साढे ४ लाख डलरमा अन्तरिक्षमा पुगेर फर्किन सकिने, भर्जिन ग्यालेष्टिककाे उडान सुरु

<p>काठमाडौं । अन्तरिक्ष पर्यटन कम्पनी ‘भर्जिन ग्यालेष्टिक’ले आफ्नो व्यवसायिक उडान सेवा शुरु गर्न गइरहेको छ । कम्पनीले आज नै आफ्नो उडान शुरु गर्ने जनाएको छ । कम्पनीले यसलाई ‘ग्यालेष्टिक ०१’ को रुपमा बताएको छ भने दोस्रो व्यवसायिक उडान अगस्ट २०२३ मा हुने जनाएको छ । सोसँगै कम्पनीले हरेक महिना अन्तरिक्ष उडान गर्ने उद्देश्य राखेको छ [&hellip;]</p>

काठमाडौं । अन्तरिक्ष पर्यटन कम्पनी ‘भर्जिन ग्यालेष्टिक’ले आफ्नो व्यवसायिक उडान सेवा शुरु गर्न गइरहेको छ । कम्पनीले आज नै आफ्नो उडान शुरु गर्ने जनाएको छ । कम्पनीले यसलाई ‘ग्यालेष्टिक ०१’ को रुपमा बताएको छ भने दोस्रो व्यवसायिक उडान अगस्ट २०२३ मा हुने जनाएको छ । सोसँगै कम्पनीले हरेक महिना अन्तरिक्ष उडान गर्ने उद्देश्य राखेको छ ।

कम्पनीले आज हुने पहिलो उडान साधारण नभएर वैज्ञानिक अनुसन्धान मिसन हुने जनाएको छ । जसमा इटालियन एयर फोर्स र तथा इटालीको राष्ट्रिय अनुसन्धान परिषदको तर्फबाट तीन–तीन जना सहभागी हुनेछन् । यो समूहले माइक्रो ग्र्याबिटीको अध्ययन गर्नेछन् भने दोस्रो उडान ग्यालेष्टिक–२ मा आम आम पर्यटकले उडान गर्नेछन् ।

कम्पनीका मालिक सर रिचर्ड ब्रान्सनले सन् २००४ मा भर्जिन ग्यालेष्टिकको शुरुवात गरेका थिए । सोही वर्ष उनले पहिलो पटक अन्तरिक्ष विमान निर्माण गर्ने घोषणा पनि गरेका थिए । सन् २००७ सम्म उनले व्यवसायिक उडान शुरु गर्नसक्ने विश्वास समेत राखेका थिए । तर, परीक्षणका क्रममा भएका दुर्घटनाका कारण उनको परियोजना निकै लामो समयसम्म लम्बियो ।

सन् २०२१ मा ब्रान्सनले आफ्नो निजी रकेट मार्फत पहिलो पटक अन्तरिक्षको भ्रमण गरे । यसरी भ्रमण गर्ने उनी दुनियाको पहिलो अर्बपति हुन् । उनले करिब सवा घण्टामा अन्तरिक्षको यात्रा सकेर पृथ्बीमा फर्किन सफल भएका थिए । सो भ्रमणमा उनको साथमा दुईजना पाइलट र कम्पनीकै तीनजना कर्मचारी पनि रहेका थिए ।

ब्रान्सन अन्तरिक्ष पर्यटनको शुरुवात गर्नपूर्व आँफैले त्यसको अनुभव पनि लिन चाहन्थे । जुन मिसन सफल भएपछि अन्तरिक्ष उडान भर्ने यान निर्माण गर्ने विषयमा प्रतिस्पर्धाकै शुरुवात भएको छ । स्पेस एक्स, ब्लु ओरिजिन्स कम्पनीहरुले पनि अन्तरिक्ष पर्यटनको विषयलाई लिएर अगाडि बढेका छन् । जसमध्ये भर्जिन ग्यालेष्टिकले पहिलोपटक अन्तरिक्षमा आफ्नो व्यवसायिक उडान भर्न लागेको छ ।

कति पर्छ टिकटको मूल्य ?
अन्तरिक्ष पर्यटन भ्रमणको शुरुवात गर्ने घोषणासँगै कम्पनीले अहिलेसम्म आठसय भन्दा धेरै टिकट बिक्री गरिसकेको छ । जसमध्ये एउटा टिकटको मूल्य कम्पनीले चार लाख ५० हजार डलर राखेको छ ।

ग्यालेष्टिक फ्लाइटलाई यसरी डिजाइन गरिएको छ की विमानमा बसेर यात्रा गर्ने यात्रुहरुले अन्तरिक्ष देख्न सक्ने र केही मिनेट गुरुत्वबल विहिनताको समेत महशुस गर्नसक्नेछन् ।

Share News