बजेटमा आइटी क्षेत्रलाई उद्योगको रुपमा विकास गर्ने कार्यक्रम ल्याउनुपर्छ : अध्यक्ष पोद्दार

<p>काठमाडौं । कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान) का अध्यक्ष रञ्जीतकुमार पोद्दारले आगामी बजेटले सूचना प्रविधि (आईटी) लाई उद्योगको रूपमा अगाडि बढाउनुपर्ने बताएका छन् । अध्यक्ष पोद्दारले विकासन्युजसँग कुरा गर्दै आगामी आर्थिक वर्ष २०८०/८१ मा सरकारले ल्याउने बजेट तथा कार्यक्रममा आईटी सेक्टरलाई उद्योगको रूपमा अगाडि बढाउनेगरी विषयवस्तु समावेश गर्नुपर्ने बताएका हुन् । ‘आइटी सेक्टरलाई अब उद्योगको [&hellip;]</p>

काठमाडौं । कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान) का अध्यक्ष रञ्जीतकुमार पोद्दारले आगामी बजेटले सूचना प्रविधि (आईटी) लाई उद्योगको रूपमा अगाडि बढाउनुपर्ने बताएका छन् । अध्यक्ष पोद्दारले विकासन्युजसँग कुरा गर्दै आगामी आर्थिक वर्ष २०८०/८१ मा सरकारले ल्याउने बजेट तथा कार्यक्रममा आईटी सेक्टरलाई उद्योगको रूपमा अगाडि बढाउनेगरी विषयवस्तु समावेश गर्नुपर्ने बताएका हुन् ।

‘आइटी सेक्टरलाई अब उद्योगको रूपमा स्थापना गर्नुपर्छ, उद्योगको रूपमा स्थापना भयो यहीँ विभिन्न सफ्टवेयर तथा एप्सको उत्पादन गरी निर्यात गर्न सकिन्छ, जसबाट धेरै नेपालीले रोजगारी पनि पाउँछन् भने आर्थिक आम्दानी पनि वृद्धि हुन्छ,’ उनले भने ।

आगामी बजेटमा उत्पादित क्षेत्रलाई लक्षित गर्दै ल्याउनु पर्ने पनि पोद्दारले बताए । उनका अनुसार सबै भन्दा बढी जनशक्ति उत्पादन गर्ने फिल्ड पनि आइटी हो । स्टार्टअप बिजनेसलाई लक्षित गरेर पनि नयाँ कार्यक्रम बजेटमा शमावेस गर्न आवश्यक रहेको उनको भनाइ छ ।

‘स्टार्टअप लक्षित नयाँ कार्यक्रम बजेटमा ल्याउन आवश्यक छ, स्टार्टअप कार्यक्रमबाट कुनै प्रडक्ट बन्यो भने त्यो नेपालको लागि मात्र नभई त्यसलाई निर्यात गरेर हामी डलर पनि भिञ्याउन सक्छौं, त्यसोगर्दा अर्थतन्त्र पनि चलायमान भएर जान्छ,’ उनले भने ।

डिजिटल साक्षरताको क्षेत्रमा पनि सरकारले कार्यक्रम ल्याउनुपर्ने आवश्यक रहेको पनि पोद्दारले बताएका छन् । मान्छेको सिप विकासमा बजेटले जोड दिनुपर्ने विषयलाई औंल्याउदै उनले देशको जनशक्ति बाहिर पठाउनु भन्दा यहीँ आइटीको व्यापार व्यवसाय गर्न चाहने लागि प्रोत्साहन गर्नुपर्ने बताए ।

प्रत्येक विद्यालयमा कम्प्युटर ल्याब राखे पनि त्यसको प्रयोग गर्न सक्ने दक्ष जनशक्ति नभएको पोद्दारको गुनासो छ । ‘अहिले नेपाल सरकारले लगभग प्रत्येक सरकारी विद्यालयमा कम्प्युटर ल्याबको व्यवस्था गर्ने कार्यक्रम ल्याएको छ, कम्प्युटर व्यवस्था गरे पनि कतै जनशक्तिको अभाव त कतै यस्ता प्रविधिको अभाव छ, अब हामीले विद्यार्थीलाई पनि सानैबाट प्रविधिमा अभ्यस्त बनाउनु पर्छ,’ उनले भने ।

आगामी दिनमा दक्ष जनशक्तिको आवश्यकता पर्ने विषयलाई मध्यनजर गर्दै सूचना र प्रविधिको क्षेत्रमा नयाँ आयाम दिने कार्यक्रम ल्याउनु पर्ने पोद्दारको भनाइ छ ।

Share News