल फोनको एमडीएमएस कसरी दर्ता गर्ने ? दर्ताका लागि के के कागजात चाहिन्छ ? दुईवटा आइएमइआइ भएको मोबाइलको एउटा आइएमइआइ दर्ता छ तर अर्को आइएमइआइ दर्ता छैन भने के गर्ने ? यी विविध प्रश्नकाे उत्तर हामीले यहाँ समेट्ने प्रयास गरेका छौँ ।
आफ्नो मोबाइल एमडीएमएस प्रणालीमा दर्ता छ/छैन कसरी चेक गर्ने ?
नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस पोर्टल mdms.nta.gov.np मा गई बायाँ तर्फको “आफ्नो मोबाईलको आइएमइआइ एमडीएमएसमा दर्ता भए/नभएको हेर्नुहोस” भन्ने बक्समा आफ्नो मोबाइलको आइएमइआइ नम्बर प्रविष्ट गरी उक्त मोबाइल दर्ता भए नभएको जाँच गर्न सकिन्छ ।
एमडीएमएस प्रणालीमा मोबाइल दर्ता गर्न के के कागजातहरू आवश्यक हुन्छ ?
व्यक्ति स्वयंले राहदानी वा नागरिकता, डिपार्चर स्ट्याम (विदेश जादाँको बखत राहदानीको पृष्ठमा लागेको डिपार्चर छाप) र अराइभल स्ट्याम्प (विदेशबाट फर्कदाको बखत राहदानीको पृष्ठमा लागेको अराइभल छाप ) देखिने राहदानीको पृष्ठ वा बोर्डिङ पास सहित आफ्नो व्यक्तिगत विवरणहरू mdms.nta.gov.np/registration-options काे individual registration section मा प्रविष्ट गरी मोबाइल दर्ताका लागि आवेदन दिन सकिन्छ ।
एमडीएमएस प्रणालीमा आवेदन प्राप्त भएको जानकारी आवेदकले प्रविष्ट गरेको इमेलमा जान्छ । त्यसैगरी दुई देखि तीन दिन भित्रमा उक्त आवेदन स्वीकृति भई मोबाइल दर्ता भएको वा कारणसहित आवेदन रिजेक्ट भएको जानकारी आवेदकको इमेलमै जान्छ । यसको लागि कुनै शुल्क लाग्दैन ।
मोबाइल दर्ताका लागि आवश्यक कागजात नभएको खण्डमा कसरी मोबाइल दर्ता गर्न सकिन्छ ?
आर्थिक विधेयक २०८० को दफा २४ ले २०७९ भाद्र ३० देखि २०८० जेष्ठ १५ सम्म नेपालमा सञ्चालनमा आएका तर एमडीएमएस प्रणालीमा दर्ता नभएका मोबाइलहरूलाई तोकिएको राजश्व तिरी उक्त मोबाईलहरू दर्ता गर्न सकिने व्यवस्था गरेको छ । राजश्व अनलाईनबाट नै तिर्न सकिन्छ ।
mdms.nta.gov.np/registration-options को Grey Registration Section मा गई आफ्नो मोबाइलको आइएमइआइ लगायत अन्य आवश्यक व्यक्तिगत विवरण भरीसकेपछि तिर्नुपर्ने राजश्व स्वतः प्रणालीले नै देखाउँछ ।
भुक्तानीका लागि कनेक्ट आइपीएस छनौट पञ्चातः देखिने क्यूआर कोर्ड स्क्यान गरी कुनै भुक्तानी सेवाप्रदायकको एप्लिकेसन प्रयोग गरी भुक्तानी गर्न सकिनेछ । भुक्तानी सफल भएको एक घण्टा भित्र उक्त मोबाइल दर्ता हुनेछ ।
नोट : Grey Registration गर्न खोज्दा None of the Provided IMEI number are grey listed. At least one IMEI number must be in grey list to proceed देखाउँछ भने उक्त आइएमइआइ हाल Grey Database मा नभएको संकेत हो । आर्थिक विधेयक २०८० को दफा २४ ले हाल Grey Database मा भएका मोवाइललाई मात्रै Grey Registration को सुविधा प्रदान गरेको छ ।
दुईवटा आइएमइआइ भएको मोबाइलको एउटा आइएमइआइ दर्ता छ तर अर्को दर्ता छैन भने के गर्ने ?
मोबाइलको एउटा IMEI दर्ता भई अर्काे IMEI दर्ता नभएको खण्डमा एमडीएमएस प्रणालीको Dual IMEI
Registration Section मा गई IMEI1 र IMEI2 प्रविष्ट गरी दुबै IMEI प्रष्ट देखिने गरी Screenshot वा मोबाइल किन्दाको बक्सको फोटो खिचेर अपलोड गरी आवेदन दिन सकिन्छ ।