काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक वालेट कम्पनीहरु घाटामा सञ्चालन भइरहेको पाइएको छ । वार्षिक झण्डै ३ खर्ब रुपैयाँ बराबर कारोबार गर्दै अर्थतन्त्रलाई डिजिटलाइज गर्दै आएका अधिकांश डिजिटल वालेट कम्पनीहरु घाटामा सञ्चालन भइरहेको एक डिजिटल वालेट कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले विकासन्युजसँग बताए ।
उनले हाल सञ्चालनमा रहेका डिजिटल भुक्तानी वालेट कम्पनीहरुमध्ये ईसेवा बाहेक अन्य सबै वालेट कम्पनीहरु घाटामा सञ्चालन भइरहेको बताए । उनका अनुसार वालेट कम्पनीहरुले आफ्नो लागतबाहेक अन्य कुनै पनि फाइदा लिन सकेका छैनन् । नि:शुल्क सेवा दिनु पर्ने भएकाले नाफा कमाउन नसकिएको उनको भनाइ छ । साथै, नाफा गरेको भन्दा धेरै खर्च हुने गरेको उनले बताए ।
‘सरकारी सेवामा हामीले शुल्क लिने गरेका छैनौं, विद्यालय शुल्क पनि नि:शुल्क भुक्तानी हुन्छ, नेपाल विद्युत प्राधिकरणको ५ सय रुपैयाँभन्दा कमको बिलमा शुल्क लिन मिल्दैन,’ उनले भने- ‘महिनाको ४ अर्बको कारोबार गरेर ४ करोड नाफा गर्न धेरै गाह्रो छ, झन् त्यसमा क्यास ब्याक पनि दिनुपर्छ ।’
उनका अनुसार वालेट कम्पनीहरुमा नाफा कमाउने इसेवा वालेट एक्लो हो । इसेवा पनि गत वर्षदेखि नाफा कमाउन थालेको हो । इसेवा बाहेक खल्ती लगायतका सबै कम्पनीहरु घाटामा रहेको उनले बताए । इसेवा पनि १३औं वर्षमा आएपछि मात्रै नाफा कमाउन थालेको उनले बताए । स्रोतका अनुसार खल्तीले आगामी वर्षदेखि नाफा कमाउन सक्ने अवस्थामा पुग्नेछ ।
‘कुनै वालेटले ६० करोड रुपैयाँ रेभिन्यू संकलन गर्याे भनेपनि ८० करोड रुपैयाँको खर्च हुन्छ, वालेट कम्पनी सबै घाटामा छन्,’ उनले भने, ‘डिजिटल कारोबारको भविष्य छ भन्ने हिसावले कसै न कसैले लगानी गर्नुपर्छ, सबैले व्यापार गरेर मात्रै भएन, भविष्यमा डिजि बैंक बन्न सक्ने भएकाले लगानी गरिरहेका छन् ।’
कुनको कारोबार कति ?
