
काठमाडौं । नेपाली प्रयोगकर्ताहरुले अधिक प्रयोग गर्ने सामाजिक सञ्जाल मध्ये फेसबुक पनि अग्रपङ्तीमा पर्छ । फेसबुक विश्वका सीमित मुलुकमा बाहेक संसारैभरी फैलिएको सामाजिक सञ्जाल हो । आइटी विज्ञहरुका अनुसार फेसबुक विश्वका हरेक देशमा फरक–फरक ढंगले प्रस्तुत हुने गर्छ । नेपालमा भने फेसबुकले समाजको मूल्य मान्यता र सुरक्षा जोखिमलाई बेवास्ता गर्दै आफ्नो व्यवसाय गरिरहेको छ ।
लामो समयदेखि फेसबुकको सञ्चालक कम्पनी मेटाले नेपाली प्रयोगकर्ताहरुमाझमा भेरीफाई नगरिएका प्रयोगकर्ताहरुमार्फत झुठा र खतरनाक विज्ञापन गर्न दिएर पैसा आर्जन गर्ने गरेको छ । जसले गर्दा नेपाली प्रयोगकर्ता, संस्थागत क्षेत्र र सरकारी क्षेत्रका तथ्यांक जोखिममा पर्दै गएका छन् ।
उदाहरणका रुपमा पछिल्लो समयमा ओपन एआई र च्याटजिपिटीका सफ्टवेयर डाउनलोड गर्नुहोस् भनेर विभिन्न फेक एकाउन्टका स्पोन्सर विज्ञापन फेसबुकको वालमा छ्यापछ्यापती आउने गरेका छन् । जसलाई प्रयोगकर्ताले अन्जानवस क्लिक गर्यो भने मोवाइल वा कम्प्युटरमा डाउनलोड भैहाल्ने र अन्य सफ्टवेयरहरुको तुलनामा छिटो छरितो तबरले इन्स्टल भएर प्रयोगकर्ताको डाटा चोरी हुने खतरा बढेको छ ।
ओपन एआई बाहेक पनि फेसबुकले कम्प्युटर, ल्यापटप र मोबाइलको डाटा चोरी गर्न सक्ने सफ्टवेयर डाउनलोड गर्ने प्रकारका अन्य खतरनाक विज्ञापन गर्ने गर्छ । कम्प्युटर ब्राउजरमा फेसबुक खोल्दा स्क्रोलको क्रममा देखिने विज्ञापनलाई रिपोर्ट गर्न मिल्ने भएपनि दायाँ साइडमा लुकाउन वा रिपार्ट गर्न नमिल्ने गरीपनि विज्ञापन राखिएको हुन्छ ।
केही समय अगाडि चेथसेरा नामक फेसबुक ह्यान्डलबाट डा. भगवान कोइरालाको तस्बिर जोडेर खुट्टामा आउने ढुसीको स्पोन्सर विज्ञापन गरिएको थियो । जसका विरुद्ध डा. कोइरालाले प्रहरीसमक्ष उजुरी समेत गरेका थिए । जबकी चेथसेरा नामक फेसबुक ह्यान्डल फेसबुकमा भेरिफाइड नभएको एउटा फेक एकाउन्टको रुपमा प्रयोग गरिएको थियो ।
त्यस्तै, केही समय अगाडि प्राइभेट भिडियो भन्दै नेपाली मिडियाको मिल्दो नाम रहेका एकाउन्टबाट केही सेलिब्रेटीको तस्बिर राखेर गलत सूचनाको स्पोन्सर समेत गरिएको थियो । जसमा भाइरसयुक्त फाइलको लिंक समेत राखिएको थियो ।
मेटा कै अर्को च्याट एप ह्वाट्स एप पनि ठगी गर्नेहरुको राम्रो प्लेटफर्म बनेको छ । ह्वाट्स एप मेसेन्जर प्रयोग गरेर विभिन्न प्रलोभन देखायर थुप्रै मानिसहरु ठग्ने काम समेत भइरहेको छ ।
अधिकांश साइबर उजुरी फेसबुकसँग सम्बन्धित
