आम सञ्चार क्षेत्रको सुधारका लागि समिति गठन

<p>काठमाडौं । सरकारले आम सञ्चार क्षेत्रको समग्र सुधारका लागि नीति, कानुुन तथा नियमनका बिषयमा सुुझाव दिन समिति गठन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रिस्तरीय निर्णयअनुसार नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा. सुरेश आचार्यको संयोजकत्वमा समिति गठन गरेको हो । समितिका सदस्यहरुमा महासंघका पूर्व अध्यक्षद्वय गोविन्द आचार्य र डा. महेन्द्र बिष्ट, वर्तमान अध्यक्ष [&hellip;]</p>

काठमाडौं । सरकारले आम सञ्चार क्षेत्रको समग्र सुधारका लागि नीति, कानुुन तथा नियमनका बिषयमा सुुझाव दिन समिति गठन गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रिस्तरीय निर्णयअनुसार नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा. सुरेश आचार्यको संयोजकत्वमा समिति गठन गरेको हो । समितिका सदस्यहरुमा महासंघका पूर्व अध्यक्षद्वय गोविन्द आचार्य र डा. महेन्द्र बिष्ट, वर्तमान अध्यक्ष विपुल पोख्रेल र बरिष्ठ पत्रकार बबिता बस्नेत रहेका छन् ।

समितिले आगामी आइतवारदेखि काम थाल्ने भएको छ । काम थालेको ३० दिनभित्र प्रतिवेदन बुुझाउने गरी कार्य क्षेत्र निर्धारण गरिएको छ । समितिसँगको संक्षिप्त छलफलमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आम सञ्चारका क्षेत्रमा नीति निर्माण र कानुन परिमार्जन गर्नु आवश्यक देखिएकाले आम सञ्चार क्षेत्रका विज्ञहरुलाई त्यसको तयारी गर्ने जिम्मेवारी दिइएको बताईन ।

आमसञ्चार क्षेत्रलाई व्यवस्थित, मर्यादित र प्रतिस्पर्धी बनाउन गर्नुपर्ने कार्यहरूका बारेमा अध्ययन गरी सुझाव दिन समिति गठन गरिएको मन्त्रालय प्रवक्ता नेत्र सुवेदीले जानकारी दिए। अन्य मुलुकको अनुभव समेतका आधारमा आमसञ्चार क्षेत्रका सम्बन्धमा गर्नुपर्ने नीतिगत तथा कानुनी व्यवस्था र आमसञ्चार क्षेत्रको नियामकीय क्षमता वृद्धि गर्ने उपायका बारेमा सुझाव दिने जिम्मा पनि समितिलाई दिइएको उनको भनाई थियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा रहेका आमसञ्चार सम्वद्ध नीति तथा कानुनको मस्यौदामा परिमार्जन गरी समयसापेक्ष बनाउनुपर्ने विषयमा सुझाव प्राप्त भएपछि त्यसमाथि सरोकारवालाहरूसँग छलफल र अन्तरक्रिया गरी सोबाट प्राप्त सुझावलाई समावेश गरेर आम सञ्चार विधेयकको अन्तिम मस्यौदा तयार गरिने मन्त्रीका सञ्चार विज्ञ नरेन्द्र केसीले जानकारी दिए ।

Share News