चालू आर्थिक वर्षको १० महिनाको अवधिमा डिजिटल वालेट कम्पनीहरुले झण्डै साढे ३ खर्ब रुपैयाँ बराबरको कारोबार गरेका छन् । राष्ट्र बैंकको बैशाखसम्मको तथ्याङ्क अनुसार कूल १ खर्ब ७९ अर्ब ३३ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार वालेट कम्पनीले गरेका हुन् । तथ्याङ्कलाई आधार मान्ने हो भने चालू आर्थिक वर्षको १० महिनाको तथ्याङ्कका आधारमा मासिक औषत १७ अर्ब ९३ करोड रुपैयाँ बराबरको कारोबार डिजिटल वालेट कम्पनीहरुले गरेको देखिन्छ ।
हाल सञ्चालनमा रहेका वालेट कम्पनीहरुमध्ये इसेवाको बजार हिस्सा ६० प्रतिशतभन्दा बढी रहेको स्रोतको भनाइ छ । उनका अनुसार इसेवाले मासिक १० अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने गरेको छ । यस्तै, दोस्रोमा खल्ती डिजिटल वालेटको रहेको छ । खल्तीले मासिक ४ देखि ५ अर्ब रुपैयाँ बराबरको कारोबार गर्ने गरेको उनले बताए ।
मासिक १८ अर्ब रुपैयाँ बराबरको कारोबार हुने गरेको भएपनि इसेवाको बजार हिस्सा ६०/६५ प्रतिशत रहेको छ । गत वर्ष ३ खर्ब रुपैयाँ बराबरको वालेटबाट कारोबार भएको थियो । जसमध्ये ईसेवाले १५० अर्ब रुपैयाँ बराबरको कारोबार गरेको थियो भने खल्तीले ५० अर्ब रुपैयाँ बराबरको कारोबार गरेको स्रोतको दाबी छ ।
‘वालेटबाट मासिक १८/१९ अर्ब रुपैयाँ बराबरको कारोबार हुने गरेको छ, खल्तीले साढे ४ अर्ब रुपैयाँ बराबरको कारोबार गर्छ, खल्तीले डिजिटल कारोबारको २२/२५ प्रतिशत बजार हिस्सा ओगटेको छ तर, ६० प्रतिशत बजार हिस्सा इसेवाको छ,’ उनले भने- ‘१०/११ प्रतिशत आइएमई पेले ओगटेको छ भने बाँकी अन्य वालेट कम्पनीको कारोबार हिस्सा ५/५ प्रतिशत रहेको छ ।’
५ वटा वालेटको अस्तित्व
यसअघि टप फाइभ कम्पनीमा प्रभु पे थियो । तर, पछिल्ला सयम अन्य कम्पनीले प्रभुलाई उछिनेर तल झरेको उनले बताए । उनका अनुसार अबको केही वर्षपछि ५ वटा वालेट कम्पनी मात्रै अस्तित्वमा रहने उनको भनाइ छ । मर्जरभन्दा पनि खर्च धान्न नसकेर आफैं बन्द हुने अवस्थामा रहेको उनले बताए ।
‘वालेट बिजनेशको २२/२५ प्रतिशत कारोबार कभर गर्ने कम्पनीले नाफा कमाउन सकेका छैनन्, जबकी ती कम्पनीहरुले लागतलाई कम गर्दै अप्टिमाइज भइरहेका छन्, ती कम्पनीले क्यासब्याक पनि कम दिएका छन्, क्यासब्याक घटाउँदै लगेका छन्,’ उनले भने- ‘५/७ प्रतिशत मार्केट सेयर भएका कम्पनीले कमाएर कति दिने ? अन्य वालेट कम्पनीले ३ रुपैयाँ कमाएर ५ रुपैयाँ फालिरहेका छन्, यो भनेको आधारभूत सिद्धान्तबाट बाहिर जानु हो, सस्तोमा किनेर महँगोमा बेच्नु बिजनेश हो, महँगोमा किनेर सस्तोमा बेच्नु होइन ।’
राष्ट्र बैंकको भुक्तानी विभाग प्रमुख समेत रहेका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले पनि डिजिटल भुक्तानी सेवा प्रदायक वालेट कम्पनीहरु घाटामा सञ्चालन भइरहेको स्वीकार गरे । हाल सञ्चालनमा रहेका डिजिटल भुक्तानी वालेट कम्पनीहरुमध्ये अधिकांश वालेट कम्पनीहरु घाटामा सञ्चालन भइरहेको उनको भनाइ छ ।
उनका अनुसार २७ वटा वालेट कम्पनीमध्ये अधिकांश घाटामा सञ्चालन भइरहेका छन् । इसेवा, खल्ती, आइएमई पे ठिकै अवस्थामा रहेको उनले बताए । अन्य कम्पनीहरु भने घाटामै चलिरहेको उनको भनाइ छ ।
‘इसेवा, खल्ती, आइएमई पे, प्रभु पे, माइ पे, नमस्ते पे टप फाइभ कम्पनी हुन्, माइ पेले आक्रामक रुपमा आफ्नो विजनेश ग्रोथ गरिरहेको छ, नमस्ते रणनीतिक हिसावमा अघि बढ्दै छ, चुक्ता पूँजी नै ४० करोड रुपैयाँभन्दा बढी छ,’ उनले भने ।