
काठमाडौं । अन्तरिक्षमा सोलार पावर स्टेशन बनाउने भन्ने अवधारणा निकै पुरानो हो । सन् १९४० को दशकमा साइन्स फिक्सन राइटर आइज्याक असिमोवले आफ्नो छोटो कथा ‘रिजन’ यसको विषयमा दाबी गरेका थिए । अब वैज्ञानिकहरुले यो विषयलाई कार्यान्वयनको लागि पहल गर्न शुरु गरेका छन् । पृथ्वीमा २४ सै घण्टा सौर्य उर्जा प्राप्त गर्नको लागि वैज्ञानिकहरुले सो पहल गर्न लागेका हुन् ।
वैज्ञानिकहरुलाई यो विषयमा सफलता पनि प्राप्त भइरहेको छ । पहिलो पटक अन्तरिक्षबाट पठाइएको सौर्य उर्जा पृथ्वीमा प्राप्त भएको छ । वैज्ञानिकले सन् २०२३ को जनवरीमा ‘माप्ले’ (एमएपिएलइ) नामको अन्तरिक्षयान पृथ्वीको कक्षमा छोडेका थिए । जसमा वैज्ञानिकहरुले स्पेसमा प्राप्त हुने तापक्रम सोलार रेडिएसन क्षमता भएको भएको सोलार प्यानलको जडान गरेका थिए ।
वैज्ञानिकहरुका अनुसार अन्तरिक्षमा लगाइएको सो सोलार प्यानले पृथ्वीको तुलनामा आठ गुणा बढी उर्जा प्रदान गर्न सक्छ, अर्थात् सामान्यतया अन्तरिक्षमा पृथ्वीको तुलनामा आठ गुणा बढी सोलार बिजुली पैदा हुन सक्छ ।
पृथ्वीमा १८औं शताब्दिमा नै सोलार प्यानलको सहायताले सौर्य उर्जालाई प्रयोगमा ल्याउन शुरु गरिएको थियो । सोलार प्यानल सोलार सेल्सबाट बन्ने गर्छ, जो यस्तो उपकरण हो की यसले सौर्य उर्जालाई बिजुलीमा परिणत गर्नसक्छ ।
आजको दिनमा विश्वमा प्रयोग भइरहेको कुल उर्जाको चार प्रतिशत उर्जा सोलार प्यानलबाट प्राप्त हुने गरेको छ । वैज्ञानिकहरुले इन्धनबाट मानिसहरुले प्रयोग गरिरहको उर्जा सौर्य उर्जाबाट प्रयोग गरुन भन्ने चाहन्छन् । तर, पृथ्वीमा हरेक समय घाम लाग्दैन । कतिपय देशमा अधिक समय बादल लाग्ने गर्छ । सोही विषयलाई लिएर वैज्ञानिकहरुले अन्तरिक्षबाट पृथ्वीमा सौर्य उर्जा पठाउने विषयमा तयारी गरेका हुन् ।
अन्तरिक्षमा कुनैपनि समय बादल लाग्दैन । त्यो मात्रै नभएर त्यहाँ दिन र रात हुँदैन । जसले गर्दा अन्तरिक्षमा कुनै पनि वस्तुको अवरोध बिना सौर्य उर्जा संकलन गर्न सकिन्छ ।
वैज्ञानिकहरुले सौर्य उर्जाको लागि अन्तरिक्षमा जडान गरेको म्यापलमा माइक्रोवेव पावर ट्रान्समिटर जडान गरिएको छ । जसमा सिलिकन बाट बनाइएको इलेक्ट्रिक चिपले काम गर्ने गर्छ । यो ट्रान्समिटले सोलार इनर्जीलाई माइक्रोवेवमा बदल्ने काम गर्छ । जसले गर्दा नै सो उर्जा पृथ्वीसम्म सजिलै आइपुग्छ । सो ट्रान्समिटरले आफूले चाहेको क्षेत्रमा सौर्य उर्जालाई पठाउन सक्छ । पृथ्वीमा निर्माण गरिने सौर्य उर्जा प्राप्त गर्ने स्टेशनले अन्तरिक्षबाट पठाएको उर्जालाई प्राप्त गरेर नेशनल ग्रिडमा जोड्ने काम गर्छ ।
वैज्ञानिकहरुका अनुसार माप्लेबाट पठाइएको उर्जा क्यालिफोर्नियाको पासाडेनामा रहेको क्याल्टेकको क्याम्पसमा प्राप्त गरिएको थियो र सो उर्जा अपेक्षित समय र आवृत्तिमा नै प्राप्त भएको थियो । वैज्ञानिकले बताएका छन की यो अन्तरिक्षमा पहिलोपटक जडान देखिएको ट्रान्सफर हो ।
बिबिसीको रिपोर्टअनुसार अब वैज्ञानिकहरुले पृथ्वीको कक्षमा ठूला एवं शक्तिशाली स्याटेलाईट पठाउनेछन् र त्यसबाट उत्पादन हुने उर्जालाई पृथ्वीमा पठाउने काम गरिन्छ । ब्रिटेनको स्पेस इनर्जी इनिसियटिभका चेयरमेन मार्सियन सोल्ताउले यो प्रोजेक्टको क्षमता असिमित भएको बताएका छन् । सैद्धान्तिक रुपमा भनिएअनुसार सन् २०५० सम्ममा पृथ्वीलाई चाहिने सम्पूर्ण उर्जा अन्तरिक्षबाट आउन सक्नेछ ।
अहिले विश्वमा पानीबाट निकालिने बिजुली, आणविक भट्टीबाट निकालिने बिजुली, सोलार प्यानलबाट उत्पादन हुने बिजुली र अन्य इन्धनबाट उत्पादन हुने बिजुली उत्पादन गरेर प्रयोग गर्ने गरिएको छ । अन्तरिक्षमा सोलारमार्फत उत्पादन गरिने बिजुलीको दिगोपना र उत्पादन लागतको विषयमा भने वैज्ञानिकहरुले केही भनिसकेका छैनन् । अन्तरिक्षबाट उत्पादन हुने बिजुली सस्तो हुन गएमा नेपाल जस्ता पानीबाट बिजुली उत्पादन गरेर बेच्ने सपना बोकेका मुलुकलाई ठूलो धक्का पुग्न सक्ने देखिन्छ । एजेन्सीहरुको सहयोगमा ।