काठमाडौं । डिजिटल वालेट ईसेवामा रहेको रकम एभरेष्ट बैंकबाट झिक्न मिल्ने भएको छ । नेपालमै पहिलो पटक एभरेष्ट बैंकको एटिएम मेसिनबाट ईसेवा कनेक्ट गरी रकम झिक्न मिल्ने भएको हो । ईसेवा प्रयोगकर्ताले बैंकको एटिएम मेशिनमा कनेक्ट गरी रकम झिक्न सक्ने छन् । बुधबार ईसेवाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जगदिश खड्का र एभरेष्ट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसईओ) विजय शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । ईसेवाले प्रयोगकर्ताहरुका लागि जहिले पनि नयाँ इनोभेट ल्याइरहेको बताएको छ । ईसेवाले नेपालमै पहिलो पटक अदभूत सेवा प्रयोगकर्ताहरुका लागि ल्याएको हुँदा कारोबार गर्न सहज हुने ईसेवाको दावी छ । ईसेवाले नेपालमा पहिलोपटक ल्याएको यो सेवाका विषयमा सीईओ खड्कासँगको संक्षिप्त कुराकानी :
नगदरहित सेवा दिने वालेट कम्पनीले यो सेवा दिँदा डिजिटलमा असर पर्दैन ?
डिजिटलमा जोड्दै जानु पर्छ भन्ने हाम्रो मान्यता हो । सबैको दैनिक क्रियाकलापमा डिजिटलबाट सहजता हुनु पर्छ । अर्थतन्त्रलाई डिजिटल्ली लैजान हामी प्रतिवद्ध छौं । डिजिटल सेवा विकास र विस्तार गर्न हामी पूर्ण रुपमा लागि रहेका छौं । तर, समग्र अर्थतन्त्र डिजिटल भइसकेको छैन । त्यसलाई हामीले सिकाउँदै अगाडि लैजानु पर्छ । हामी पूर्ण रुपमा डिजिटलबाट टाढा पनि भएका छैनौं ।
डिटिजटल भन्दैमा प्रत्येक दिन हाम्रा प्रत्येक पार्टले डिजिटल अपनाइसकेको छैन । नगद र कार्ड बोक्नु पर्ने स्थिती पनि अझै छ । डिजिटल नजिक लैजानका लागि यो सेवाले केही चरणहरु पुरा गर्न सघाउँछ । यो सेवाले ग्राहकलाई डिजिटलको नजिक ल्याउने कोशिस गर्छ ।
सम्पूर्ण अर्थतन्त्र पूर्ण रुपमा डिजिटल्ली भएको छैन । कतिपय ठाउँमा डिजिटल अवरोध पनि छन् । त्यस्तो ठाउँमा सहजता ल्याउन यो सेवा ल्याइएको हो । डिजिटल हाम्रो पहिलो प्रतिवद्धता हो । साथै, धेरै प्रयोगकर्ता र समग्र अर्थतन्त्रलाई डिजिटलाइज प्रति विश्वास पनि जगाउनु पर्याे । यसको जति प्रयोग गर्दै जान्छौं त्यति नै छिटो डिजिटल्ली हुन्छौं । हामी डिजिटलाइजेशनबाट टाढा हुन खोजेको होइन, यसलाई माध्यम बनाएर डिजिटल नजिक ल्याउन प्रयास गरेको हो ।
यो सेवा प्रयोग गर्दा शुल्क लाग्छ की लाग्दैन ?
केही समयका लागि हामीले निःशुल्क सेवा प्रदान गर्छाैं । त्यसपछि राष्ट्र बैंकले तोकेको शुल्क अनुसार हामी पनि शुल्क निर्धारण गर्छाैं ।
मोबाइल बैंकिङ्ग र यो सेवामा के फरक छ ?
यो एउटा इनेभेसनको सुरुवात हो । राष्ट्र बैंकले तोकेको सीमा अहिले रेमिट्यान्स बाहेक अन्यलाई ५ हजार रुपैयाँ हो । यसमा एपटक ५ हजार रुपैयाँसम्म झिक्न र एक दिनमा ५ पटकसम्म २५ हजार रुपैयाँ नगद झिक्न मिल्छ । साथै, यो सेवा मोबाइल बैंकिङ भन्दा फरक होइन । तर, वित्तीय पहुँचलाई सहज गर्न खोजेको मात्रै हो ।
कतिपय प्रयोगकर्ताको बैंक खाता नहुँदा कारोबार गर्न पाउनु हुन्न । अब उहाँहरुले ईसेवा चलाएर सेवा उपभोग गर्न सक्नु हुन्छ । अझै अधिकांश ग्राहकहरु बैंकसम्म पुग्न भएको छैन । उहाँहरुको बैंक खाता छैन । तर, उहाँहरुले ईसेवा वालेट चलाउनु भएको छ भने अब बैंक खाता खोल्न जरुरी हुँदैन । कहिलेकाही पैसाको अभाव हुन्छ । अति आवश्यक परेको हुन्छ । कारोबार नै नहुने अवस्था आउन सक्छ । त्यो अफ्ठ्यारोपनलाइ हटाउन यो सेवाले मद्दत गर्नेछ ।
साथै, यो सेवाबाट मोबाइल बैंकिङ्गलाई अझै सुदृढ बनाउँछ । वित्तीय सहजता तथा सुधारलाई वास्तविक र वृहत बनाउन सहयोग पुग्नेछ ।