काठमाडौं । नेपालमा गैर कानूनी रुपमा सञ्चालनमा रहेका क्यासिनो गेमहरुको कारण दैनिक करोडौं रकम बाहिरिने गरेको छ । नवल सिन्ह रावल फाउन्डेसनले गरेको एक अध्ययनले नेपालमा २८ बढी गैरकानुनी रुपमा सञ्चालनमा रहेको देखाएको हो । गैरकानुनी रुपमा सञ्चालनमा रहेका ती एपहरुबाट दैनिक करोडौं रकम विदेशिने गरेको अध्ययनले देखाएको छ ।
पछिल्लो समय ती एपहरुबाट विभिन्न खेलकुदको नतिजाको विषयमा गर्ने एपहरु गैरकानुनी रुपमा सञ्चालनमा छन् । त्यसमा हजारौं नेपाली संलग्न रहेको बुझिएको छ । तर, यस विषयमा सरकारले खासै चासो देखाएको छैन । अनलाइन मात्रै सट्टेबाजी गरेर नेपालीहरुले करोडौं रकम गुमाउने गरेका पनि छन् । सट्टेबाजको आशंकामै प्रहरीले बेलाबखत धेरैलाई पक्राउ पनि गरेको छ ।
नवल सिन्ह रावल फाउन्डेशनका अध्यक्ष तपेन्द्र रावल लामो समयको अनुसन्धान पश्चात हाल २८ भन्दा बढी यस्ता गैरकानुनी एपहरु नेपालमा सञ्चालनमा रहेको बताउँछन् । फाउण्डेसनले लामो समयसम्मको अनुसन्धानले २८ वटा गैरकानुनी एपहरु सञ्चालन भइरहेको पत्ता लागेको बताए ।
अहिले किर्तीपुरको त्रिवि मैदानमा जारी एसीसी प्रिमियर कप क्रिकेट सञ्चालनमा छ । या खेलको विषयलाई लिएर पनि धेरै नपाली यस्ता गेमहरुमा सक्रिय छन् । यसमा पनि लाखौंको कारोबार भइरहेको उनले बताए ।
नवल सिन्ह रावल फाउन्डेसनले शुक्रबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई उक्त गैरकानूनी एपहरु तत्काल बन्द गर्न लिखित रुपमा सुझाव समेत पेश गरेको छ । उनका अनुसार सन् २०२० देनि अनाधिकृत तथा गैर कानूनी तरिकाले विभिन्न अनलाईन एपबाट नेपालबाट दैनिक करोडौँ नेपाली रुपैयाँ विदेश गइरहेको छ । करको दायित्वमा नआई करोडौँ नेपाली रुपैयाँ बाहिरिदाको असर आर्थिक मन्दिसमेत रहेको उनले बताए ।
‘नेपालमा क्यासिनो लगायतका जुवा तथा अनलाइन बेटिङ (फेन्टासि एप) लगायत गैर कानूनी र नेपाल सरकारलाई कुनै कर पनि नआउने गेमका एप तत्काल बन्द गर्न अनुरोध गरेका छौं, नेपालमा हाल दर्जनौँ अनलाइन एपहरु सञ्चालित छन्, करमा समावेश नभएका यस्ता गैरकानुनी एप समयमा नियन्त्रण गर्न सकिएन भने यसले विकराल रुप लिने र देशमा आर्थिक संकट आउने निश्चित छ,’ उनले भने ।
गृहमन्त्रीलाई बुझाएको पत्रमा फस्ट ब्याट का सबैभन्दा धेरै ३५ लाख सक्रिय प्रयोगकर्ता छन् । उक्त प्रयोगकर्ताबाट दैनिक एक करोडभन्दा बढी नेपाली रुपैयाँ विदेशीएको उल्लेख छ ।
नेपाल प्रहरीले अनलाइन क्रिप्टो कारोबारीलाई पक्राउ गर्न अभियान नै सञ्चालन गरेको थियो । यस्तै, नेपाल राष्ट्र बैंक, नेपाल दुरसंचार प्राधिकरण, नेपाल बैंकर्स संघ लगायतले सूचना नै जारी गरेर क्रिप्टोकरेन्सीको कारोबार नगर्न निर्देशन दिइसकेका छन् । गत चैतमा प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई गैरकानूनी वेबसाइट र एपहरु बन्द गर्न निर्देशन दिएको थियो ।
प्राधिकरणले क्रिप्टोकरेन्सी (बिटक्वाइन), हाइपर नेटवर्किङ, अनलाइन जुवा लगायतका गैरकानूनी वेबसाइट र एपहरु नेपालभित्र प्रयोग, संचालन र व्यवस्थापन गर्न नपाउने गरी निषेध गर्न आइएसपीहरुलाई निर्देशन समेत दिएको थियो ।
नेपाल राष्ट्र बैंकले अनलाइन बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, डिजिटल वालेट जस्ता विद्युतीय भुक्तानीका माध्यमबाट अनलाइन जुवा तथा बाजीजन्य गैर कानूनी कार्यहरुमा संलग्न नहुन सर्वसाधारणमा पटक पटक सूचना जारी गर्दै आएको छ । विज्ञापन बोर्डले पनि गत वर्ष नै वान एक्स बेटिङ लगायतका साइटहरू बन्द गर्न निर्देशन दिएको थियो । तर, ती साइटहरु नेपालमा निर्वाधरूपमा सञ्चालनमा छन् ।