नेपाल प्रहरी साइबर ब्युरोका अनुसार चालू आर्थिक वर्षको चैत तेस्रो सातासम्म सामाजिक सञ्जाल प्रयोग गरेर भएका चार हजार आठ सय ९१ वटा उजुरी परेका छन् । जसमध्ये फेसबुकको प्रयोगमार्फत भएका घट्नाको मात्रै तीन हजार सात सय ४९ वटा उजुरी परेको छ । त्यस्तै अन्य धेरै उजुरी इन्स्टाग्राम र टिकटक सँग जोडिएका छन् । जसमा क्रमशः ३३४ र ३३४ वटा उजुरी परेका छन् ।
त्यस्तै, ह्वाट्स एप सँग सम्बन्धित १४४ वटा र भाइबरसँग सम्बन्धित ४ वटा उजुरी परेको ब्युरोले जनाएको छ ।
ब्यूरोका अनुसार पछिल्लो पाँच वर्षको अवस्थालाई हेर्दा सामाजिक सञ्जालसँग जोडिएका साइबरसँग सम्बन्धित उजुरी वढ्ने क्रम तिव्र बनेको छ । आर्थिक वर्ष ०७५/७६ मा ३५७, ०७६/७७ मा २३०१, ०७७/०७८ मा ३९०६, ०७८/०७९ मा ४६८६ र चालु आवको हालसम्म ४८९१ वटा उजुरी परेका छन् । यो सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले गरेको दुरुपयोगको उजुरी तथ्यांक हो ।
सरकारको छैन चासो
सामाजिक सञ्जालमा गरिएका झुट्टा विज्ञापनका कारण कैँयन नेपाली प्रयोगकर्ताहरु समस्यामा परेपनि नेपाल सरकारले भने सो विषयमा चासो देखाएको पाईंदैन । सरकारले चासो देखाउने हो भने फेसबुकलाई नेपालमा नियमन गर्न सकिने बताउँछन् आइआइएमएस कलेजमा साइबर सेक्युरिटी अध्यापन गर्ने लेक्चर अपूर्व नेपाल बताउँछन् ।
‘नेपाल सरकारले साइबर सेक्युरिटीको विषयलाई गम्भिरतापूर्वक नलिएको कारणले नै फेसबुकले नेपाली प्लेटफर्ममा त्यस्ता प्रकारका विज्ञापन राखेको हो, सरकारले चाह्यो भने यसलाई नियमन गर्न सकिन्छ’, नेपालले भने । अन्य मुलुकहरुले नियम नै बनाएर नियमन गरेको उनले बताए ।
सूचना प्रविधि तथा सञ्चार मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले नेपाली सामाजिक सञ्जालमा झुटा एकाउन्टबाट गरिने विज्ञापनलाई नियमन गर्नको लागि एथेस्ट कानून नभएको र छिट्टै बनाउन आवश्यक भएको बताउँछन् । अन्य मुलुकहरुले सामाजिक सञ्जालमा गरिने विज्ञापनबाट राज्यले समेत कर उठाइरहेको सन्दर्भमा नेपालले सामाजिक सञ्जाललाई करको दायरामा समेत ल्याउन सकेको छैन । जसले गर्दा वर्षेनी करोडौं बराबरको कर विज्ञापन कर राज्यले गुमाइरहेको छ ।
पछिल्लो समयमा सूचना प्रविधि विधेयकको ड्राफ्ट अन्तिम चरणमा भएको र सो ड्राफ्टमा पनि सामाजिक सञ्जाल नियमनको विषय उठाउन खोजिएको उनले बताए ।
फेसबुकले पटक-पटक, मानवधिकार, प्रजातन्त्र, विधिको शासन र प्रेस स्वतन्त्रता जस्ता विषयमा प्रतिवद्धता जनाउने गरेको देखिन्छ, तर नेपाल जस्ता विकासोन्मुख मुलुकको कानूनको फाइदा उठाएर फेसबुकले आफ्ने पहुँचलाई आफ्ना सञ्जालमार्फत अवैध ढंगले आम्दानी गर्ने गरेको छ ।